मन्त्री पद गएपछि खड्काः मुख्यमन्त्रीलाई धम्की, कानुन मन्त्रीको आलोचना

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार कुमार खड्कालाई भौतिक पूर्वाधार मन्त्री पदबाट बर्खास्त गरे । गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन र सरकार बनाएपछि सरकार सञ्चालनमा सबैभन्दा अघि रहेर काम गरेका खड्का बर्खास्त हुनु धेरैका लागि आश्चर्यजनक थियो । खड्काले आसन्न निर्वाचनमा कास्की २ (२) बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार बिन्दु थापालाई असहयोग गरेकाले बर्खास्त भएको धेरैले लख काटे ।
खड्कालाई मुख्यमन्त्री पोखरेलले सोमबारमात्रै बर्खास्त गरे पनि उनीहरुको सम्बन्ध भने पहिल्यै चिसिइसकेको थियो । निर्वाचनका बेला थापालाई असहयोग गरेको रिपोर्ट केन्द्रमा गएको र पहिल्यैबाट सम्बन्ध चिसिएकाले उनी बर्खास्त भएका हुन् ।
महिनौंअघि मुख्मन्त्री पोखरेल र खड्काबीच व्यक्तिगत टकराब सुरु भइसकेको थियो । खड्काले सरकार गठन, सञ्चालनमा आफ्नो ‘रोल’ बढी भएको भन्दै मुख्यमन्त्रीमाथि आफ्नो इच्छा लाद्न थालेपछि यी दुईबीच मनमुटाव सुरु भएको बताइन्छ । ‘उहाँहरुको सम्बन्ध चिसिइसकेको थियो, कुनै निर्णय गर्नुपरे पनि मुख्यमन्त्रीलाई नै जितेर गराउन खोज्ने, आफ्नै कुरा माथि तान्न खोज्ने प्रवृत्ति खड्काजीमा देखिएको थियो,’ मन्त्रिपरिषद्का एक सदस्य भन्छन् ।
मुख्यमन्त्रीले राख्न चाहेका योजना पनि काटेर अरु–अरु योजना राख्ने गरेपछि खड्का र मुख्यमन्त्रीबीच ‘टसल’ले तीव्रता पायो । मुख्यमन्त्रीले विश्वास पात्र मानेर बजेट निर्माणदेखि सरकारका निर्णय लिँदा खड्कालाई प्राथमिकता दिएपनि खड्काले त्यसको गलत फाइदा लिएको बताइन्छ । ‘बजेट बनाउन दिने, ठूलो पद दिने त विश्वास गरेर नै हो । बहुवर्षे योजना बनाउन चाहे पनि खड्काजीले ती योजनालाई टुक्रे योजना बनाउन खोज्नुभएको हो,’ उनले थपे ।
मुख्यमन्त्रीसँग मात्र नभई खड्काको सम्बन्ध अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ र पूर्व अर्थसचिव बैकुण्ठ अर्यालसँग पनि राम्रो थिएन । बजेट निर्माणका कुरामा बेमेल भएपछि अर्यालमाथि अर्थ मन्त्रालयमै खड्काले भनाभन गरेको बताइन्छ । अर्थमन्त्री र खड्काको पनि झगडा हुन थालेपछि नै करको दर हेरफेर गर्ने विषयको छलफलमा यी दुई मन्त्री सँगै बस्नै नचाहेको स्रोत बताउँछ ।
यो कुरा खड्का स्वयं स्वीकार्छन् । बिहीबार पत्रकार सम्मेलन गरेका खड्काले कार्यक्रममा भने, ‘पछिल्लो समय केही विषयमा मुख्यमन्त्रीसँग सम्बन्ध राम्रो भएन । पूर्व पदाधिकारीलाई सेवा सुविधा दिनेदेखि माइतीघाट (नवलपुरको) पुल निर्माणका कुरामा बेमेल देखियो ।’
मन्त्रीबाट बर्खास्त भएपछि उनले आफूसँग राजीनामा मागेको भएपनि दिएर हिँड्न सक्ने बताए । तर व्यक्तिगत कारण मन्त्रिपरिषद् छाड्नुले गलत सन्देश जाने भन्दै राजीनामा नदिएको स्पष्टोक्ति दिए । ‘भनेको भए मैले राजीनामा नै दिन्थें, फेरि १० दिन बाँकी हुँदा राजीनामा दिएर ठूलो बन्यो भन्ने सन्देश जाने भएर राजीनामा दिइनँ,’ उनले भने, ‘म वेस्ट मिनिस्टिरिएल सिस्टम मान्छु, मुख्यमन्त्रीका निर्णसँग सहमति नभए राजीनामा दिनुपर्छ भन्ने थाहा छ ।’
उनले आफू अहिले मन्त्रीबाट बर्खास्त हुनुको कुनै कारण नै नदेखेको बताए । आफूलाई बर्खास्त गर्नुको कारण चुनाव लगत्तै मुख्यमन्त्रीले नदिए मुख्यमन्त्रीका ‘सनसनी’ अडियो÷भिडियो सार्वजनिक गर्ने धम्कीसमेत दिए । ‘मलाई बर्खास्त गर्नुको कारण नदिए मसँग त्यस्ता केही अडियो भिडियो छन्, जसलाई तपाईंहरु (पत्रकारहरु)ले सनसनी भन्नुुहुन्छ त्यसलाई बाहिर ल्याउँछु,’ खड्काले भने ।
उनले मुख्यमन्त्रीलाई चेतावनीपूर्ण धम्कीमात्र दिएनन्, कानुन मन्त्री बिन्दु थापाको आलोचना र विरोधसमेत गरे । मन्त्री थापाले आफ्नो निजी जग्गामा लगेर सरकारी बजेट हालेको, सरकारी बजेटलाई आफ्नो फाइदा हेरेर बाँडेको आरोप खड्काले लगाएका छन् । पोखरा १४ खसीबजारबाट बिपीमार्ग जाने बाटोमा ९५ लाख रुपैयाँ बजेट हालिएको र त्यहाँ बजेट हाल्नुमा उनको निजी प्लटिङ जग्गा कारक रहेको खड्काले बताए ।
यस्तै अन्नपूर्ण गाउँपालिकामा २ सय रोपनी जग्गा किनेपछि मन्त्री थापाले त्यहाँ पनि सरकारी बजेट हालेको खड्काले आरोप लगाए । ‘म यहाँ अहिले कुनै मिथ्या दुष्प्रचार गरेको छैन, मसँग उहाँले मुख्यमन्त्री र अर्थमन्त्रीलाई सम्बोधन गरेर लेख्नुभएका पत्र पनि छन्,’ उनले भने ।
टिकट नपाउँदा आफूलाई दुख नलागे पनि टिकट वितरणका दिन आफूमाथि कांग्रेस नेतृत्वले अपमान गरेको खड्काको भनाइ थियो । ‘टिकट वितरण हुने दिन हामी सबै बालुवाटारमा गएका थियौं । त्यो दिन पनि हामीहरु रातभरि बाहिर बस्यौं,’ खड्काले भने, ‘शीर्ष नेताले कसले पाउँछ भनिदिएको भए कसैले दुख पाउने थिएनन् तर शीर्ष नेताको स्पष्ट नीति नहुँदा सबैको अपमान भयो ।’








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया