देशको भूभाग फिर्ता ल्याऊँ

देशको सार्वभौमिकता, अखण्डता तथा राष्ट्रियताको सवालमा कुनै पनि राष्ट्रवादी नागरिकलाई चासो हुनु स्वाभाविक नै हो । तसर्थ एक सचेत नागरिकको हैसियतले हालको परिपेक्षमा सम्पूर्ण देशबासीको चासो र चर्चाको विषय बनेको कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको अभिन्न अंगको रुपमा रहेको यो भूभाग छिमेकी मित्र राष्ट्रद्वारा मिचिएको देख्दा कुनै पनि देशभक्त नागरिकका लागि ज्यादै दुःख लाग्दो र असह्य विषय बनेको छ ।
तसर्थ आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको आम निर्वाचनको यस अवसरमा जनता समक्ष यस मुद्दालाई पनि उठाई प्रचार प्रसारमा ल्याइदिएमा ज्यादै सान्दर्भिक र उपयुक्त हुने थियो भन्ने अभिप्रायले यसमा अन्यथा नसम्झिदिनु भएमा पंक्तिकारले केही दृष्टान्त लगायत निम्न बुँदाहरु संक्षिप्त रुपमा सबिस्तार प्रस्तुत गरेको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचन कुन दलले जित्ला भन्ने उत्सुकता सबैलाई हुनु स्वाभााविक नै हो, यसमा साधारण भाषामा भन्न पर्दा जुन दलले कालापानी लिपुलेक तथा लिम्पियाधुरा लगायत मुद्दालाई व्यापक रुपमा सार्वजनिक मञ्चमा जसले उठाउँछ, उसैले जित्ने सम्भावना बढी हुन्छ ।
दलहरुले आ–आफ्नो चुनावी घोषणापत्रमा समेत यस मुद्दालाई उल्लेख गरी जनता समक्ष ल्याउँदा यो अवसरमा ज्यादै सान्दर्भिक र उपयुक्त हुने थियो ।
यो मुद्दालाई उठाउँदा के प्रभाव पर्छभन्दा यसबाट जनतामा राष्ट्रियताको भावना जागृत हुन्छ भन्न सकिन्छ । यस मुद्दालाई नउठाई चुप लागि बस्दा के फरक पर्छ, भन्ने भनाई पनि यदाकदा सुन्नमा आउँछ । यसको उपयुक्त जवाफ यही हुन सक्छ, देशको सार्वभौमिकता, अखण्डताप्रति कसैको चासो रहेनछ, छिमेकी मित्र राष्ट्रले जानजानी दिउसै रात पार्दापनि चुप लागि बस्दा जनतामा नैराश्यता छाउँछ ।
दिउसै रात पार्दा पनि भन्नु को तात्पर्य के हुन सक्छ भन्दा यसको उपयुक्त जवाफ यही हो कि महाकाली नदी पूर्वको दार्चुला जिल्ला अन्तर्गत पर्ने लगभग ८० किम भूभाग यो क्षेत्र नेपालको जमिन हो । भन्ने तथ्य स्पष्ट हुँदाहुँदै छिमेकीले आफ्नो देशको नक्सामा गाभी हेपाहा व्यवहार देखाएकोलाई दिउसै रात पार्दा पनि भन्नुको तात्पर्यलाई जनाउँछ ।
हाम्रा राजनेताहरुले उहिल्यैबाट हामी हाम्रा भूमि १ इन्च पनि कसैलाई छोड्ने वाला छैन भन्ने अभिव्यक्ति वेलावखत सुन्नमा आउँछ । यसो भन्नुको वास्तविकता के होला ?, भन्ने जिज्ञासालाई पुष्टि गर्नुपर्दा अब तपाईं आफै विचार गर्नुस लगभग ८० किमी जमिनको कति हजार इन्च होला छाडेकै छन त भन्दा फरक नपर्ला ।
सदियौदेखिको घनिष्ठ मित्र छिमेकीले किन यसरी जबरजस्त गरेको होला भन्ने प्रश्नको प्रतिउत्तर यही हो कि– हाम्रा राजनेताहरुको खुट्टा कमाउने र कमजोर मनस्थिति राम्ररी नै बुझेको हुनाले हिम्मत गरेको हुन सक्छ । विगत कैयौ वर्षअघिबाट हाम्रो यस भूभागमा छिमेकीले आफ्नो सुरक्षा बल (सेना) तैनाथ गरी राख्दा पनि हाम्रो भूमिमा तैनाथी सुरक्षाबललाई हटाउनेतर्फ कुनै प्रयास समेत नहुँदा र यतिका लामो समय अवधि सम्म कुनै वास्ता नगर्दा छिमेकीले हाल मिचेको पुरै भूभाग कब्जा गरी कमजोरी पनाको फाइदा उठाएको हो भन्दा अत्युक्ति नहोला ।
अब मित्र राष्ट्रद्वारा मिचेको यो भूभाग छाड्लान् त भन्ने विषयमा भन्नुपर्दा – नियमले आर्काको मिचेको भूभाग छाड्नै पर्छ । तर यती सजिलै छाड्नेछ भनि नचिताए हुन्छ ।
यसो भए अब यो मुद्दालाई के गर्दा हल होला यसको सिधा उत्तर यही हो कि राष्ट्रियताको सवालमा सबै दलहरु लगायत सम्पूर्ण देशभक्त जनसमुदाय एकतावद्ध भई अगाडि बढ्नुको विकल्प छैन ।
अगाडि बढ्नुको विकल्प छैन भन्नुको मनसाय के हुन सक्छ भन्दा सर्वप्रथम त मित्रता पुर्ण वातावरणमा आपसी समझदारी तथा सहमति एवं कूटनीति माध्यमद्वारा समाधानको हल निकाल्नु बेस हुन्छ । यसबाट पनि समाधान निस्केन भने सिंगो राष्ट्र एकजुट भई विभिन्न कोणबाट विरोध जनाउन पर्छ । अन्तमा उक्त कुनै उपाय लागेन भने यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फ पाइला चाल्नु उपयुक्त हुन्छ ।
तपाईको प्रतिक्रिया