निर्वाचन विशेष
जनताका चाहना नै मेरा एजेन्डा

अहिले उम्मेदवार, पार्टी नेता, कार्यकर्तादेखि स्वतन्त्र उम्मेदवार, शुभेच्छुक र आम नेपालीलाई नै चुनाव लागेको छ । कास्की २ (१) मा सत्ता गठबन्धनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट म उम्मेदवार बनेको छु ।
पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र फेवातालको जग्गा छानबिन समितिको संयोजक हुँदा ऐतिहासिक तवरले काम गर्ने अवसर मिलेको थियो । अब प्रदेशसभा सदस्य निर्वाचित भएपछि पनि त्यसै गरी प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने प्रण गर्दछु ।
जनताको परिवर्तनको चाहना नै मेरा एजेन्डा हुन् । नेपाली जनता हरेक पल्ट परिवर्तन चाहन्छन् । त्यसैले परिवर्तनको जित हुन्छ भन्ने जनमत छ । मसँग पोखरा कस्तो बनाउने भन्ने भिजन छ । मैले कति काम गरेको छु, मतदाताले मूल्यांकन गर्नुभएको छ ।
आगामी दिनमा म आफ्नो स्पष्ट कार्ययोजनाका साथ अघि बढ्छु । मेरो पहिलो एजेन्डामा सुशासन हो । नेपाली जनताले करिब सात दशकसम्म अनवरत रुपमा संघर्ष गरेर संघीय लोकतान्त्रिक गणतन्त्र बनेको छ । अझै पनि भ्रष्टाचार कम भएको छैन ।
आर्थिक पारदर्शितासहितको सुशासन जनताको मुख्य अपेक्षा हो । सँगसँगै निम्न, मध्यम वर्गका जनताको समृद्धि र जीवनस्तरमा कसरी परिवर्तन गर्ने मेरो मुख्य सरोकार हो ।
प्राकृतिक रुपले सुन्दर पोखरालाई उचित पूर्वाधार बनाएर नमुना पर्यटकीय स्थल बनाउनु जरुरी छ । अहिले म पाँच दलीय गठबन्धनको साझा उम्मेदवार छु, जितपछि सबैको साझा जनप्रतिनिधि बनेर गण्डकी प्रदेशलागि आवश्यक उत्कृष्ट ऐन, कानुन निर्माणमा लाग्नेछु ।
तपाईको प्रतिक्रिया