‘पोखरामा ५ सेटलाइट टाउन बनाउँछौं’

पोखरा ।
कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पोखराका ग्रामीण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने गठनबन्धनले जनाएको छ ।
फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारले प्राथमिकता दिएका छन् । अत्याधुनिक पर्यटक सूचना केन्द्र स्थापना र सञ्चालन गर्न पहल गर्ने, पोखरादेखि विभिन्न तालसम्म एअर कनेक्सन गर्न पहल गर्ने उनीहरुको प्रतिवद्धता छ ।
ग्रामीण वडा र सँगै जोडिएका स्थानमा ५ सेटलाइट टाउन बनाउने ५ दलीय गठबन्धनको प्रतिवद्धता
कास्की २ मा पाँच दलीय गठबन्धनबाट एकीकृत समाजावादी श्रीनाथ बराल, २ (१) मा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र २ (२) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा साझा उम्मेदवार छन् । गठबन्धनले होमस्टे सञ्चालन गरी ग्रामीण पर्यटन हबको कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिएको छ ।
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता जनाएको छ । गठबन्धनले उद्यमशीलता, पर्यटन, रोजगार तथा मानव संशाधन विकाससहित स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसर सृजना गर्न पहल गर्ने घोषणपत्रमा उल्लेख छ ।
रेमिट्यान्स परिचालन गरी पर्यटन, कृषि र उद्योग विकासका पूर्वाधार निर्माण गरी उद्यमशीलता प्रवद्र्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्न पहल गर्ने जनाएको छ । दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न विशेष स्वरोजगार कार्यक्रम सञ्चालनको पहल गर्ने पनि उनीहरुको प्राथमिकता छ ।
युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यावसाय सञ्चालन गर्न आवश्यक सीप, तालिम तथा लगानीमैत्री वातावरण कायम गर्न विशेष योजना ल्याउने प्रतिवद्धता गरिएको छ । हाइकिङ स्थान, दृष्यावलोकन केन्द्र, हरियाली प्रवद्र्धन कार्यक्रम, जैविक विविधता पार्क, बनस्पती उद्यान स्थापना लगायन कार्यक्रम गठबन्धनका उम्मेदवारको प्राथमिकतामा छन् ।
रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवपर्वतन र अनलाईन रोजगार बजारजस्ता सेवा प्रदान गर्न मानव संसाधन विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनीहरुको चुनावमा प्रतिवद्धता जनाएका छन् ।
कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले शिक्षा क्षेत्रमा यस्तो काम गर्ने बताएका हुन् । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।
तपाईको प्रतिक्रिया