जन्मभूमिमा खगराजको एक दिन,स्थानीयले भनेः अबकाे मुख्यमन्त्री

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की १ क बाट उम्मेदवार तथा नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी यतिखेर निकै धपेडीमा छन्, चुनावको मुखैका उम्मेदवार जो हुन् ।
आफ्नो निर्वाचन क्षेत्रमा चुनावी सभा, भेला र घरदैलोसँगै पार्टी प्रवेशमा उनको धपेडी तीव्र छ । चुनावी माहौल बनाउन उनी आफ्नो निर्वाचन क्षेत्रमा खटिएका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने रेसमा रहेका अधिकारी सोमबार बिहानैदेखि साँझसम्म घरदैलो, चुनावी भेटघाट, पाटी प्रवेश र सभामा हतारहतार सहभागी भइरहे ।
पोखरा १२ स्थित निवासमा सधैंजसो बिहान ६ बजेदेखि नै कार्यकर्ता भेटघाटबाट सोमबार पनि उनको दिनचर्या सुरु भयो । एमाले प्रवेश गर्नकै लागि तरुण दल गण्डकी प्रदेश सदस्य विजय थापा लगायत अधिकारी निवासमै पुगे ।
‘बेगनासमा खगराज भोट माग्न आउनुपर्दैन । अन्ततिर जा, पोखराका वडाहरू डुल । बेगनासले तँलाई एक छापे भोट दिएर जिताउँछौं,’ वृद्ध लीलानाथ ढकालले भने ।
थापासहित नेकपा माओवादी केन्द्रका सराङकोट निवासी कार्यकर्ता रवि विक, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा पोखरा महानगरका निवर्तमान महासचिव, माओवादी केन्द्रका कृष्णप्रसाद पराजुली र निरेश अधिकारीलाई उनले पार्टीमा स्वागत गरे ।
त्यसो त सोमबारै अधिकारीले पोखरा २७ का माओवादी केन्द्रका वडा कमिटी सदस्य देवबहादुर लामिछाने र सत्यदेवी रानाभाटलाई एक छुट्टै कार्यक्रममा पार्टी प्रवेश गराए ।
धपेडीले नै होला, अलिअलि बिरामी पनि परेका अधिकारी बिहानै कार्यकर्ता र संघसंस्थाका पदाधिकारीलाई समूह–समूहमा भेट गर्न व्यस्त रहे ।
सोमबार बिहान ६ बजे विभिन्न दल परित्याग गरेर निवासमै आउनेलाई पार्टी प्रवेश गराएपछि अधिकारी पोखरा ३१ एकान्तकुनाका मतदातालाई सम्बोधन गर्न पुगे । त्यहाँ संक्षिप्त सभा थियो । सभामा उनले विभिन्न पार्टीबाट कांग्रेसमा आएकालाई स्वागतसँगै सम्बोधन पनि गरे ।
पोखरा ३१ अधिकारीको जन्मभूमि हो । जन्मभूमिमा आफूले सबैभन्दा बढी माया पाउने र अत्यधिक मतले विजयी भएर प्रदेशसभा पुग्ने अधिकारीको आत्मविश्वास थियो । उनले आफू प्रतिनिधि सभा सदस्यका रुपमा रहँदा जनताको आवश्यकताको आधारमा काम गरेको उल्लेख गरे । बाँकी कामलाई पूरा गर्न पाटीले प्रदेशमा उम्मेदवार बनाएको उनको भनाइ थियो ।
‘आवश्यकताका आधारमा विकास निर्माणका काममा सहकार्य गरेको थिएँ । अब प्रदेशमा अझ नजिक भएर काम गर्ने अवसर पाउनेमा ढुक्क छु । मेरो क्षेत्रलाई प्रदेशकै नमुना क्षेत्र बनाउँछु,’ उनले थपे, ‘यहाँका बाटा मर्मत गर्नेदेखि पिच गर्ने, चक्लाबन्दी गर्ने, धार्मिक क्षेत्रसँगै बेगनास ताल र रुपा ताललाई जोडेर पर्यटकीय हब बनाउने कुरा मेरो पहिलो प्रथामिकता हुनेछ ।’
कास्की १ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरुङले देश हाँक्ने, एकपटक गृहमन्त्री भइसकेको मान्छे प्रदेशमा उठ्नु आफैमा गौरव भएको सुनाए । ‘तपाईंहरुले देश साँच्चीकै हाँक्ने नेता जन्माउनुभयो । तपाईंहरुलाई बधाइ पनि दिन चाहन्छु । एकपटक गृहमन्त्री पनि बनाउनुभयो । अब पालो प्रदेशको मुख्यमन्त्री बनाउने हो ।
जिताएर पठाउने जिम्मेवारी तपाईंको हातमा छ,’ गुरुङले भने, ‘तपाईंकै भाइचेलो त्यो पनि बेगनासमै जन्मे हुर्केको । अब तपाईंको हातमा छ । उहाँलाई के बनाउने भनेर एकपटक सोच्नुस् तपाईंले गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने कि गोरखाको बनाउने ?’
यसपछि लामास्वाँराको चुनावी सभालाई सम्बोधन गर्न अधिकारी र गुरुङ पुन मतदाताको घरदैलो भेटघाटमा हानिए ।
त्यहाँ पुगेर अधिकारीले जिताएर पठाए बजारबाट झर्ने र उक्लने बाटो सलल बग्ने बनाइदिने आश्वासन दिए । उनले वर्तमान परिस्थितिमा देशको परिस्थितिलाई मध्यनजर गरेर मतदाताले सूर्यलाई नै भोट दिनुपर्ने बरु आफूहरूको गल्ती सँच्चाएर जाने प्रतिबद्धता दिए । सभालाई सम्बोधन गरेर गुरुङ र अधिकारी छुटिए । यसपछि अधिकारी माझीकुना हानिए । माझीकुनामा अधिकारीले पर्यटकको चापलाई मध्यनजर गर्दै होमस्टे सञ्चालन गर्ने बजेट पार्ने बचन दिए ।
‘मेरो व्यक्तिगत तर्फबाट पनि यहाँको पर्यटकीय क्षेत्रलाई संरक्षण गर्ने र प्रवर्धन गर्ने हुन्छ मेरो प्रतिबद्धता छ । यसमा पनि म यसै ठाउँको भएपछि यो ठाउँलाई साँच्चीकै नमुना र हेर्नलायक बनाउँछु,’ मतदातालाई अधिकारीको विश्वास दिलाए । उनले यहाँको कृषि प्रवर्धन गर्दै प्रविधि मैत्री कृषि प्रणालीको विकासमा आफ्नो जोड रहने बताए ।
अधिकारीलाई मत मागिरहेका पार्टी कार्यकर्ताले अर्को १० दिनमा प्रदेशको मुख्यमन्त्री भनेर प्रचार गरे । मतदाताले भने सबैभन्दा बढी समस्या बाटोको देखाए । बेगनास ताल वरिपरिका मतदाताले बेगनास क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन नै जोड दिए ।
स्थानीय सूर्य लामिछाने अधिकारीबाहेक अर्काे नेता नभएको बताए । ‘तपाईंबाहेक हाम्रो अरु नेता छैन । तर, तपाईं हामीहरुलाई संरक्षण गर्नुको साटो थर्काउनुहुन्छ,’ लामिछानेले भने, ‘तपाईंले थर्काउन छोड्नुस् तपाईंका बानी सुधार्नुस् । हाम्रो भोट हाल्ने तपाईं नै हो । अरुलाई भोट जान्न ढुक्क हुनुस् ।
अधिकारीले आफूलाई सच्चाएर अघि बढ्ने बाचा गर्दै अहिलेको अप्ठेरो परिस्थितिमा सहयोग गर्न आग्रह गरे । ‘गल्ती गर्दा थर्काउने अधिकार तपाईंहरुले राख्नुहुन्छ । मलाई सँच्चाएर अगाडि बढाउने जिम्मेवारी तपाईंहरुकै हो,’ अधिकारीले अंकमाल गरेर लामिछानेलाई भने ।
अर्का स्थानीय लीलानाथ ढकालले बेगनासमा घरदैलो गर्दै हिँड्नु नपर्ने बरु अरु ठाउँमा भोट मागेर जित सुनिश्चित गर्न सुझाए । ‘बेगनासमा खगराज –छोरा– तँ भोट माग्न आउनुपर्दैन । अन्ततिर जा, पोखराका वडाहरू डुल । बेगनासले तँलाई एक छापे भोट दिएर जिताउँछौं,’ वृद्ध ढकालले भने ।
खाना खाएपछि अधिकारी चुनावी दौडाहामा बेगनासको डाँडातिर सोझिए । निर्वाचन आयोगको मापदण्डलाई ख्याल गरेर सीमित नेता, कार्यकर्ताको टोली उनको अघिपछि लागिरहे । उनको स्वागतमा गृह गाउँमा बाक्लो उपस्थिति थियो ।
चुनावमा उनलाई सक्रिय रूपमा सघाउने वाचा गरे । भेलाका केही सहभागीले विकासमा पछि परेकाले त्यसको अगुवाइ गर्न अधिकारीलाई आग्रह पनि गरे । उनीहरूले सडक, विद्युतीय, खानेपानी व्यवस्था गर्न माग गरे ।
अधिकारीलाई मतदाताले सडक ट्र्याक खोलिदिन र खानेपानी योजना ल्याइदिन आग्रह गरे । अधिकारीले सडक र खानेपानीसहित कृषि, पर्यटन र जलविद्युत् विकासका एजेन्डालाई मुख्य प्राथमिकतामा राखेको भन्न छुटाएनन् । अधिकारीले गाउँका सडक कालोपत्रे, सुकुम्बासीलाई लालपुर्जा, गाउँमा खानेपानी, विद्युत् र स्वास्थ्य चौकी बनाउने प्रतिबद्धतासमेत जनाए ।
गाउँको विकास गर्ने नेतालाई मत दिने निर्णय सुनाउँदै आमा समूहका अगुवाले अधिकारीलाई आश्वासन पनि दिए । स्थानीय अनुप अधिकारीले निर्वाचन क्षेत्रमा विकासका लागि योजना ल्याइदिन आग्रह गरे । ‘उहाँलाई हामी मुख्यमन्त्री देख्न चाहन्छौँ,’ उनले भने । अधिकारीले पनि गाउँमै बसौंबसौं हुनेगरी विकास ल्याउने र रोजगारी दिने प्रतिबद्धता जनाए ।
घरदैलो निरन्तर भइरह्यो । परम्परागत वेशभूषामा सहभागी तन्नेरीहरूलाई अघि लगाएर उनले केही घरमा भोट मागे । संघीयता बनाउन भन्दै गठबन्धनलाई हराउन विजयी गराउन आग्रह पनि गरे । गठबन्धनको आलोचना गर्न पनि चुकेनन् । दिनभरको चुनावी भेला, सभा, घरदैलोपछि उनको टोलीले साँझ चुनाव प्रचार समिति पदाधिकारीसँग छलफल भयो । साँझ ८ बजे मात्रै उनी निवास फर्कन भ्याए ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया