
राज्यका लागि आमनिर्वाचन एक महायज्ञ हो । पौराणिक कालमा कुनै निश्चित उद्देश्यले विभिन्न किसिमका यज्ञ, अनुष्ठानहरु हुने गर्थे भनी हामीले धार्मिक पुस्तकहरुमा पढ्ने गरेका छौँ ।
देवी देवतालाई खुसी बनाउने र आफ्नो मनोकामना पूरा गर्ने हेतु यस्ता यज्ञहरुको आयोजना हुने गथ्र्याे । वर्तमानमा पनि यज्ञ गरिन्छन् । हिन्दू धर्मावलम्बीको बाहुल्यता भएको हाम्रो देशमा अझै पनि यज्ञ, महायज्ञको आयोजना बेला बखत भई नै रहन्छ ।
ती यज्ञ धार्मिक आस्थाका उपज हुन् भने यहाँ कुरा गर्न लागिएको राज्यको महायज्ञ भनेको आम निर्वाचन हो । जसरी धार्मिक यज्ञहरुमा यज्ञ सञ्चालन गर्ने पुजारीहरु हुन्छन्, यज्ञ गराउने कर्ताहरु हुन्छन् र आमन्त्रित पाहुनाहरु दर्शक भएर रहन्छन् । आम निर्वाचनमा पनि नेताहरु पुजारीको काम गरिरहेका हुन्छन्, कार्यकर्ता कर्ताका रुपमा रहन्छन् र जनता आमन्त्रित पाहुनासरह हुन् ।
महायज्ञमा सहभागी सबैले फल पाउने पौराणिक मान्यता छ भने यो महायज्ञमा फल पुजारी नेता र कर्ता कार्यकर्ताले मात्र पाउने गर्छन् । जनता भने सहभागी हुने, हेर्ने र पुनः आफ्नो आफ्नो दैनिक कर्ममा फर्किने गरेको देखिन्छ । जनतासम्म महायज्ञको फल हाम्रो देशमा अहिलेसम्म आइपुगेको छैन भन्दा पनि अत्युक्ति नहोला ।
महायज्ञमा सहभागी सबैले फल पाउने मान्यता छ भने यो महायज्ञमा फल पुजारी नेता र कर्ता कार्यकर्ताले मात्र पाउँछन्
निर्वाचनको उद्देश्य राज्यले एउटा सही नेतृत्व प्राप्त गर्ने र विकास र समृद्धिको बाटोमा हिड्ने हो । प्रत्येक ५ वर्षमा हुने आवधिक निर्वाचनले राज्यका नीति निर्माताको चयन गर्दछ । जनताको चाहना आफ्नो पक्षमा नीति निर्माण होस्, आफ्ना समस्याको समाधान होस्, राज्यले दिने सुविधा सहज रुपमा पाउन सकियोस्, देशले आर्थिक वृद्धि गरोस् भन्ने हुन्छ । राज्य सत्ता पाञ्च वर्षसम्म सम्हाल्ने नीति निर्माताले राज्यलाई सर्वोपरी ठानेर संसदमा अहम भूमिका खेलून् भन्ने मतदाताको इच्छा रहेको हुन्छ ।
तर हाम्रा प्रायः नेता र कार्यकर्ताको चाहना जनताको चाहनासँग मेल खाएको पाइँदैन । नेताहरुले निर्वाचनलाई एउटा परीक्षा सम्झने गरेका छन्, आफ्नो भए भारको जोड बल लगाउने, सके जति खर्च गर्ने र विजय प्राप्त गरेरै छोड्ने । विजय प्राप्त गर्नु भनेको अब जनतामाथि आफूले शासन गर्न पाइने भन्ने बुझाई राख्ने हाम्रा नेताहरुको राजनीतिको बुझाई शून्य प्राय नै देखिन्छ ।
अधिकतम नेता गणमा न त राजनीतिशास्त्रको बिषयगत ज्ञान छ न सामाज शास्त्रको । अध्ययन बिना, लहडको भरमा अरुलाई गाली गरेर, उसले सकेन मैले सक्छु भन्ने अहमता लिएर साम, दाम, दण्ड, भेद अवलम्बन गरेर राज्य सत्ता प्राप्त गर्नु नै राजनीति गर्नु हो भन्ने अधिकांशको बुझाइ रहेको छ ।
राज्य सञ्चालनका लागि कौटिल्य र म्यकियाभेलीले दिएको सिद्धान्तमा आधारित राजनीतिमात्रै बुझेका हाम्रा राजनीतिज्ञहरु राज्य सत्ता प्राप्ति र कर्मकाण्डीय राजनीति मात्रैमा सिमित रहेका छन् । मन्त्री बन्ने, सुबिधा भोग्ने, सम्मान ग्रहण गर्ने, रिबन काट्ने, आफ्नालाई राज्यका विभिन्न अवसर प्रदान गर्ने, अकुत सम्पत्ति जोड्ने र पुनः त्यसको प्रयोग अर्को परीषाका लागि प्रयोग गर्ने, यही कर्मकाण्डमा बित्ने गरेको छ हाम्रो राजनीति ।
यति मात्रैलाई राजनीति बुझेकाहरुबाट अरु अपेक्षा पनि कसरी गर्ने त हामीले ?
यसो किन भइरहन्छ त ? जनतालाई अपेक्षित नतिजा दिन नसके पनि किन सधै उनीहरु नै हावी भइरहेका छन् त ? यसको उत्तर महायज्ञका कर्ता, कार्यकर्ता हुन् । कोही किन कसैको यति भक्त कार्यकर्ता हुन्छन् त ? कोही किन आँखा चिम्लेर उनीहरुकै पछि लागिरहेका छन् त ?
किनकी उनीहरु पनि स्वार्थले प्रेरित छन् । केही समयपछि आफ्नो पनि पालो आउने र आफूले पनि सोही सुविधाहरु भोग गर्ने पाउने लालसामा लिप्त कार्यकर्ता जसो जसो पण्डित बाजे उसो उसो स्वाहा भन्दै नेताहरुको लहलहैमा लागिरहेका छन् ।
उनीहरु आफ्नो नेतृत्वलाई प्रश्न गर्न सक्दैनन् र चाहदैनन् पनि । कारण डर र स्वार्थ दुवै मिश्रित छ । आफ्नो राजनैतिक भविष्य बिग्रने डर र सत्ता स्वार्थको लोभको मायाजालमा उनीहरु एकोहोरो भक्त हुन बाध्य पनि छन् ।
उनीहरुमा पनि अध्ययनको कमी छ, प्लेटोले भनेको जस्तो अध्ययनको उद्देश्य तार्किक क्षमताको विकास गर्नु हुनुपर्नेमा कर्मकाण्डीय अध्ययनमात्रै या त्यो पनि नभएकाहरु मात्रै अन्धभक्त कार्यकर्ताहरु छन् । अब जनता के हेरिरहेका छन् त ? जनताहरुले किन बुझ्दैनन् यी कुरा ? किनकी जनता आ–आफ्नै धुनमा छन्, आफ्नो घर, परिवारको खुसीलाइ सर्वोपरी ठानी आफ्नो व्यक्तिगत उत्थानमै अभ्यस्त अधिकांश जनतालाई पनि राजनीति भनेको छलकपटको खेलो हो, यसबाट टाढै रहेको राम्रो भन्ने कुरा बुझाइएको छ ।
उनीहरु सकेसम्म राजनीतिबाट टाढै रहन खोज्छन् । महायज्ञको अवसरमा उनीहरुलाई अनेक थरिका सपना देखाइन्छ, लोभ लालचमा भुलाइन्छ र झुक्काइन्छ । जो आए पनि कानै चिरेको भन्ने उखानको भावले ओतप्रोत भएर महायज्ञमा अन्धाधुन्द भाग लिन्छन र पुनः तिनै धुन्धुकारी मध्यका एकलाई छान्न बाध्य हुन्छन् किनकी उनीहरुलाई को कस्तो छ भनेर सोच्ने, खोजी नीति गर्ने पनि फुर्सद छैन ।
यसरी चलिरहेको हाम्रो कर्मकाण्डको राजनीतिलाई सही दिशामा ल्याउने जिम्मा हामी जनताको नै हुन्छ । अब हामीले बोल्न जान्ने, काम गर्न नजान्ने नेताहरु छुट्याउनु पर्छ । हामीले हाम्रो लागि काम गरिदियोस्, हाम्रो लागि नीति नियम बनाइदियोस् भनेर छान्ने नेताहरु के शैक्षिक, नैतिक र मानसिक रुपले योग्य छन् त, के उनीहरुले हालसम्म गरेका कर्मका आधारमा निस्वार्थ जनता र राज्यको लागि सोच्न सक्छन् त ? यी कुरा अब एकदमै विचार गरेरमात्रै यो महायज्ञमा बेलपत्र चढाउनुहुन म सम्पूर्ण राष्ट्रप्रेमी जनतालाई विनम्र निवेदन गर्दछु ।

डा सञ्जय कोइराला
नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् ।
तपाईको प्रतिक्रिया