पोखरामा व्यवस्थित ४ बसपार्कः गठबन्धन

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १७:१४

पोखरा ।
कास्की २ का ५ दलीय गठबन्धनका साझा उम्मेदवारले पृथ्वीचोकमा सिटी बसपार्क, लामेआहालमा आधुनिक बसपार्क र छोरेपाटन एवं हेमजामा इन्ट्रान्स बसपार्क बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनीहरुले घोषणापत्रमा पृथ्वीचोकमा रहेको बसपार्कलाई सिटी बसपार्कको रुपमा व्यवस्थित गरी लामेआहालमा विशेष सुविधासम्पन्न आधुनिक बसपार्क बनाउने वाचा गरेका छन् ।

छोरेपाटन क्षेत्र एवं हेमजा क्षेत्रमा सुविधा सम्पन्न इन्ट्रान्स बसपार्क निर्माण गर्न पहल गर्ने घोषणापत्रमा उल्लेख छ । पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग तथा पोखरा बाग्लुङ राजमार्गको स्तरोन्नति गरी प्रभावितलाई उचित मुआब्जा दिलाउन पहल गर्नुका साथै पुष्पलाल मध्य पहाडी लोकमार्ग एवं कोरोला जोमसोमदेखि त्रिवेणी भैसालोटनसम्मको निर्माणाधीन लोकमार्गलाई छिटो सम्पन्न गर्न पहल लिने उनीहरुको बताएका छन् ।

Advertisement

केरुङ पोखरा लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरी डिपिआर बनाई निर्माण कार्य गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने र काठमाडौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने गठबन्धनको प्रतिवद्धता छ । पोखरा क्षेत्रमा चक्रपथ निर्माण एवं बाहिरी चक्रपथको अध्ययन सुरु गर्ने आश्वासन दिइएको छ ।

भरतपोखरी, निर्मलपोखरी, कृस्ती हुदैँ कुभिन्डेसम्मको वैकल्पिक राजमार्ग सक्न पहल गर्ने र ट्राफिक व्यवस्थापनका लागि बहुआयामिक सुविधासम्पन्न पार्किङ स्थल निर्माण, निजी साझेदारीमा बेसमेन्ट पार्किङ सञ्चालन गर्ने महानगरीय योजनालाई सहयोग गर्ने घोषणा पत्रमा उल्लेख छ ।

Advertisement

खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी सहरको रुपमा विकास गर्न पहल गर्दै भरतपोखरीमा प्रस्तावित औद्योगिक क्षेत्र, अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्नुका साथै मौजाको हाइ अल्टिट्युड खेल मैदान बनाउने गठबन्धनको वाचा छ ।

पोखरा अन्तराराष्ट्रिय विमानस्थल सञ्चालन भएपश्चात अहिलेको विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र एवं अन्तर्राष्ट्रिय स्तरको बोटानिकल गार्डेन निर्माण एवं फ्लाईङ स्कुल जस्ता परियोजना सञ्चालन गर्न तत्काल डिपिआर तयार गरी काम थालनी गर्ने प्रतिवद्धता गठबन्धनको छ । खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजनामार्फत व्यवस्थित गरी सबै गाउँ बस्ती र नागरिकसम्म प्रर्याप्त र गुणस्तरिय खानेपानीको सहज पहुँच बनाउने एजेन्डा गठबन्धनको छ ।

यसैबीच, शनिबार पोखरा १७ घारीपाटनमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले पोखराको सौन्दर्यीकरणमा ध्यान दिने बताए ।

‘पछिल्लो समय पोखरामा भिडभाड बढेको छ । काठमाडौं, बुटवल, र नारायणगढ लगायत सहरबाट पोखरामा गाडीहरु थुप्रने गरेका छन्,’ उनले भने, ‘पोखरामा नयाँ विमानस्थल बनेको अवस्थामा बाइबास रोड बनाउने र पोखरालाई सफा सुन्दर राख्ने कुरामा ध्यान दिनेछौं ।’

भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने उनले आश्वासन दिए । पोखराका केही क्षेत्र कृषिका लागि योग्य भएकाले पनि कृषिमा आधुनिकीकरणमा ध्यान दिने उनले बताए ।

कास्की २ (२) का उम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ को विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । थापाले गठबन्धनले नै स्थानीयको पीरमर्का बुझ्ने र समाधान गर्ने हुँदा विकासका आयामका लागि मत दिन आग्रह गरेका हुन् ।

‘पोखरा ११ मा सडक, सिँचाइ, सामाजिक भवन, शिक्षा, स्वास्थ्य र रोजगारीका थुप्रै समस्या छन् । जसमा केही काम हिजो पनि गरियो । अब पनि यहाँहरुले निर्वाचित गराउनुभयो भने गठबन्धन सरकारले नै विकास दिनेछ’, उनले भने । पोखरा ११ को कृषि सडकका लागि आफ्नै पहलमा बजेट विनियोजन भएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया