संसदमार्फत सरकारलाई खबरदारी

मेरो मुख्य प्राथमिकता पर्यटन र कृषिमैत्री वातावरण बनाउन सरकारलाई झक्झक्याउने हो । त्यसबाहेक मजदुर, खेलकुद, युवा, महिला, उत्पीडित लक्षित उद्यमशीलता, रोजगार, भैतिक पूर्वाधार, व्यावहारिक शिक्षा र स्वास्थ्य जनताको पहुँचमा पुर्याउन संसदमार्फत सरकारलाई खबरदारी गर्ने एजेन्डासहित म अहिले चुनावी मैदानमा छु ।
कास्की क्षेत्र नम्बर ३ मा पर्यटक भुल्ने अधिकांश ठाउँ र गाउँ पर्छन् । यी गन्तव्यमा पर्यटकको आगमन कसरी बढाउन सकिन्छ, सरकारले त्यसमा के भूमिका खेल्न सक्छ भन्ने खोजी र सरकारमार्फत ती योजना कार्यान्वयन गर्न चाहन्छु । पर्यटनको बसाइँ लम्ब्याउन फेवाताल आउने पर्यटकलाई कास्कीकोटदेखि पञ्चासेसम्म लैजान आवश्यक छ ।
काम पाउन कम रकममा ठेक्का लिने र गुणस्तरहीन काम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ भन्ने पक्षमा म छु । त्यसका लागि कानुन संशोधनको पक्षमा उभिने र राम्रो काम गर्नेलाई विकास निर्माणको काममा संलग्न गराउने योजना छ । गुणस्तरीय काम होस्, ठेक्का लिने, काम गर्ने सबैको जीवन चलोस् भन्ने पक्षमा म छु ।
सर्वदलीय समन्वयको आधारमा जनताका समस्या समाधान गर्नुपर्छ भन्ने मलाई लाग्छ । । जस्तैः कुनै ठाउँमा जनताले केही समस्या भएको गुनसो गरे त्यसलाई सबै दल मिलेर समाधान गर्ने विकल्प खोज्ने गरी अघि बढ्नुपर्छ । माननीयलाई खोज्दै हिँड्न नपरोस् ।
जुन पार्टीबाट निर्वाचित भएको हो, त्यही पार्टीको टोल कमिटीमा फाइल बुझाएपछि माननीयसँग पुग्ने खालको व्यवस्था गर्नुपर्छ । स्थानीय अरू दलको नेता पनि त्यसमा सहभागी हुनुपर्ने अर्थात् सर्वदलीय, सर्वपक्षीय अवधारणामा काम होस् भन्ने पक्षमा म छु ।
तपाईको प्रतिक्रिया