बतासले ल्यायो अक्सिजन प्लान्ट

समाधान संवाददाता २०७९ कार्तिक २८ गते २०:२६

पोखरा ।
बतास फाउन्डेसनले गण्डकी प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने भनेको अक्सिजन प्लान्ट पोखरा ल्याएको छ । नोभा एयर एसओएस कम्पनीको प्लान्ट सोमबार पोखरा आइपुगेको मेडी अक्सी प्रालिका बायोमेडिकल इन्जिनियर मदन भण्डारीले जानकारी दिए ।

फ्रान्सबाट करिब साढे ३ करोड रुपैयाँको प्लान्ट नेपाल ल्याइएको इन्जिनियर भण्डारीले बताए । सरकारी प्रक्रिया पूरा गर्दा प्लान्ट ल्याउन ढिलो भएको उनको भनाइ छ । ‘सरकारबाट पनि सहयोग हुने भएपछि २/४ महिना ढिला भयो, फेरि सरकार परिवर्तन भयो, प्रक्रिया मिलाउँदा मिलाउँदै गर्दा केही समय ढिला भयो,’ उनले भने ।

प्लान्ट जडानका लागि अस्पतालमा ठाउँ नहुँदा जडान हुन नसकेको इन्जिनियर भण्डारीले बताए । ‘प्लान्ट सोमबार बिहान आइपुगेको हो, प्लान्ट जडान गर्ने ठाउँमा अर्काे प्लान्ट छ, अहिले एउटा ठाउँमा राखेका छौं,’ उनले भने, ‘अस्पतालबाट अनुमति पाउनासाथ १ हप्तामा जडान गरी हस्तान्तरण गर्छौ ।’ प्लान्टमा १ दिनमा १ सय ५० सिलिन्डर बनाउने क्षमता रहेको इन्जिनियर भण्डारीले बताए । साथै प्लान्टले १ दिनमा १४ वटा सिलिन्डर भर्ने उनले जानकारी दिए ।

Advertisement

कोरोना महामारीको समयमा पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने गरी बतास फाउन्डेनल ‘१०० रुपैयाँ दान, महामारीमा प्राण’ भन्ने नारासहित सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियानबाट १ करोड ६५ लाख ४ हजार ४२ रुपैयाँ संकलन भएको थियो । बतास फाउन्डेसन र बतास अर्गनाइजेसनका कम्पनीबाट ५५ लाख, सेल्वेज डिर्पाटमेन्टल स्टोर प्रालि, अटोवेज प्रालि, केसी ग्रुप, सुपर मादी हाइड्रो प्रालि, क्वालिटी एग्रिग्रेट माइनिङ प्रालि, अग्नि इन्कर्पाेरेसन प्रालिबाट १ करोड २५ लाख रुपैयाँ गरी ३ करोड ४५ लाख १७ हजार ५५५ रुपैयाँ संकलन भएको थियो ।

Advertisement

यसअघि नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान गरिदिएको छ । मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष भक्त गुरुङका अनुसार ४० देशमा छरिएका एमाले कार्यकर्ताले संकलन गरेको पैसाबाट किनेर उक्त प्लान्ट पठाइएको हो ।

उक्त प्लान्ट चीनको हान्जाओ कम्पनीमा निर्मित हो । उक्त प्लान्टले एक दिनमै २ सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ ।

तपाईको प्रतिक्रिया