सँगैसँगै मत माग्न घरदैलोमा नातिनी र हजुरआमा

समाधान संवाददाता २०७९ कार्तिक ३० गते ११:२०

जोमसोम ।
मुस्ताङमा नातिनी र हजुरआमा सँगैसँगै जनतासँग मतमाग्न घरदैलो अभियान जुटेका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी घर भएकी नातिनी २८ वर्षीया कर्मडोल्कर गुरुङ र उनकी ७० वर्षीया हजुआमा धोचिङ गुरुङ सँगैसँगै चुनाव प्रसारमा खटिएका हुन् ।

Advertisement

कर्मडोल्कर गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट मुस्ताङ जिल्ला प्रदेश ‘ख’ मा उम्मेदवार बनेकी हुन् । उनकी हजुरआमा धोचिङ गुरुङ पनि प्रतिनिधिसभा समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उम्मेदवार छिन् ।

राप्रपाबाट प्रदेश ‘ख’ मा उम्मेदवार बनेकी नातिनी र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार रहेकी हजुरआमा दुबैले मुस्ताङमा एकैसाथ मुस्ताङका मतदातासँग मतमाग्दै घरदैलो अभियानलाई तीब्रता दिएका छन् । ‘म प्रदेशको प्रत्यक्षमा उठेकी छु, हजुरआमा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार हुनुहुन्छ,’ नातिनी ढोल्करले भनिन्, ‘हामी दुबै सँगैसँगै घरदैलो गर्न हिँडेका छौं ।’

नातिनी डोल्करले मुस्ताङको प्रदेश ‘ख’ अन्तर्गत वारागुङ मुक्तिक्षेत्रको प्राय सबै गाउँमा घरदैलो सम्पन्न गरेको र घरपझोङ गाउँपालिकामा पनि जनताको घरघरमा पुगेर मत माग्ने काम भइरहेको बताइन् । ‘अब धेरै समय छैन, थासाङ गाउँपालिकामा पनि पुग्नु छ,’ उनले भनिन्, ‘हजुरआमा र म सँगसँगै उपल्लो मुस्ताङका गाउँगाउँमा समानुपातिकमा मत माग्न गएका थियौं र उपल्लो मुस्ताङको घरदैलो सम्पन्न गरेर तल फर्किएका हौं ।’

मुस्ताङमा चार राजनीतिक पार्टीका ९ जना उम्मेदवारले प्रतिनिधि र प्रदेशसभामा चुवानी प्रतिस्पर्धा गर्दैछन् । राप्रपा नेपालकी प्रदेश ख उम्मेदवार डोल्कर प्रत्यक्षतर्फ मुस्ताङमै एक्ली महिला उम्मेदवार हुन् ।

Advertisement

जनताको घरदैलो अभियानमा व्यस्त रहेकी राप्रपा नेपालकी उम्मेदवार डोल्करले मुस्ताङी जनताले महिलाहरुलाई उच्च सम्मान गर्दै आफ्नो मत जाहेर गर्ने विश्वास व्यक्त गरिन् । आफू शैक्षिक, मानसिक, शारीरिक र इच्छाशक्ति सबैले अब्बल प्रतिस्पर्धी भएको उनको दाबी छ ।

उनले देशको भविष्य निर्माण र जनताप्रतिको उत्तरदायित्व युवापंक्तिको काँधमा आइपुगेका उल्लेख गर्दै मुस्ताङको ५ वर्षीय कार्ययोजना र रणनीतिको नयाँ भिजन बोकेर जनता समक्ष प्रस्तुत भएको जनाइन् । ‘राजनीतिमा एउटै पात्रमात्र आउनुपर्छ भन्ने छैन,’ उनले भनिन्, ‘देश विकास र जनतामा सुखी समृद्धि ल्याउन हामी जस्ता होनाहारको परीक्षण जनताले गर्नुपर्छ ।’

डोल्करकी ७० वर्षीय हजुरआमा धोचिङले मुस्ताङमा मतदाताको घरदैलो जाँदा जनताबाट राम्रो प्रतिक्रिया आएको र जनताले राप्रपा नेपाललाई जिताउने दाबी गरिन् ।
राप्रपाकी एक्ली महिला उम्मेदवार डोल्करले वनस्पति विज्ञानमा स्नातक पढेकी छन् ।

प्रारम्भिक शिक्षा काठमाडौंको गोकर्णस्थित तिब्बती नाम्ग्याल स्कुलमा हासिल गरेकी उनले त्यसपछि भारतको बैङ्लोरबाट प्लस टुको अध्ययन पूरा गरेकी थिइन् । भारतमा प्लस टु पूरा गरेकी गुरुङले काठमाडौंको अमृत साइन्स क्याम्पसमा आएर ब्याचलरको अध्ययन पूरा गरेकी हुन् ।

तपाईको प्रतिक्रिया