
पोखरा ।
वैकल्पिक राजनीतिको एजेन्डासहित पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछाने बिहीबार पोखराको आम सभामा सहभागी हुन पोखरा आए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने मोटरसाइकल र्यालीसहित आमसभामा सहभागी भए । जुन निर्वाचन आचार संहिता विपरीत हो ।
निर्वाचन आचार संहिताले चारपाङ्ग्रे गाडी, मोटरसाइकल, बयलगाडा, रिक्सा, टाँगा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचार गर्न रोक लगाएको छ ।
निर्वाचन आचार संहिता विपरीत सवारी साधनमा ब्यानर, फ्लेक्स बोर्ड, लोगो, निर्वाचन चिन्ह भएका स्टिकर, साउन्ड सिस्टम प्रयोग
निर्वाचन आचार संहिता २०७९ को दफा १४ को उपदफा ‘द’ मा कुनै किसिमको भित्तेलेखन गर्न, वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचार गर्न नहुने उल्लेख छ ।
एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की २ बाट उम्मेदवार बनेकी विद्या भट्टराई र प्रदेश सभा सदस्यका कास्की २ ‘ख’ बाट उम्मेदवार बनेकी मीना गुरुङ शनिबार पोखरा ९ नयाँबजार क्षेत्रमा घरदैलो गर्दै थिए ।
उनीहरु साउन्ड सिस्टम, दलको झन्डासहित सवारी साधन प्रयोग गर्दै घरदैलो गरिरहेका थिए । उक्त क्षेत्रमा शनिबारै गठबन्धनका उम्मेदवारहरु श्रीनाथ बराल, बिन्दु थापाको प्रचार गर्दै चर्काे ध्वनिसहित गाडी गुडिरहेको थियो ।
यिनीहरु मात्रै होइन निर्वाचन नजिकिएसँगै कास्कीमा निर्वाचन आचार संहिता उल्लघंन गर्नेको प्रतिस्पर्धा नै चलेको छ । दलहरुले निर्वाचन आचार संहिता विपरीत सवारी साधनमा ब्यानर, फ्लेक्स बोर्ड, लोगो, निर्वाचन चिन्ह भएका स्टिकर, साउन्ड सिस्टम प्रयोग गरेको दिनहुँ जसो नै देख्न सकिन्छ । निर्वाचनको मिति नजिकिएसँगै आचार संहिता विपरीतका कार्यहरु पनि बढेका छन् ।
तर दलहरु त्यसलाई स्वीकार गर्न तयार छैनन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षेत्री आफ्ना उम्मेदवारहरुले निर्वाचन आचारस संहिता विपरीतको कार्य नगरेको दाबी गर्छन् । ‘हामीले आचार संहिताको पालना गरेका थियौं, अरु राजनीतिक पार्टीहरुले पालना गरिएको देखिएन, नदेखिएपछि राजनीतिक रुपमा हामीहरुलाई कार्यकर्ताबाट प्रेसर भइसकेपछि पनि हामीले रोक्ने काम गर्यौं,’ उनले भने ।
पार्टीबाट केही त्रुटि भएको भए पनि सच्याउनुपर्ने अधिकारीको भनाइ छ । ‘निर्वाचन प्रचारका क्रममा के भएको रैछ म बुझ्छु, आचार संहिताको पालना गर्नुपर्छ भन्ने मान्यता नै छ, कहीँ त्रुटि भएको छ भने सच्च्याउनुपर्छ’ उनले भने ।
निर्वाचन आयोगबाट आचारसंहिता उल्लघंन गर्नेहरुलाई स्पष्टीकरण सोध्ने कामसमेत नगरेको सचिव अधिकारीले बताए । ‘मोटरसाइकल र्याली भयो, त्यो पनि हामीले कुरा गर्यौं केही भएन, अन्य पार्टीले गरेका उल्लघंनका सामग्री लगेर पेस गर्यौं । त्यसको पनि केही एक्सन भएन,’ उनले भने, ‘त्यसो भएर हामीलाई शंका लागेको छ । गठबन्धनको पार्टीहरुबाट निर्वाचन आयोग प्रभावित त भएको छैन ? त्यो पो शंका लाइराखेको छ ।’
प्रचारमा सहभागी अधिकांशलाई आचार संहिताबारे थाहा नहुँदा उल्लघंनका घटना बढेको पृथ्वीनारायण क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक कपिलनाथ दाहालले बताए । ‘उम्मेदवारको प्रचारमा हिँड्नेलाई सोध्ने हो भने उनीहरुलाई आचार संहिता थाहा नै छैन, केके छ राजनीतिक दलहरु पालना गर्नुपर्ने, कति खर्च गर्न पाउनुहुन्छ, कति जना हिँड्न पाउनुहुन्छ तपाईंलाई थाहा छ भन्ने हो भने मान्छेहरुलाई थाहा छैन, जसले उल्लघंनका घटना बढेको छ,’ उनले भने ।
निर्वाचन आयोगले पनि सही भूमिका निर्वाह नगर्दा धेरै आचार संहिता उल्लघंन भएको प्राध्यापक दाहाल बताउँछन् । ‘उल्लघंन घटना बढ्नुको कारण के हो भने निर्वाचन आयोगले आचारसंहिता बनाइदियो उसको डिउटि सकियो । उनीहरुले राजनीति दललाई भनेको पाइँदैन, माथिल्लो तहले हेरेको सतर्क हुने आफ्नो ठाउँमा होला, वेबसाइटमा कतिले हेर्छन्, कतिले चासो राख्छन् त्यसकारण चुनावमा हिँड्ने नै हो भनेर मानिसहरु हिँड्छन् । के गर्न पाइन्छ के गर्न पाइन्न त्यो थाहा हुँदैन,’ उनले भने ।
निर्वाचन आचार संहिता सामाजिकीकरण नहुँदा कार्यान्वयनमा समस्या आएको प्राध्यापक दाहाल बताउँछन् । ‘यो बनाएको पनि राजनीतिक दलहरुले हो, उल्लघंन गर्ने पनि राजनीतिक दलहरुले नै हो । बनाउने बेला सहमति गरिहाले, कतिपय कुराहरु लिएर हिँड्दा अल्ली अप्ठेरो हुन्छ । माथिल्लो लेभलबाट बनाइन्छ तर कार्यान्वयन हुने चाहिँ फिल्ड लेभलबाट हो । फिल्डमा पुगिसकेपछि कार्यान्वयन हुन गाह्रो हुन्छ,’ दाहालले भने ।
आचार संहिता अनुगमन समिति सदस्य राम शर्माले आचार संहिता उल्लघंनका घटनाहरुमा निरन्तर अनुगमन गरिरहेको दाबी गर्छन् । ‘उल्लघंनका उजुरी तथा गुनासोहरु संकलन गरेका छौं । समाधन हुने विषयलाई समाधान गरिएको छ । समाधान नहुने विषय आयोगमा पठाइएका छौं,’ उनले भने ।
आचार संहिता उल्लघंन गर्नेलाई चुनावपछि पनि कारबाही हुने सदस्य शर्माले बताए । ‘आचार संहिता पालना गर्ने हामी सबैले हो, उल्लघंन गर्नेलाई कारबाही हुन्छ, त्यसको कानुनी प्रोसेस् छ,’ उनले भने, ‘केही गुनासा आएका छन् । चुनावपछि पनि कारबाही हुन्छ ।’


रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
तपाईको प्रतिक्रिया