मास्टर प्लान अनुसार काहुँको विकासः विन्दु

पोखरा ।
गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना बनाएर सोही अनुसार विकास, निर्माणको खाका कोरिने प्रतिवद्धता गरेका छन् । कास्की २ (२) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा ११ काहुँडाँडाका स्थानीयसँग आइतबार यस्तो प्रतिवद्धता गरेका हुन् ।
उनले काहुँ डाडा निकै पिछडिएको बताउँदै यसको विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए । उनले आफू अबको पाँच वर्ष पनि जनताको काम गर्नका लागि आएको जनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, प्रदेश संरचना निमार्ण, नीति नियम, ऐन कानुन निमार्ण गर्दा सकिएको स्पष्ट पारे । थापाले आफूले पाँच वर्षअघि जितेर गए पनि विकासका योजना ल्याउने मन्त्रालयमा नपर्दा चाहे जति विकास गर्न नसकेकोमा दाबी गरे ।
‘म यो ठाउँको सांसद भएर पनि तपाईँहरुले चाहे जतिको विकास गर्न सकिनँ । मेरो अधिकार क्षेत्रले जति दियो, त्यतिमात्रै गरें,’ उनले भने, ‘तपाईहरुलाई थाहै छ म कानुन बनाउने मन्त्रालयमा परे । हाम्रै सरकार हुँदा पनि मैले थोरैमात्रै काम गर्न सकें ।’
थापाले काहुँ विकासका लागि आफूले स्थानीयसँग बसेरै गुरुयोजना निमार्ण गर्ने वाचा गरे । ‘बजारबाट नजिकै रहेर पनि काहुँ निकै पिछडिएको क्षेत्र हो । मैले यहाँका ससमस्या बुझेको छु । सबैभन्दा ठूलो समस्या भनेको सडक नै हो । सडक सञ्जाल भयो भने सबैतिर विकास हुन बेर लाग्दैन ।
यो सराङकोट भन्दा पनि रमणीय ठाउँ छ तर पनि विकास हुन सकेन’, उनले थपे, ‘अब काहुँडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन जरुरी छ । सडकमात्रै होइन्, तपाईंहरुले भनेझै यहाँ पदमार्ग पनि बनाउनुपर्छ ताकि हाइकिङ सम्भव होस् ।’
थापाले अब आफ्नो ठाउँका लागि पार्टीभन्दा माथि उठेर हेर्नुपर्ने भनाइ राखे । उनले रानी बौर हुँदै जाने सडकलाई अब कृषि सडकको रुपमा विकास गर्ने गरी प्रदेशको रातो किताबमा परेकोसमेत सुनाए । कृषि सडक अन्तर्गत १ करोड रुपैयाँ विनियोजन भइसकेको र अब काम सुरु हुने चरणमा रहेको उनको भनाइ छ ।
यो योजनालाई आफू निर्वाचित भए वहुवर्षे योजनामा पार्दै स्तरीय कृषि सडकको रुपमा विकास गर्ने उनको प्रतिवद्धता छ । थापाले ठाउँ ठाउँमा पहिरोको जोखिम भएकाले वातावरण अनुकूलको विकास गरिने उल्लेख गरे । ‘विकास , नर्माणका लागि योजना लिएर आउन मन्त्रालयको कार्य क्षमताले दिएन ।
सामाजिक वा अन्य कुनै मन्त्रालय पाएको भए पनि काम गर्ने थिएँ तर त्यसो हुन सकेन । कानुन बनाउने स्थानमा भइयो, त्यसैले मेरो अधिकार क्षेत्रमा परेर मैले भ्याएसम्म गरें’, उनले भने ।
तपाईको प्रतिक्रिया