सम्पादकीयः बिँड तात्यो, ताप्के चिसै

नेपाली उखान छ–ताप्के ताते पो, बिँड तातेर के हुन्छ ? यो उखान अहिलेको आम चुनावमा पनि चरितार्थ भएको छ । अहिले देशभर चुनावी रौनक छ । चुनावको रहलपहल उत्कर्षमा पुगेको छ । चुनाव त हुन्छ, तर के चुनावमा उठेका उम्मेदवार जितेर पदमा पुगेपछि उनीहरूले सार्थक क्रियाकलाप देखाउन सक्छन् ? नेपाल देश सानै भए पनि सयभन्दा बढी राजनीतिक दल खुलेका छन् ।
यतिका दल खुल्नुका पछाडि देश र जनताको हित होइन, दलका नेताहरूको स्वार्थपूर्ति मुख्य हो भन्ने छर्लाङ छ । आजसम्मको चुनाव नतीजाले यही देखाएको छ । यो कुरा राजनीतिक दलहरूका शीर्ष नेता, देशको बौद्धिक क्षेत्र र जनता सबैले बुझेका छन् । यसै कारण नयाँ अनुहारको जितबारे बहस हुने गरेको छ । तर पार्टीले ती मात्र अनुहार अगाडि सार्ने गरेको पाइन्छ, जो पुराना छन्, निरन्तर नेतृत्वमा छन् ।
एकातिर दलहरूलाई यो विश्वास छ कि पुरानाहरू मात्र नै जित्छन् । अर्कातिर दशकौंदेखि हैकम जमाएका नेताहरु सजिलै नयाँलाई अवसर दिन चाहदैनन् । दलहरूले नयाँ अनुहार नदिएपछि मतदाताले के गर्ने ? दलीय व्यवस्था भएको र चुनाव पनि दलीयताको आधारमा सरकार गठन, नीतिगत निर्णय देखि टोलसम्म काम हुने हुँदा यहाँ एक्लो मान्छेको दाल गल्दैन । दलकै पछि लाग्नुको विकल्प देखिँदैन ।
पार्टीले मतदाताले चाहेको उम्मेदवार कम दिन थालेका छन् । यस्तोमा परिवर्तन चाहनेहरुका लागि स्वतन्त्र उम्मेदवारी विकल्प बन्न सक्छ । तर यस्तो महंगो र तडकभडक पूर्ण चुनाव कुनै व्यक्ति वा उसको समूहमात्र परिचालित भएर जित्न कठिन छ । फेरि जितपछि पनि स्वतन्त्रले कि कुनै दलमै प्रवेश गर्नुपर्छ कि त चूपचाप गुनासा राख्दै बस्नुपर्छ । हरेक कुराको निर्णय दलीय आधारमा हुने हुँदा स्वतन्त्रहरुको अस्तित्व दलीय व्यवस्थामा निकै कमजोर हुन्छ ।
गएको स्थानीय तह निर्वाचनमा केही महत्वपूर्ण सहरमा स्वतन्त्र उम्मेदवारले जिते । त्यसलगत्तै आएको संसदीय र प्रादेशिक चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरु धेरै छन् । यसलाई राम्रो संकेत नै मान्नुपर्छ । तर यो भेल बिंड हो, ताप्केको बिंड । ताप्के भनेको मतदाता हो । परिवर्तनका लागि जनता नतातेसम्म केही हुँदैन । नयाँ अनुहारको कामना मतदाताले जति गरे पनि नेताहरू यथाशक्य पद छाड्दैनन् ।
नयाँ अनुहार उनीहरुका लागि जोखिम बन्छन् । जनतालाई, मतदातालाई, पार्टीका आफ्नै कार्यकर्तालाई रनभुल्लमा पारेर दलहरुले चुनावी गठबन्धन गरेका छन् । व्यक्ति परिवर्तन नभएसम्म, न शासन व्यवस्थामा परिवर्तन हुन्छ, न देशले काँचुली नै फेर्न सक्छ । कि मतदाताले एक पटक सरकार बनाउने हैसियतमा स्वतन्त्रलाई जिताउनुपर्छ कि दल नहेरी उम्मेदवार हेरेर मतदान गर्नुपर्छ, बल्ल दलहरुको चेत खुल्छ ।
तपाईको प्रतिक्रिया