कास्की १ मा युवा संघको चुनावी कमिटी

लेखनाथ ।
आम निर्वाचनमा केन्द्रित हुँदै एमालेका उम्मेदवारलाई जिताउन कास्की १ का युवा संगठित भएका छन् । युवा संघ नेपाल कास्की क्षेत्र नं १ ले आइतबार भएको भेलाले मतदानको परिमाण नआउने बेलासम्म मतदातादेखि मतदान केन्द्रको सुरक्षाका लागि टोली नै बनाएर खटिने गरी ५ सय ५१ सदस्यीय युवा परिचालन कमिटी गठन गरिएको हो ।
कार्यक्रममा कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले युवाले भोग्नु परेका समस्याका बारेमा एमालेले आफनो नीति तथा कार्यक्रममा उल्लेख गरेको बताए । उनले युवालाई स्वदेशमा नै स्वरोजगार हुने वातावरण सिर्जना गर्ने आश्वासन दिए ।
कास्की क्षेत्र नम्वर १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले कास्कीमा एमालेलाई हराउने कुनै शक्तिले सपना नदेखे हुने चेतावनी दिए । पार्टीगत सिद्धान्त विना नै चुनावी मैदानमा आउनेले देशलाई कसरी कमजोर बनाउने भन्दै उनले सत्ता प्राप्तिका लागि मात्र गठबन्धन गरेको जिकिर गरे । तर देश विकासका एजेन्डा र एमालेको काम गर्ने शैलीलाई हेरर जनताले विश्वास गरेको उनको भनाइ छ ।
कास्की क्षेत्र नम्बर १(२)का उम्मेदवार वेदबहादुर गुरूङ(श्याम)ले सत्य र असत्यको जित चुनावले निक्र्याैंल गर्ने बताए । उनले युवाको चाहना र समय परिवेश अनुरुपको युवा लक्षित कार्यक्रममार्फत देश विकास गर्न सकिने बताए ।
कार्यक्रममा तरूण दल कास्कीका जिल्ला सदस्य मेख लामासहित विभिन्न पार्टी परित्याग गरी करिब सय जनाभन्दा बढी युवा स्वतस्फुर्त रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
युवा संघ गण्डकी अध्यक्ष महेन्द्र गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपमा एमाले जिल्ला कमिटी सचिव बैनबहादुर क्षेत्री, पोखरा महानगरपालिका नगर कमिटी अध्यक्ष दिलीप न्यौपाने, युवा संघका केन्द्रीय सदस्य सुवास सापकोटा, विकास अधिकारी लगायतले चुनावी अभियानमा दृढतापूर्वक लाग्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया