स्याङ्जाको समृद्धिकी साधक

सूर्यप्रकाश गैरे ‘पारस’ २०७९ कार्तिक २७ गते १६:१९

विगतको एकात्मक केन्द्रीकृत राजतन्त्रात्मक व्यवस्थाले निश्चित धर्म, जात, लिंग, भाषा, क्षेत्र, वर्ग र समुदायलाई बढी शासकीय संरक्षण प्रदान गरेको थियो । जसका कारण नेपाली समाजमा धेरै प्रकारका विभेदको खाडल ठूलो मात्रामा विकास हुन पुगेको थियो ।

Advertisement

राज्यसत्तामा सबै नेपालीको समान पहुँच स्थापना गर्ने मुल उद्देश्यले नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरिएको हो । यद्यप राज्यसत्ता सञ्चालनको अभ्यासमा भने अझै पनि सबै नेपालीको समान पहुँच स्थापित हुन सकेको छैन, जुन आजको यथार्थतालाई विनापूर्वाग्रह दृष्टिकोणका साथ हेर्ने प्रयत्न गर्‍यौं भने हामीले राम्रोसँग अनुुभव गर्न सक्छौं ।

सुन्दास स्याङ्जाली समाजको समृद्धि र रुपान्तरणका लागि आवश्यक अनुभव र क्षमता भएकी इमान्दार राजनीतिक पात्रसमेत हुन्

०७२ सालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले प्रतिनिधिसभा र प्रदेश सभामा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । तर, महिलालाई प्रतिनिधिसभा वा प्रदेश सभाको सदस्यमा जनताको मतबाट प्रत्यक्ष रुपमा निर्वाचित गरेर महिलालाई लैजाने कुरामा भने राजनीतिक दलहरु चुकेको देखिन्छ । समानुपातिक सदस्यमा मात्रै महिलालाई निर्वाचित गर्ने गलत राजनीतिक अभ्यास राजनीतिक दलहरुले गर्न पुगेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको लागि मुख्य ठूला राजनीतिक दलमध्ये सबैले दलित महिलालाई प्रत्यक्षतर्फबाट उम्मेदवार बन्ने अवसरलाई खुम्च्याउने काम गरे । सोही सन्दर्भमा नेकपा (एमाले)ले भने गण्डकी प्रदेश सभा सदस्यको लागि प्रत्यक्षतर्फको उम्मेदवारमा स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ‘क’ बाट सीता सुन्दासलाई उम्मेदवार बनाएको छ ।

Advertisement

त्यसैले पहिलो विषय, देशभरीबाट एक जना दलित महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने अवसर हामीले पाएकोमा यो विषय एमाले स्याङ्जा र स्याङ्जाली समुदायका लागि गर्वको विषय बनेको छ । किनकी यो दलित महिला समुदायको इतिहाससँग जोडिएर आएको छ ।

राजनीतिमा इतिहास, वर्तमान र भविश्यको श्रृंखलालाई महत्वका साथ लिने गरिन्छ । यो कोणबाट हेर्दा सीता सुन्दासलाई दलीय कोणबाट भन्दापनि इतिहास लेख्नको लागि सुवर्ण अवसरको रुपमा लिएर सबै स्याङ्जालीको सकारात्मक अभिमत रहने कुरामा धेरै शंका गर्नु पर्दैन । तर, यो सँगसँगै उम्मेदवार भनेको सम्बन्धित क्षेत्रको समृद्धि र रुपान्तरणसँग जोडिएको हुन्छ ।

त्यसैले हामीले उम्मेदवारमा फिका इतिहासमात्रै नखोजेर अनुभव, क्षमता र इमान्दारिता पनि अवश्य खोज्छौं । हामीले यो विषय पनि उम्मेदवारमा अवश्य पनि खोज्नुपर्छ, किनकी हामीले समाजको समृद्धि र रुपान्तरण पनि गर्नुपर्छ ।

के सीता सुन्दास स्याङ्जाली समाजको समृद्धि र रुपान्तरणका लागि अनुभवी, क्षमतावान र इमान्दार पात्र हुन् ? अवश्य पनि । अनुभवको कोणबाट हेर्दा, सीता सुन्दासले लामो समयदेखि स्याङ्जाली माटोलाई चिन्ने र रुपान्तरण गर्ने प्रयास गर्दै आएकी छन् । नेपालको प्रजातान्त्रिक तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा उनले विद्यार्थी जीवनदेखि नै निरन्तर भूमिका निर्वाह गर्दै आएकी छन् । उनले राजनीतिक आन्दोलनसँगै समाजमा सँधै पछाडि पर्दै आएको दलित समुदायको पक्षमा समेत संघर्ष गर्दै आएकी छिन् ।

०६२÷६३ को आन्दोलनपश्चात जिल्ला शान्ति समितिको प्रमुख भएर सुन्दासले काम गरेकी थिइन् । साथै ०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पश्चात सुन्दासले स्याङ्जा जिल्ला समन्वय समितिको प्रमुखमा रहेर जिल्ला स्तरमा विभिन्न महत्वपूर्ण विकास निर्माण एवं कार्यक्रमको नेतृत्व सञ्चालन गरेको अनुभव सुन्दासमा रहेको छ ।

सोही क्रममा उनले स्थानीय तहहरुको राष्ट्रिय सञ्जालको नेतृत्व गरेर काम गर्ने अवसर समेत प्राप्त गरेकी थिइन्, जस कारणले गर्दा उनी राजनीतिमा कामयावी समन्वयकारी भूमिका सफलतापूर्वक गर्न सक्छिन् ।

त्यसैले दोस्रो विषय, सुन्दास लामो समयदेखि निरन्तर रुपमा स्याङ्जाको माटोमा उभिएर यहीँको समाजका आवश्यकता र समस्यालाई पहिचान गर्दै निकासका सम्भावनाहरुको विषयमा समेत जानकार बनेकी सुन्दास स्याङ्जाली समाजको समृद्धि र रुपान्तरणका लागि आवश्यक अनुभव र क्षमता भएकी इमान्दार राजनीतिक पात्रसमेत हुन् ।

तेस्रो विषय, कुनै पनि एक जना क्षमतावान व्यक्तिले मात्रै समाजको रुपान्तरण गर्न सक्दैन, त्यसका लागि संगठित शक्तिको आवश्यकता हुन्छ । लामो आन्दोलनपश्चात हामीले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा अब समृद्धिको प्रश्न नै महत्वपूर्ण एवं प्राथमिकताको प्रश्न हो । यही प्रश्नलाई संगठित एवं व्यवस्थित रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेले महाअभियानको रुपमा उठाएको छ ।

उम्मेदवार सुन्दास पनि सोही महाअभियानकी सदस्य भएको कारणले उनलाई विजयी गराउने विषय स्याङ्जा र देशकै समृद्धि र रुपान्तरणसँग जोडिएको छ । हाम्रो सुन्दर भविष्यसँग जोडिएको छ । त्यसैले, आउनुस्, हामी सबैले स्याङ्जाबाट इतिहास लेख्ने र समृद्धिको सुरुवात गर्न सीता सुन्दासलाई विजय गराउने विषयमा छलफल गरौं ।

तपाईको प्रतिक्रिया