पोखरा म्याराथन तयारी सुरु, प्रथम पुरस्कार ५ लाख

समाधान संवाददाता २०७९ मंसिर १ गते ११:२१

पोखरा ।
नेपाली अग्रज खेलाडीको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ६ गते शनिबार हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको मञ्चले जनाएको हो ।

१७ औं संस्करणमा पोखरा म्याराथनको पुरस्कारमा समेत वृद्धि गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन् । म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुस्कार राशि यो वर्ष १ लाख बढाइएको छ ।

म्याराथन ४२.१९५ किमितर्फ नै दोस्रो, तेस्रो र सान्त्वनासम्म सबै पुरस्कार राशि बढाइएको छ । दोस्रो, तेश्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार छ भने गण्डकी प्रदेशतर्फका विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्ने छन् । गण्डकी प्रदेशतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

Advertisement

हाफ म्याराथन महिलातर्फ समेत पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथनतर्फ प्रथमले १ लाख ५० हजार, द्वितीयले १ लाख, तृतीयले ७५ हजार र सान्त्वना हुनेले १५ हजार पाउने छन् । म्याराथन अन्तर्गत नै हुने १० किमी महिला तथा पुरुष दौडका विजेताले क्रमश प्रथम हुनेले नगद ३, द्वितीय हुनेले नगद २० र तृतीयले १५ हजार प्राप्त गर्ने छन् ।

कार्यक्रम अन्तर्गत नै विद्यालयस्तरीय छात्र/छात्रा दौडको समेत पुरस्कार राशि बढाइएको छ भने ह्विल चियर महिला पुरुष तथा दृष्टिविहीन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशि बढाइएको मञ्चले जनाएको छ ।

Advertisement

गत केही संस्करणमा कोभिड १९ का कारण फरक फरक मितिमा पोखरा म्याराथन आयोजना हुँदै आएकोमा यो पटक भने सबै इभेन्ट एकै पटक एकै समय फागुन ६ गते शनिबार नै हुने छन् ।

‘पुरस्कार राशिमा समेत भारी वृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई आकर्षण बढाउनेतर्फ मञ्चको ध्यान केन्द्रित गरिएको बताउँदै उनले थपे, ‘वर्ष १६ औं संस्करणको कुल पुरस्कार राशि नगद १२ लाख २६ हजार थियो । तर अब पुरस्कारतर्फ कुल नगद १७ लाख ५२ हजार पुर्‍याएका छौं ।’

योसँगै म्याराथनतर्फ दौड पुरा गर्नेलाई १ सयजना, हाफ म्याराथनतर्फ ५० जना, १० किमी पुरुषतर्फ २ सय जना महिला १० किमितर्फ १ सयजना र छात्र–छात्रासमेत गरी करिब एक हजार मेडलका साथमा ईप्रमाण पत्रसमेत वितरण गरिनेछ ।

पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रियासमेत अघि बढाइएको छ । म्याराथन सफल बनाउन अध्यक्ष पराजुलीको मुल संयोजकत्वमा २२ सदस्यीय विभिन्न समितिसमेत गठन गरिएको महासचिव कृष्ण तिमिल्सिनाले बताए ।

पोखराको प्रतिष्ठित उद्योगमध्ये एक सुजल डेरीको उत्पादन सफल दुध मुख्य प्रायोजक छ ।

तपाईको प्रतिक्रिया