बैंक अचेल ‘साहु’ भएको छ

मोती भुजेल २०७९ कार्तिक २७ गते १२:२८

सामाजिक मान्यता
यहाँ म कुनै विद्वान, समाजशास्त्री, अर्थशास्त्री वा वैज्ञानिकको भनाई राख्न चाहन्न । जब पशुवत भन्दा भिन्न व्यवहार गर्नसक्ने जीवको जन्म हुन्छ भने त्यो मनुष्य हो । मनुष्य जीवनमा आएपछि जो कोही पनि व्यापारमा लाग्छ । मानिसले व्यापार गर्दछ, यसमा दुईमत छैन । व्यापार भनेको पुरानो अर्थशास्त्रीय भाषामा वस्तु विनिमय मात्र होइन ।

Advertisement

अहिलेको २१ औ शताब्दीमा आइपुग्दा मनुष्यले गर्ने व्यापारहरु धेरै प्रकारका छन् ।
प्रत्येक मनुष्यले पाइला पाइलामा व्यापार गरिरहेको हुन्छ । हो कसैले प्रत्यक्ष लेनदेनको व्यापार गर्छन् । कसैले अप्रत्यक्ष लेनदेनको व्यापार गर्छन् । कसैले पैसासँगको व्यापार गर्छन् । कसैले भावनात्मक सम्बन्धको व्यापार त कसैले सरसापटको व्यापार गरिरहन्छन् ।

राष्ट्र बैंकको सर्कुलरको हवाला दिँदै छदम भेषमा अगाडिबाटै छुरा हान्ने काम बैंक र वित्तीय संस्थाले गरिरहेका छन्

अहिले समाजमा व्यपार गर्ने व्यापारीहरु धेरै छन् । कलाकार आफ्नो कलालाई मूर्त या अमूर्त चित्र बनाएर व्यापार गरिरहेको हुन्छ । साहित्यकार आफ्नो रचनाहरु छापेर पुस्तकाकार बनाएर व्यापार गरिरहेको हुन्छ । संगीतकार आफ्नो धुन बेचिरहोको हुन्छ । गायक आफ्नो गलाको कला बेचिरहेको हुन्छ । एउटा फ्रोफेसर आफ्नो ज्ञान बेचिरहेको हुन्छ । राजनीतिज्ञ, पत्रकार, खेलाडी फोटोग्राफरहरुले आफ्नो ज्ञान बेचिरहेका हुन्छन् ।

बैंकर्सले पैसा दिएर ब्याज फाइदा लिएर व्यापार गर्छ । बाबुआमाले आफ्नो बच्चालाई राम्रोसँग पढ, पढेर परीक्षामा राम्रो अंक ल्याएर पास भयौं भने यस्तो किन्दिन्छु उस्तो किनिदिन्छु भन्दा पनि त भावनात्मक व्यापार गर्छन् । जसले गर्दा राम्रो अंक ल्याउन फाइदा गर्‍यो । जहाँ फाइदाको लागि काम गरिन्छ त्यो व्यापार हो । एउटा फकिरले पनि व्यापार गरिरहेको हुन्छ ।

Advertisement

ऊ आफ्नो प्रवचन सुनाएर स्रोतालाई आकर्षक गर्छ र केही प्राप्त गर्छ त्यो पनि व्यापार हो । एउटा व्यापारीलाई पनि यति बेची सक्नु बेचेपछि यति फाइदा दिन्छु भनेर त व्यापार गरेको हो । नबेचे त फाइदा दिँदैन । यसरी समाजमा सबैले एक न एकथरीको व्यापार गरेकै हुन्छन् । अझ सेवा दिएर गरिने व्यापारहरु धेरै छन् । जस्तै हस्पीटल, शिक्षा, यातायात, होटल रेस्टुरेन्ट आदी । तर, सामाजिक स्थरबाट भन्दा जहिले पनि बस्तु विनिमय गर्ने व्यापारीलाइ मात्र तेस्रो आँखाले हेरिन्छ ।

नेपालमा बैंकको इतिहास
ब्याज दिएर रुपैयाँपैसा जम्मा गर्ने, मागेको बेलामा भुक्तानी वा सापटी दिने, लेनदेन तेजारती आदि आर्थिक कारोबार गर्ने वाणिज्य सम्बन्धी सरकारी वा गैरसरकारी संस्था हो बैंक । नेपाली शब्दकोशले त्यसै भन्छ ।

एक शताव्दी लामो नेपालको वित्तीय क्षेत्रको विकास समय समयमा फड्कोमार्दै आयो । सदर मुलुकी खाना एवं तेजारथ अड्डा हुँदै फड्को मार्दै विसं १९९४ सालसम्म आइपुग्दा नेपालको पहिलो बैंक नेपाल बैंक हुनपुग्यो । विसं १९९४ साल कात्तिक ३० गते राजा त्रिभुवनबाट उदघाटन गरिएको नेपाल बैंक नै बैंकिङ सेवाको सुरुवाती पहिलो बैंक हो ।

२०१३ साल वैशाख १४ मा भएको अर्को फड्कोमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । समय क्रमअनुसार २०१६ सालमा नेपाल औध्योगिक विकास बैक, २०२२ मा राष्ट्रिय वाणिज्य बैंक, २०२४ मा स्थापित कृषि विकास बैंकले बैंकिङ क्षेत्रको विकासमा महत्वपूर्ण इतिहास रचेका छन् ।

२०४० को दशक पछिको उदारवादी सोचले नेपालको बैंकीङ क्षेत्रमा ल्याएको चेतना र विकास पनि चाखलाग्दो छ । विभिन्न समयमा आलोचना खेप्दै भए पनि ३५,४० वर्षको अन्तरालमा व्यवसायी र आम जनतामा बैंकिङ वा वित्तीय क्षेत्र प्रति जागरण ल्याउने काम पनि प्रमुखतामा पर्दछ ।

यद्दयपि नेपाल राष्ट्र बैंक स्थापना हुँदा लिएको दुरगामी सोच अनुरुप गर्न नसक्दा राष्ट्र बैंक चुकेको देखिन्छ । वित्तीय जागरण र संख्यात्मक वृद्वि अति डर लाग्दो भएको देखिन्छ ।
देशमा भएको लामो जनआन्दोलन पश्चात शहर केन्द्रीत वित्तीय सँस्था यति भएकी, प्रत्येक चोकमा बन्ने एयटा नयाँ घरमा एउटा बैंक वा वित्तीय सँस्थाको कार्यालय रह्यो । विडम्वना त एउटै भवनमा चार वोटा सम्म बैंक र वित्तीय सँस्था खुले । तत्तपश्चात कुनै चोकको नाम बैंक चोक, कुनै रोडको नाम बैंक रोड भए ।

वित्तीय क्षेत्रको विकास संगै वित्तीय अपराधसमेत वृद्धि भए । प्रविधिको प्रयोग गरी हुनथालेका नयाँ नयाँ प्रकृतिका अपराधले वित्तीय क्षेत्रलाई गम्मीर समस्या परेको छ । उपत्यका र सहर केन्द्रित वित्तीय संस्थाहरुले आम नागरिक या अझ भनौं ग्रामीण भेगमा वित्तीय क्षेत्रको पहुँच विस्तार गर्नुपर्ने देखिन्छ ।

कुल ग्राहस्थ उत्पादनको २० प्रतिशत आर्थिक कारोवार काठमान्डौ उपत्यकमा मात्र हुनु र कुल निक्षेप र कर्जाको हिस्सा ६० र ४० प्रतिशत उपत्यकाको मात्रै रही बाँकी हिस्सामा चौथाइभन्दा बढी सहरको हिस्सामा छ ।

ग्रामीण क्षेत्रको वित्तीय पहुँच कमजोर हुनु देश विकासका लागि हानिकारक छ । उपत्यका र सहरमा दश वटा शाखा खोल्नुभन्दा सम्भावित क्षेत्र हेरी ग्रामीण इलाकामा एउटा मात्र शाखा खोल्नु श्रेयस्कर हुन्छ । वित्तीय प्रणालीमा तरलता अभाव भन्दै बैंक तथा वित्तीय संस्थाहरुले थप कर्जा तथा लगानी प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । तर केन्द्रीय बैंकले भने स्थायी तरलता सुविधा उपयोग नगरेको भन्दै वित्तीय सन्तुलन कायमै रहेको जनाउँछ ।

स्थायी तरलता उपयोग नगर्ने अनि रकम अभावको कारण देखाइ कर्जा प्रवाह गरी सकेपछि पनि एसएमएसको आधारमा व्याज बढाउँदै जानु कदापी राम्रो हैन । राष्ट्र बैंकको सर्कुलरको हवाला दिँदै छदम भेषमा अगाडिबाटै छुरा हान्ने काम बैंक र वित्तीय संस्थाले गरिरहेका छन् । लोन लिएर ब्याज तिर्दैमा अनुत्पादक क्षेत्र जस्तै घर जग्गा आफ्नो हुने र फाइदा हुने भए बैंक किन आफू भाडामा बसेर पैसा ब्याजमा लगाउँथ्यो ।

लाखौं रुपैयाँ निक्षेपमा राखेका ग्राहकले बैंकमा भौचर भर्ने र हस्ताक्षर गर्ने ? १० को डटपेन पनि डोरीले बाँधेर राखेको हुन्छ । प्रश्न छ कि बैंकले हामीलाई किन विश्वास गर्दैन । निक्षेप संकलन गर्न राष्ट्र बैंकबाट जारी निर्देशनको मर्मविपरीत व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गरेर निक्षेप कर्तालाइ बढि व्याजदरको प्रलोभनमा पारेर बढीभन्दा बढी निक्षेप संकलन गर्ने र निक्षेपकर्तालाइ दिएको भन्दा ४ प्रतिशतसम्म बढी ब्याज ऋणीबाट आफूले लिने गरेका छन् ।

निश्चीत मुनाफा राखेर दाल चामल बेच्ने व्यापारीले चामल दाल जोखेको पैसा त लिन्न ।
कपडा व्यापारीले कपडा नापेको फित्ताको पैसा लिएको पनि सुनेको छैन । तर बैंकले कर्जाका ऋणीबाट लोन दिने बेलामा एक पटक फिल्ड भिजिट, फाइल डकुमेन्टेसनको शुल्क एक पटक लिएपछि पनि कर्जा नवीकरण भन्दै वर्षमा ४ पटक सम्म पनि सेवा शुल्क लिएको भएपनि राष्ट्र बैंकले कारबाही गरेको छैन ।

बैंक र ऋणीबीच सम्झौता गरेर प्रवाह गरेपछि कर्जा अवधिभर ब्याजदरमा बढाउन नपाइने राष्ट्र बैंकको निर्देशन छ । तर बैंकहरुले प्रिमियम बढाएर ऋणीबाट बढी ब्याज असुल्दै आएका छन् र पनि राष्ट्र बैंकले कारबााही गरेको छैन किन ? किन कि राष्ट्र बैंककै कर्मचारीहरुले बैंक चलाउँछन् । गलतलाई गलत भनिएन भने नभन्नेले पनि गलत गरेको ठहरिन्छ ।

बैंकका सञ्चालक र व्यवस्थापकहरूले सर्वसाधारणको निक्षेपलाई आफ्नो व्यक्तिगत सम्पत्तिजस्तो मानेर दुरुपयोग गर्ने क्रमले यो क्षेत्रको संकट गहिरिएको हो । सन २०११ पछि नेपाल राष्ट्र बैंकले चालेका केही प्रभावकारी कदमले यसको गति केही मत्थर भए पनि स्थिति अझै स्वस्थ भइसकेको छैन । बैंकको लगानी परिचालनमा अझै पनि सञ्चालक र व्यवस्थापकहरू हाबी हुने क्रम जारी नै छ ।

बैंक र वित्तीय संस्थाहरुको आफ्नै कमजोर सुशासनले गर्दा डगमगाइरहेका छन् । अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह गर्नु । निक्षेपमा ब्याजको प्रतिशत बढाउँदै जानु अर्को गल्ती हो । पर्याप्त पुँजी, उचित व्यवस्थापन, संस्थागत सुशासनसँगै विभिन्न सानाठूला समस्याले नेपाली वित्तिय बजारमा चुनौतीहरु सिर्जना हुन लागे स–साना वित्तीय अपराधका घटनाहरु पनि देखिन थाले कतिपय वित्तीय संस्थाहरु बन्द नै भए कतिपय राष्ट्र बैंकको नियन्त्रण र संरक्षणमा रहेर काम गर्नुपर्ने अवस्थाको सिर्जना भयो ।

त्यो सँंगै केही थप जटिलताहरु पनि देखिन थाले । त्यस्ता जटिलताको समाधान, पुँजीको अभावमा ढुलमुलिएका संस्थाको सुधार लगायत समग्र वित्तीय क्षेत्रका समस्या समाधानकोे हतियार बनाउँदै नेपाल राष्ट्र बैंकले वित्तीय संस्था मर्जरलाई प्रोत्साहन अर्थात बाध्यकारी रुपले पनि अगाडी बढाउन सुरु गर्‍यो । त्यही मर्जर नीतिलाई आत्मसाथ गर्दै नेपालका धेरै बैंक तथा वित्तिय संस्था मर्ज भए कति आफ्नो अस्तित्व नै नरहने गरी गाभिए । बैंकले ठुला निक्षेपकर्तालाई लगानीको वातावरण मिलाउने हो ।

बैंक, उद्यमी, व्यापारी र व्यापारसँगसँगै चल्ने घडीका सुइहरु जस्तै हुन् । नेपाली बृहत शब्दकोशमा साहुलाई ऋण दिने वा ब्याजमा रुपैयाँ लाउने व्यक्ति, सापट दिने व्यक्ति, धनी, महाजन, पिराहा, सताउने व्यक्ति भनिएको छ । बैंक अब ‘साहु’ बन्नु हुँदैन ।

मोती भुजेल

भुजेल पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष हुन् 

तपाईको प्रतिक्रिया