मंसिर २२ सम्ममा निर्वाचनकाे अन्तिम नतिजा

समाधान संवाददाता २०७९ मंसिर २ गते १०:४५

काठमाडौं ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको व्यवस्थापकीय लगायत सुरक्षाका सवै तयारी पूरा भएको जनाएको हो ।

Advertisement

निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने र चुनावी प्रचार गर्न नपाइने आयोगले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाइने, प्रचारप्रसार गर्न नपाइने बताए ।

मतगणनाको काम नभएसम्म सभा, जुलुस लगायतका प्रचारप्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने उनले बताए । निर्वाचनमा १ करोड ८८ लाख ७९ हजार ५ सय ७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्ने थपलियाले जानकारी दिए । उनले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगायत कुनै पनि निर्वाचन विरोधी कामलाई रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताए ।

निर्वाचनमा मतदाताभन्दा बढी मत नहुने भन्दै थपलियाले अस्वभाविक मत खसेको पाइए पुनः निर्वाचन गराउने स्पष्ट पारे । त्यस्तै, थपलियाले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने र मंसिरको २२ गतेसम्म अन्तिम नजिता लिएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको रहेको जानकारी दिए ।

आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ७ हजार २ सय १९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४ सय १२ र २ हजार १ सय ९९ समानुपातिक गरी कुल ५ हजार ६ सय ३६ उम्मेदवार बन्दसूचीमा छन् । प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २ सय २४ र समानुपातिकतर्फ ३ हजार ७ सय ८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया