सम्पादकीयः आचार संहिताको पालना गर

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु अहिले चुनावी रन्कोमा छन् । चुनावी रन्कोमाझ उनीहरु आचार संहिता उल्लंघन गरेको भने ख्याल राख्दैनन् । जान/अन्जान तरिकाले निर्वाचन आचार संहिताको उल्लंघन भइरहेको देखिन्छ । निर्वाचन आयोगले आचार संहिता लागू गरेपनि उम्मेदवारहरुमा निर्वाचन आचार संहिता तोड्ने होड जस्तै देखिन्छ ।
निर्वाचन आचार संहिताले चारपाङ्ग्रे गाडी, मोटरसाइकल, बयलगाडा, रिक्सा, टाँगा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचार गर्न रोक लगाएको छ । निर्वाचन आचार संहिता २०७९ को दफा १४ को उपदफा ‘द’ मा कुनै किसिमको भित्तेलेखन गर्न, वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचार गर्न नहुने उल्लेख छ । तर उम्मेदवारहरु दैनिकजसो गाडीमा स्पिकर बजाउँदै धाइरहेका छन् । उनीहरुलाई निर्वाचन आचार संहिताको कत्ति पनि ख्याल नभएको देखिन्छ ।
निर्वाचन आयोगले आचार संहितालाई कानून नै जस्तो गरी कारबाहीका प्रस्ताव राखेको पनि छ । यसर्थ आचार संहितालाई निर्वाचन कानून मान्न सकिन्छ । कानूनको अज्ञानता क्षम्य हुँदैन । कानून जानिनँ, आचार संहिता उल्लंघन भएको थाहा भएन भन्ने उम्मेदवारहरुको तर्क तार्किक नै छैनन् ।
उम्मेदवारहरुले पनि बुझ्नु आवश्यक छ कि, आचार संहिता नैतिक बन्धनमात्र होइन, कानून पनि हो । उम्मेदवार बनैकै बेला कानून मिच्नेले भोलि जितिसकेपछि कानूनको रक्षा गर्ने कल्पना आम जनताले कसरी गर्ने ?
राजनीतिक दलहरुले पनि आफ्ना उम्मेदवार तथा कार्यकर्तालाई आचार संहिताको पालना गर्न सजग गराउनु जरुरी छ । चुनाव प्रचारप्रसारका क्रममा आचार संहिता पालना भए/नभएको बारे राजनीतिक दलहरु आफैं खोजी गरेर उल्लंघन भएको खण्डमा आवश्यक कदम चाल्नुपर्छ । अहिले हरेक मुद्दालाई राजनीतिकरण गर्ने चेष्टा गर्ने नेपाली राजनीतिक दलहरु पनि आलोचना र दोषारोपणमै रमाइरहेका देखिन्छन् ।
आचार संहिता पालनाको विषयमा पनि उनीहरु आफू पालना नगर्ने र अर्को पक्षमा दोष थोपरेर छाड्ने नियत देखाइरहेका पनि छन् । राजनीतिक दलहरुकै भाषामा भन्ने हो भने निर्वाचन आयोग पनि अमुक दलहरुको गोटी बनेको छ । आयोग अम्पाएर हो, खेलाडी होइन । आयोगले अम्पाएरकै भूमिका खेल्नुपर्छ ।
र जनताहरुले यस निर्वाचनमा असल खेलाडी छानेर जिताउनुपर्छ, नियम मिच्ने सबैलाई गलत कार्यको स्वाद चखाउनुपर्छ । जोशमा होश गुमाएर चुनावी अभियानमा रहेका राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्तालाई सजग गराउने अन्तिम काम निर्वाचन आयोगको हो । आयोगले कारबाही गर्नेमात्र होइन, उम्मेदवार तथा कार्यकर्ता तथा आम नागरिक तहमै पनि आचार संहिताबारे जानकारी पुर्याउनु आवश्यक छ ।
तपाईको प्रतिक्रिया