प्याराग्लाइडिङ विस्थापन गर्नु हुँदैनः प्रकाश

पोखरा ।
नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं.३ (२) का उम्मेद्वार प्रकाश बरालले प्याराग्लाइडिङ पोखराको पहिचान भएकाले विस्थापित गर्न नहुने बताएका छन् । पोखरा आउने हरेक पर्यटकको रोजाई र गन्तव्य भएकाले प्याराग्लाइडिङ विस्थापित गर्न नहुने उनले स्पष्ट पारे ।
‘प्याराग्लाइडिङ व्यवसायले सयौं युवाले रोजगारी पाएका छन् । पोखराको अधिकांश पर्यटन यसैले धानेको छ,’ उनले भने, ‘यसलाई विस्थापन गर्ने कुरा सुहाउँदो होइन । अन्तर्राष्ट्रिय उडान नहुने समय छुट्याएर प्याराग्लाइडिङ निरन्तर चल्नुपर्छ ।’
म्तदाता भेटघाटमा उनले प्याराग्लाइडिङ विस्थापनको विरुद्ध आवाज उठाउने र सम्बन्धित ठाउँमा पैरवी गर्ने प्रतिबद्धता पनि जनाए । ‘सन् १९९६ देखि यहाँ प्याराग्लाइडिङ उडान सुरु भएको हो ।
सन् २००० देखि भने व्यावसायिक रुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका छन् । अहिले पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यसमा करिब डेढ अर्ब रुपैयाँको लगानी छ’, उनले भने, ‘यस विषयमा सबै गम्भीर भएर सोच्न आवश्यक छ ।’
प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विस्थापित हुने डरले व्यवसायी चिन्तित बनेका छन् । यो व्यवसायमा करिब ३ सय ७५ पाइलट आवद्ध छन् भने करिब २ हजारले रोजगारी पाएका छन् । पोखरामा ३ प्याराग्लाइडिङ फ्लाइङ स्कुल, ४ अल्ट्रालाइट कम्पनी र १ हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् ।
‘पछिल्लो समय साहसिक हवाई खेलकुदले पोखराको पहिचान थपेको छ । प्याराग्लाइडिङ व्यवसाय बन्द वा स्थानान्तरण हुँदा व्यवसायीलाई मात्रै होइन, समग्र पोखराको पर्यटन क्षेत्र नै तहसनहस हुन सक्छ’, उम्मेद्वार बरालले भने ।
आउँदो जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान गर्ने नागरिक उड्ययन प्राधिकरणको तयारी छ । त्यसअघि नै प्याराग्लाइडिङ कम्पनीलाई विकल्प खोज्न निर्देशन दिइएको छ । तर व्यवसायीले पोखराबाट प्याराग्लाइडिङ विस्थापन गर्न नहुने अडान राख्दै आएका छन् । उनीहरुले पोखराकै आकाशमा समय मिलाएर उडाउन पाउनुपर्ने माग राखेका छन् ।
उम्मेद्वार बरालले व्यवसायीको माग जायज भएकाले स्थानान्तरण गर्न नहुने बताएका हुन् ।
उनले फेवातालको नियमित सरसफाइ र यसको लाभ समान वितरणमा आफ्नो चासो रहेको सुनाए । ‘फेवाको घेरोमा फुट ट्रयाक बनाएर पर्यटकलाई घुमाउनुपर्छ ।
तालको सीमा रहेका सबै क्षेत्रले पर्यटकबाट प्राप्त हुने लाभको उपभोग गर्न पाउनुपर्छ,’ उनले भने, ‘ताल जोगाउने पनि हामी नै हो, यसको लाभ पाउने पनि हामीले नै हो ।’ पर्यटन क्षेत्र कोरोना र भूकम्प लगायत महामारीका कारण शिथिल बनेको भन्दै यसलाई उकास्न सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बरालको माग छ ।
तपाईको प्रतिक्रिया