
पोखरा ।
आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने पक्का भएपछि कृष्णचन्द्र नेपाली पोखरेल स्वयंलाई आफ्नै र साझेदार पार्टीबाट ककसलाई मन्त्री बनाउने भन्ने खासै यकिन थिएन । मन्त्री कस कसलाई बनाउने भनेर कांग्रेस र माओवादी नेतासँग परामर्श पनि लिए ।
तर एक जना भने कसैलाई नसोधी आफैंले रोजे । आफू मुख्यमन्त्री हुँदा सरकार चलाउन सजिलो हुने यकिनका साथ एकल निर्णयबाट उनले कांग्रेस सांसद कुमार खड्कालाई मन्त्री नियुक्त गरे । आफूसँगसँगै सपथ खुवाए ।
चुनावमा कांग्रेस र आफूलाई असहयोग गरेको निक्र्याेल गर्दै कुनै बेलाका विश्वासपात्र खड्कालाई मुख्यमन्त्रीले बर्खास्त गरेका छन्
मुख्यमन्त्री पोखरेललाई नियुक्तिको २ दिनमै बजेट बनाएर ल्याउनुपर्ने चुनौती थियो । त्यसमा पनि विनाविभागीय मन्त्री खड्कै साथ पोखरेलले लिए र २ दिनमै बजेट आयो । कोभिड १९ को महामारी मत्थर नभइसकेको हुँदा स्वास्थ्य मामिला सम्बोधन गर्न सक्ने ल्याकत भएको ठानेरै मुख्यमन्त्री पोखरेलले असार ११ गते खड्कालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी सुम्पिएका थिए ।
पछि साउन ८ गते मन्त्रिपरिषद पुनर्गठन गर्दा खड्काले रोज्जा मन्त्रालय भौतिक पूर्वाधार विकास पाए । सरकारको कुल बजेटको सर्वाधिक हिस्सा भएको मन्त्रालय त्यही हो ।कांग्रेसमा नयाँ भए पनि संसदीय गतिविधिमा अब्बल ठहरिएकै हुँदा खड्कालाई मुख्यमन्त्रीले सरकारको प्रवक्तासमेत बनाए ।
सरकारको सूचना सार्वजनिक गर्ने दायित्वसमेत लिएका तिनै मन्त्री खड्काले मंगलबार आफ्नै पद खुस्किएको सुइँको पनि पाएनन् । मंगलबार अपरान्ह मुख्यमन्त्री पोखरेलले खड्कालाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखले स्वीकृत गर्दासमेत उनी मन्त्रालयको कार्यकक्षमा आफ्नै धुनमा थिए ।
२०६४ पछिको राजनीतिक परिवर्तनमा एन्टिकरेन्ट अर्थात संघीयताको विपक्ष र अखण्ड नेपालको पक्षमा अभियान चलाएर चर्चामा मात्रै आएनन् खड्का, त्यही अभियानकै बलमा पार्टी खोले । निर्वाचन घोषणा भएलगत्तै ०७० साल जेठ ९ गते नयाँ पार्टी अखण्ड नेपाल दर्ता गराए । खड्का क्षेत्री समाजको महासचिव रहँदै अखण्ड पार्टीको सभापति बने ।
२०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभा निर्वाचनबाट अखण्ड पार्टीले समानुपातिकतर्फ १ सिट प्राप्त गर्यो । त्यसपछि उनी उक्त पार्टीको समानुपातिक सांसदमात्रै बनेनन्, पछि प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बने ।
अखण्ड पार्टीबाट राजनीतिक भविष्य धर्मराउने देखेपछि खड्काले पार्टीलाई नेपाली कांग्रेसमा विलय गराए । २०७४ को प्रदेश सभा निर्वाचनबाट उनी कांग्रेसको समानुपातिक सांसद बने । संसदको सार्वजनिक लेखा समितिको सभापति बन्ने मौका पनि पाए ।
राजनीतिमा एकपछि अर्काे छलाङ मार्दै आएका खड्काको अहिलेको चुनावमा खुम्चिनु प¥यो । मन्त्री हुँदाहुँदै फेरि उम्मेदवारको टिकट नपाउनु र मन्त्री पदबाटै बर्खास्तीमा परेपछि उनको राजनीतिक अवनती भएको छ ।
उनको राजनीतिक अवनतीको एकमात्रै कारण हो—एउटै मन्त्रिपरिषदका अर्का मन्त्री बिन्दुकुमार थापासँगको टकराव । दुवै जना कास्की २ (२) बाट प्रदेश सभा सदस्यका आकांक्षी थिए । तर खड्कालाई उछिन्दै थापाले टिकट पाए । त्यसपछि थापालाई हराउन लागेको आरोप उनीमाथि थियो ।
गुट भेला गर्ने, थापालाई हराउन लाग्ने र मुख्यमन्त्रीलाई समेत असहयोग गर्ने गरेको लगायत आरोपकै कारण उनी बर्खास्तीमा परेका हुन् । खड्कालाई बर्खास्त गरिएसँगै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै लिएका छन् ।
मन्त्री रहेका बेला कुमार खड्काले प्रत्यक्ष चुनाव लड्ने भन्दै आफ्नो वडा पोखरा १६ मा चालु आर्थिक वर्षका लागि २९ करोड रुपैयाँ बजेटसमेत पारेका थिए । खड्काले आपूm पक्षका नेता, कार्यकर्तालाई भेला गरी प्रत्यक्षमा चुनाव लड्ने बताएका थिए । खड्का र थापाले टिकटका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलसम्म लबिङ गरेका थिए । देउवा निकट मानिने खड्का टिकटको प्रतिस्पर्धामा भने असफल भए ।
यसअघि मुख्यमन्त्री पोखरेलले कात्तिक २२ गते हरिशरण आचार्यलाई ऊर्जामन्त्रीबाट बर्खास्त गरेका थिए । गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश सभाका उम्मेदवार फणीन्द्र देवकोटाको चुनाव प्रचारमा नलागेको भन्दै आचार्यलाई बर्खास्त गरिएको थियो ।
खड्काले आफूमाथि लागेका आरोपको प्रमाण भए देखाउन चुनौती दिएका छन् । ‘गठबन्धनलाई भोट मागेको थिएँ, आरोप लागेको भन्ने कुरा पनि मिडियाका समाचारबाट थाहा पाएँ, मुख्यमन्त्रीले मसँग कुनै कुरा नसोधी निर्णय लिनुभएछ,’ उनले समाधानसँग भनेका छन् ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
तपाईको प्रतिक्रिया