मतदाता माग्छन् धोका नदिने प्रतिवद्धता

समाधान संवाददाता २०७९ कार्तिक २९ गते १३:३९

पोखरा ।
पोखरा ३३ की ७४ वर्षीय विष्णु परियार आजकल कोही पुगेर मत दिने कुरा गरे भने भक्कानिन्छन् । भन्छिन्, ‘मेरो भूकम्पले भत्काइदिएको धन्सार बनाउन सकिनँ । राहत माग्न जाँदा धेरै ठाउँमा डुलाए । केही राहत पनि दिएनन् ।

Advertisement

घर अगाडिबाट बाटो लगे तर, वषौं हुँदापनि पिच गरेनन् । मोटर चल्छन् । बाटोको धुलो सबै भान्सामा पुग्छ । हामी रोगी भयौं मत पाएकाहरु सांसद र मन्त्री भए, उनीहरुलाई हाम्रो पीडा महसुस भएन ।’

मगरबेँशीमा उनीमात्र होइन अन्य बासिन्दाको पनि यस्तै गुनासा छन् । सोही ठाउँकी विमला परियारले अब जति नै गरेपनि पहिले भोट दिएकालाई नदिने आक्रोश सुनाइन् । ‘भोट माग्नमात्र आउने अनि भोट पाएपछि फर्केर नआउनेलाई किन मत दिने ? जति झुक्याउने झुक्याए, अब हामीलाई झुक्याउन सक्ने छैनन्,’ उनले भनिन् ।

मत माग्दै पुगेका नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बराललाई स्थानीयले जनताको विश्वासमाथि धोका दिन सचेत गराए । ‘धोका दिन पाउनुहुन्न ।

यो बाटो पीच गरिदिनुहोला । बोलेको कुरा पूरा गरिदिनुहोला,’ बिमलाले भनिन् । जनताका पीडा नसुन्ने अनि चुनावका बेला आएर कता कता रेल ल्याउने कुरा गर्ने भन्दै उनले अब झुटो जनताले नपत्याउने जनाइन् ।

Advertisement

उम्मेदवार बरालले विगतमा आफूसमेत आएर मत मागेको स्मरण गरे । बराल अहिले एमाले छाडेर सत्ता गठबन्धनका उम्मेदवार हुन् । ‘विद्रोह गरेर अहिले गठबन्धनबाट उम्मेदवार बन्दै तपाईको घर दैलोमा आएको छु । अब तपाईहरुले मलाई मत दिँदा यसरी पछुताउनु पर्ने छैन ।

म मत पाएपछि पनि तपाईसँग आइरहनेछु,’ बरालले आश्वास्त पार्न खोजे, ‘तपाईहरुकै कुरा संसदमा राख्नेछु र समस्या समाधान गर्नेछु ।’ बरालले उत्पीडित, सुकुम्बासी र पछाडि परेका समुदायका साथै समग्ररुपमा विकास र समृद्धिकै लागि उम्मेदवार बनेको बताए ।

सोमबार पोखरा महानगरपालिका २१ मा डेढसय भन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र विकास गर्ने एजेन्डा छोडी सत्तालिप्सामात्रै देखाएको आरोप उनीहरुले लगाए ।

माओवादी प्रवेश गर्ने युवामा अधिकांश दलित समुदायका छन् । पोखरा २१ का स्थानीय ईन्द्रबहादुर नेपाली भन्छन्, ‘एमालेले दलित दुखीका समस्या समाधान गर्न सकेन, अब माओवादीले हाम्रा समस्या समधान गर्ने विश्वासमा भएर नै पार्टी प्रवेश गरियो ।’

पार्टी प्रवेश कार्यक्रममा कास्की २ (१) मा ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूले यस क्षेत्रको सामाजिक समस्या बुझेको, यो ठाउँमा कस्तो विकास र कुन प्रकारको सामाजिक अभियान चाहिन्छ भन्ने ज्ञान रहेको जनाए ।

‘अबको लडाईं गरिबीको अन्त्य गर्ने लडाईं हो, गठबन्धनले सोही अनुसारको घोषणापत्र पनि बनाएको छ, सोही घोषणापत्र अनुसारका कार्यक्रम लिएर आउनेछु,’ लामिछानेले भने ।

तपाईको प्रतिक्रिया