हामी किन यहाँ छौं ?

भर्खरै मात्र वर्षका ठूला चाडबाडहरु सकिएका छन् । मौसमले तातोबाट चिसोको यात्रा सुरु गरेको छ । सँगसँगै सुरु भएको छ ठूलो राजनीतिक चाड । राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको पञ्च वर्षीय राजनीतिक उत्सव अर्थात प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन । ऋतुले शरद पार गर्दै हेमन्ततर्फको यात्रा सुरु गर्दै छ । गर्मी यामलाई धकेल्दै जाडो यामलाई स्वागत गर्न लाग्दै गर्दा सुरु भएको यो राजनीतिक गर्मीको यामलाई एकै छिन नियालौं ।
यो याम सपना देख्ने र देखाउनेहरुको याम, आश्वासनका पोकाहरु बाँड्ने र बोक्नेहरुको याम, बर्सौंसम्म सँगालेका कुन्ठा, रिस र गालीहरु पोख्ने र सुन्ने याम । कहिलै पूरा नहुने या भनौं पूरा नगर्ने सपनाहरुको पुलिन्दाहरु बेच्ने र किन्ने हरुको भिड लाग्ने याम । राजनीतिमा कसले कति ढाँट्ने र छल्ने कौशलता देखाउने, हेर्ने र मापन गर्ने याम ।
राज्य सञ्चालन प्रणाली यति धेरै भ्रष्ट र लथालिङ किन भयो । सत्तासीन ‘हामी यहाँ छौं’ वालाहरुलाई यी र यस्ता सवाल सोध्ने कि नसोध्ने ?
हातमा माइक समातेर विपक्षीलाई सुन्नै नसकिने आक्षेप, लाल्छना र गालीहरु नागरिकलाई सुनाउने र सुन्ने याम । तर सामान्य र सभ्य भाषामा भन्ने हो भने सामान्य जानताले पाँच वर्षका लागि आफ्नो शासक चुन्ने र चुनिने याम र राजनीतिक दल तथा तिनका नेताहरुको इमान्दारिता, नैतिकता र विश्वसनीयताको मापन हुने याम ।
तर आज यो लेख्मा चाहिँ हामी आगामी भन्दा पनि बितेका पाँच वर्षका केही राजनीतिक परिघटना, राजनीतिक दल तथा नेताहरुको केही क्रियाकलाप तथा विश्वसनीयता माथि थोरै चर्चा तथा विवेचना गरौं ।
पाँच बर्ष अघिको मात्रा कुरा हो । अविश्वास अरु भित्र झिनो विश्वास उमारेर नागरिकहरुले राजनीतिक स्थावित्व, सुशासन र विकासको आशा र सपना मनभरि उमारेर कम्युनिस्टहरुको गठबन्धनलाई दुई तिहाइ मत सत्ता सुम्पेको ।
हर गलत नियत र मनभरि अति अराजनीतिक कुन्ठाको पुलिन्दा बोकेर सहयात्राको ढोङ गरेका, राजनीतिक संस्कार र परिपाटी भन्ने चिजै नभएका सीमित व्यक्तित्वहरुको अति गैरराजनीतिक चरित्रले नागरिकका सपना तथा आशाहरुको कुन स्तरमा हत्या भयो र राजनीतिक स्थायित्वको कुन हविगत भयो ? घाम जत्तिकै छर्लङग छ ।
मौसम अहिले जस्तै चिसोत थियन। काठमाडौंमा गर्मी अझै बाँकी थियो तर त्योभन्दा गर्मी अझै बाँकी थियो तर त्यो भन्दा गर्मी नेकपा भित्र बढ्दै थियो । राजनीतिक कुन्ठाले अविश्वास र असहमतिको उकुसमुकुसहरु यति धेरै बढ्दै थियो कि त्यो ज्वालामुखी नै बनेर फुट्ने संघारमा थियो ।
निर्वाचित नेतृत्वलाई नमान्ने एक अर्का विरुद्ध उचाल्ने पछार्ने गैरराजनीतिक क्रियाकलाप, गुटउपगुटको घीनलाग्दो हर्कत, आन्तरिक पार्टी निर्वाचनमा हारेकाहरुको हारको कुन्ठा र इगो झ्यालबाट छिरेर मुल मान्छे बन्न नपाएकाहरुको अर्कै कुन्ठा र व्यवहारले नेकपा पार्टीको आन्तरिक जीवन लथालिंगको स्थितिमा थियो र पार्टी लगभग कागजमा मात्र सग्लो थियो । यता मौसम चिसिँदो थियो उता नेकपाको आन्तरिक राजनीतिक उम्लिँदै थियो ।
सामान्य हो उम्लिएपछि पोखिन्छ । पोखिनु नै थियो । पोखियो । तर आज हामी पोखिनुभन्दा अगाडिको होइन पोखिएपछिको कुरामा बहस गरौं । पार्टी भित्रको आन्तरिक विवाद अति चुलिएपछि, सम्हालेर समालिनसक्नु भएपछि या भनौं पानी नाकको तह भन्दा माथि आइपुग्न लागेपछि निर्वाचित राष्ट्रिय सरकार र पार्टी सरकारको अस्तीत्वनै संकटमा परेपछि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बाध्यताबस संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरिदिए ।
कमरेड ओलीको त्यही कदमलाई असंवैधानिक संज्ञा दिएर नेकपाका कुन्ठित नेता आफ्ना कार्यकर्ता र कथित केही नागरिक अगुवा भनिने पात्रहरुलाई अघि लगाई सडक आन्दोलनमा गएका थिए । काठमाडौं माइतीघर मण्डला जहाँ देशभरिका जायज, नाजायज, समर्थन, विरोध, राजनीतिक, अराजनीतिक, शाही गलत सबै खाले आवाजहरु मुखरित हुने ठाउँ । सडकदेखि महलमा आसिन हुनेहरुको आवाज सुन्ने सुनाउने ठाउँ।
त्यही देखिएको थियो यो टिठ लाग्दो प्रहसन जसको शीर्षक थियो ‘हामी यहाँ छौं’ । कोरोना महमारिको समय, भर्खरै खुलेको सहर, बजार अनि सार्वजनिक संसाधनहरु, मुखमा मास्क लगाएका छातीमा एफोसाइजको सेतो कागजको पन्ना टासेर एकथरी नेताहरु भुइँमा पलेँटी कसेर बसेका थिए अनि त्यही छातीमा टासेको कागजमा लेखिएको थियो कालो अक्षरमा ‘हामी यहाँ छौं’ पछाडि कार्यकर्ताको भिडसँग सायद पलेँटी नै मारेर बसेको थियो, चरम निरासा, आबेग अनि कुन्ठा । दायाँबायाँ रमाइलो मान्दै हेर्न रमितेहरु छँदै थिए नेपाली कांग्रेसको रुपमा ।
समयको त्यो कुइरो यता छेवैको बागमती खोलामा धेरै पानी बगिसक्यो साथसाथै राजनीति खोलामा पनि । बागमतीमा जस्तै राजनीतिको खोलामा पनि धेरै भेलहरु बगे। तिनै राजनीतिक भेलहरुमा सत्ता स्वादमा पुगेको कति महिना कति दिन भयो त्यो हिसाब समयले राख्ला नरख्ला तर प्रश्न आम जनता चाहिँ कहाँ पुगे त ? त्यस अवधिदेखि यस् अवधिसम्म आइपुग्दा आम नागरिकको सामान्य आधारभुत आवश्यकताको सवालमा, जनजीविकाको सवालमा यिनिहरुले ‘हामी यहाँ छौं’ भनेको सायदै सुनियो ।
‘हामी यहाँ छौं’ को माइतीघरवाला प्रहसन पछी त्यो सेतो कागज त्यही मिल्कएर छेवैको सिंहदरबार पुगेकाहरु चिल्ला गाडीहरुमा झन्डा हल्लाउँदै त्यही बाटा हुँदै दैनिक कुद्छन तर त्यही माइतिघर मण्डलाले मागेको, पुकारेको कुरा सुन्ने फुर्सद उनीहरुलाई सायदै छ । उनीहरु हिँडेपछिको माइतीघरमा नयाँ नयाँ प्लेकार्डहरु बोकेर नयाँ नयाँ निहित अनुहारहरु केही न केही माग्दै सधैं उभिनैरहेका छन् ।
कोही न्यायको खोजीमा, कोही अन्यायको विरुद्धमा त कोही अधिकारको आशामा । त्यही मण्डलामा मिटर ब्याज पीडितहरु देखिए, चितवन माडीका भूमिहीनहरु देखिए । चिनीमिलबाट पीडित उखु किसानहरु देखिए । बलात्कार पीडित कुमारी आमा निहारिका राजपुत देखिइन्, बैंकको ब्याजले पीडित व्यवसायीहरु देखिए न्यायको भोक्मा सरकार र सत्ता कहाँ छ भनेर हेर्ने अभिलाशामा ।
उनीहरुले बोकेको प्लेकार्डहरुमा ‘हामी यहाँ छौं’ बाहेक धेरै कुराहरु लेखिएको होला तर उनीहरुले सारमा भन्न खोजेको कुराचाहिँ त्यही नै हो हामी पनि सदियौंदेखि नै त्यही नै छौं न्यायको आशामा, जीवन जिउने शाहजताको आशामा अनि ‘हामी यहाँ छौं’ भनेर पलेँटी कसेर बसेका हरुले आफ्नो पनि कुरा सुनिदेलान् भन्ने आशामा । तर बिडम्बना उनीहरुको कुरा सुन्न कोही हामी यहाँ छौं भन्दै आएको कहिल्यै सुनिएन, देखिएन । न त ती निरीह अनुहारलाई तिमीहरु कहाँ छौ भनेर सोध्न खोज्न कोही आएको नै देखियो ।
अब एकैछिन आम नागरिकहरुको जनजीविकातिर हेरौं । ‘हामी यहाँ छौं’ वाला प्रहसनपछिको महिना हरुलाई नियलौ। धेरै भएकै छैन नागरिकअको चुल्होमा बल्ने ग्यास १४५० बाट १८०० रुपैयाँ पुग्यो । ६०÷६५ रुपैयाँ किलो पर्ने चामल अहिले कति पर्छ ? २३० रुपैयाँको सूर्यमुखी तेल प्रतिलिटर ३५० पुग्यो । १३५ रुपैयाँको मुसुरोको दाललाई १७५ रुपैयाँ भन्दा बढी हाल्नुपर्छ । आम नागरिकको जन जीविकाको सवालसँग जोडिएका यी र यस्तै आधारभूत उपभोग्य वस्तुहरुको बजार भाउ छोइनसक्नु गरी उकालो ग्राफमा कसरी लाग्यो कस्लाई सोध्ने ?
‘हामी यहाँ छौं’ भनेर माइतीघर मण्डलामा पलेँटी कसेर बसेकाहरु नै अहिले सिंहदरबारको सत्तमा छन् । सरकारी सूचना चुहाएको कथित आरोपमा गभर्नरलाई बर्खास्त गरेका सेवा निवृत्त सामान्य कर्मचारीहरुलाई अर्थ मन्त्रालय सुम्पेका अनि मन्त्रालयभित्रै सिसी टिभीको तार काट्ने मुसा पालेका अर्थमन्त्री छन् । मनलाग्दी घटुवा, बढुवा र सरुवामा तल्लीन मन्त्रीहरु छन् ।
हुँडारले जस्तै आफ्नो र आसेपासेका भुँडी भर्न तँछाडमछाड गर्दै मन्त्रालय छिर्न लाइन लागेर बसेका नेताहरु छन् कस्लाई कहाँ भगबन्डा पुगेन कस्ले कुन पद पाउदा न्याय भयो नपाउँदा अन्याय भयो, कहाँ बाट कती कमिसन आयो भनेर हिसाब किताब गर्न क्याल्कुलेटर लिएर बसेका शीर्षस्थ भनिने नेताहरु छन् ।
आफ्नो बाबुको अंशमा आएको जसरी परिवारको नाममा ट्रस्ट बनाउँदै बजेट बाँड्ने प्रदेश सरकारहरु छन् । तर देश देश कहाँ छ, नागरिक कहाँ छन्, सरकार कहाँ छ, कहाँ खोज्ने ? बर्सेनी बढ्दै गइरहेको सामाजिक रिणको थुप्रोमा खोज्ने कि कोरोनादेखि डेंगी महमारी सम्ममा भोगेको कमजोर स्वास्थ्य प्रणालीमा खोज्ने काठमाडौंमा थुप्रिएको फोहोरको डंगुरमा खोज्ने कि बाढी पहिरोले उजाडिएका बस्तीहरुमा खोज्ने ।
बाली लगाउने बेलामा मल र बिउबिजन नपाएको हतास किसानको अनुहारमा खोज्नेकी बजार भाउ नपाएर बारीमै कुहिएको तरकारी रुंगेर बसेको निरास किसानको पीडामा खोज्ने मल्टी नेसनल कम्पनीहरुको गोदाममा थुप्रिएको बजारमा जान ठिक्क परेका म्याद गुज्रिएको अखाद्य वस्तुको थुप्रोमा खोज्ने कि हरेक महिना भारतीय नाकाबाट भित्रिने अर्बौंको विषाक्त तरकारीको थुप्रोमा खोज्ने टाट पल्टियर डुब्न लागेको अर्थतन्त्रको ग्राफमा खोज्ने ?
कि सुन्दामात्रा कोमामा पुगिने बैंकको ब्याजदरहरुमा खोज्ने अहिले छोडेर गएको यति कम समयमा नै आधारभूत आवश्यकताको सामानहरुको बजार भाउ किन यति धेरै आकासियो भनेर खोज्ने ? नागरिकका जनजीविकाका सवालहरुको सबोधन यति धेरै लथालिंग किन भए ? सरकार र सत्ता यति धेरै दिशाविहीन किन भए ? राज्य सञ्चालन प्रणाली यति धेरै भ्रष्ट र लथालिङग किन भयो । सत्तासीन ‘हामी यहाँ छौं’ वालाहरुलाई यी र यस्ता सवालहरु सोध्ने कि नसोध्ने ? अझै भनौं सोध्न पाइने कि नपाइने ? कि सोधदा पतिगमनको मतियार भइने हो ।
अन्त्यमा ‘हामी यहाँ छौं’ को माइतीघर मण्डलावाला प्रहसनहरु जस्तै प्रहसन हरु अब गाउँ घरमा देखिने छन् । चुनावी दौडधुपको कारण अब हरेक गाउँका चौताराहरुमा, गल्लीहरुमा, चोकहरुमा, चिया पसलहरुमा नागरिकका घर घरमा कसमा खाइरहेका मेला पातमा कुटो कोदालो हसिया समाइरहेका आश्वासन र सपनाका पुलिन्दाहरु बजिरहेका जम्ला हात जोडेर नमस्कार गरिरहेका, ढोगिरहेका रमाइला प्रहसनहरु देख्न पाइने छ । भोटको अंकगणितीय गिन्तीले टुटेका, फुटेका, जुटेका अनेक गथबन्धनहरु विकास र सुशासन भन्दै जम्ला हात जोड्दै आइनै रहनेछन् ।
नीति र सिद्धान्तको श्लोकहरु भट्ट्याइनै रहनेछन् । तर नागरिकको जनजीविकाको आधारभूत आवश्यकताभन्दा ठूलो कुनै नीति र सिद्धान्त हुँदैन । गास, बास कपास र स्वास्थ्यको सहज उपलब्धता र सम्बोधनभन्दा ठूलो अग्रगमन अरु कुनै हुँदैन ।
बाँकी रह्यो अग्रमन र प्रतिगमनको कुरा इतिहासले डामेका, भ्रस्टाचार र कुशासनको आहलमा शिरसम्म डुबेका, संविधान लगेर दरबारमा बुझाउनेदेखि पाउमा दाम चढाउनेसम्मका, टाउकोको मोल तोक्नेदेखि तोकिएका, सत्ता र शक्तिभन्दा बाँकीका सबै कुरा गौण हुन भन्ने मुल मन्त्र बोकेकाहरुले अग्रगमन र सुशासनको नारा लगाएको नत सुन्दा राम्रो सुनिन्छ नत बोल्दा राम्रो देखिन्छ । बाँकी कुरा नागरिकले निर्धारण गर्लान, समयले निर्धारण गर्ला, हेरौ हेर्दै जाऊँ ।
तपाईको प्रतिक्रिया