भविष्य सोचौं, सही उम्मेदवार रोजौं

समाधान संवाददाता २०७९ मंसिर ४ गते ७:५४

सम्पादकीय

आज लोकतान्त्रिक व्यवस्थाको मुख्य दिन, मतदान गर्ने दिन । आगामी ५ वर्ष देश कसलाई चलाउन दिने भन्नेमा यही मतदानले निक्र्याेल गर्छ । प्रतिनिधितर्फ १६५ प्रत्यक्ष, ११० समानुपातिक र प्रदेश सभातर्फ ३३० प्रत्यक्ष, २२० समानुपातिक प्रतिनिधि चुन्नका लागि मतदान हुँदै छ । आगामी ५ वर्ष देशलाई कसको जिम्मामा दिने भन्ने निक्र्यौल आजको मतदानबाट हुनेछ । निर्वाचनका चरण र प्रक्रियाका धेरै काम निर्वाचन आयोग, सरकार, राजनीतिक दलहरूले गरेका छन् । मतदाताले अब असल उम्मेदवारलाई मत दिने प्रमुख काम आज गर्नुछ ।

नेपालमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । मतदाता निर्वाचनमा टाढिएको तथ्यांकले देखाउँछ । त्यसकारण सतप्रतिशत मतदाता मतदानमा सहभागी भए भने पनि निर्वाचन सार्थक हुन्छ । यसो त मतदाताको निर्वाचनप्रति उत्साहमा कमी आउँदा मत खसाल्ने मतदाता बढाउन निर्वाचन आयोगलाई चुनौति छ ।

निर्वाचनमा भाग लिनु मतदाताको अधिकार र कर्तव्य दुवै हो । लोकतान्त्रिक व्यवस्था ल्याउन धेरै नेपालीले संघर्ष र बलिदान गर्नु परेको छ । साना संघर्षले नेपाली नागरिकलाई मतदानको अधिकार प्राप्त भएको होइन । मतदानमार्फत असल प्रतिनिधि चुनेर राज्य सञ्चालनलाई उत्तरदायी र विधिसम्म बनाउनु मतदाताको कर्तव्य हो । सधै आलोचनाको केन्द्रको प्रदेश सभा र प्रतिनिधि सभा, यसलाई व्यवस्थित गर्न मतदानमा मतदाता सचेत हुनुपर्छ । संघीयता आएपछिको पहिलो प्रतिनिधिको कार्यकाल सकिँदै गर्दा प्रदेश संरचनामा धेरैथोरै प्रश्न उठे, जुन स्वाभाविक र जायज थिए । यद्यपि प्रदेशिक संरचनाबाट पनि जनताको धेरै काम भएका छन् । अझै प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्रीत हुनुपर्छ ।

Advertisement

मतदाताले उम्मेदवारको विगत र वर्तमान मात्रै नहेरी भविष्यको आकलन पनि गर्न सक्नुपर्छ । सोही आधारमा भविष्यका लागि जनप्रतिनिधि चुन्नुपर्छ । विगतमा जनताबाट निर्वाचित प्रतिनिधिले जनताका फाइदाका लागि भन्दा पनि आफ्नो फाइदाका लागि राज्यकोषमा दुरुपयोग गर्ने गरेका उदाहरण भेटिए । यसर्थ यस्ता खालका अतिविधि हुन नदिन जनता मतदानमा सचेत हुनुपर्छ ।

जनताले निर्वाचन जित्न पैसाको खोलो बगाउने, बल प्रयोग गर्ने वा अनेक हतकण्डा अपनाउने उम्मेदवारलाई पहिचान गर्न सक्नुपर्छ । मतदान गोप्य हुन्छ । गोप्य मतदानको उद्देश्य नै मतदाताले कसैसँग सम्झौता गर्नु नपरोस् भन्ने हो । मतदाताले कुनै डर, धाक, धम्कीका अघि सम्झौता गर्नुपर्ने कुनै कारण छैन । त्यस कारण देशको भविष्य सुन्दर बनाउने सक्षम उम्मेदवार रोजेर मतदान गरौं । जसले देशलाई भविष्यमा सक्षम, सबल र आत्मनिर्भर बनाउन सकून् ।

Advertisement

तपाईको प्रतिक्रिया