नक्कली गहना धितो राख्ने पक्राउ

समाधान संवाददाता २०७९ कार्तिक २९ गते १०:२५

पोखरा ।
राष्ट्रिय वाणिज्य बैंकमा नक्कली गहना राख्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । गहना धितो राखी ऋण लिन लामो समयसम्म साँवा र ब्याज तिर्न नआएपछि वाणिज्य बैंकले अनुसन्धान थालेको थियो ।

अनुसन्धानमा गहना नक्कली रहेको पत्ता लागेपछि बैंकको उजुरीमा जिल्ला प्रहरी कार्यालय कास्कीले कुश्मा नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल पोखरा १८ सराङकोट बस्ने वर्ष २५ का अभिसेक सुनारलाई पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले बताए । ‘प्रहरीमा उजुरी परेपछि हामीहरुले अनुसन्धान थाल्यौं ।

बैंकको सहयोगमा नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँच गर्दा गरगहना नक्कली भएको पत्ता लाग्यो । त्यसपछि सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएका छौं,’ प्रवक्तासमेत रहेको डिएसपी तिवारीले भने ।

Advertisement

सुनारले विभिन्न मितिमा नक्कली सुनका गहना धितो राखेर कर्जा लिएको वाणिज्य बैंकको डाटाले देखाएको छ । उनले पोखरा १७ बिरौटा स्थित रहेको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोक स्थित रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार रुपैयाँ कर्जा लिएर साँवा, ब्याज तिरेका थिएनन् ।

सुनार ऋण लिएपछि एक पटक पनि ब्याज र किस्ता तिर्न नआएपछि राष्ट्रिय वाणिज्य बैंकले कालो सूचीमा राखेको थियो । सुनारलाई प्रहरीले जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया