सम्पादकीयः विमानस्थलमा परीक्षण उडान

समाधान संवाददाता २०७९ मंसिर ७ गते १३:४६

निर्माणपछि सञ्चालनको क्रममा रहेको पोखरा क्षेत्रीय विमानस्थलमा परीक्षण उडान भएको छ । चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा निर्माण भएको विमानस्थलमा एरो थाई जहाजले एक हप्तासम्ममा परीक्षण उडान गर्ने छ । निर्माण कम्पनीका तर्फबाट चिनियाँ सरकारले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । पर्यटकीय राजधानी पोखरामा नवनिर्मित तथा नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले सन् २०२३ जनवरी १ (पुस १७)देखि व्यवसायिक हिसाबले सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजले परीक्षण उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेका विषयमा जाँच गर्नेछ । पोखरा विमानस्थलको क्यालिब्रेसन उडान सकिएपछि उडान भरेको कम्पनीले बुझाएको प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको योजना छ ।

परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरूले अनुमति पाउनेछन् । त्यसपछि विमानस्थलबाट नियमित तथा व्यवसायिक उडान हुने छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराबाट भारतको बनारसमा पहिलो उडान गर्ने बुद्ध एयरको तयारी छ ।

Advertisement

काठमाडौंको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालित भएको ७० वर्षपछि नेपालले रुपन्देहीको भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको छ ।सोही कम्पनीले गत वर्ष फागुन ६मा गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गरेको थियो । सबै परीक्षण सफल भएपछि गौतम बुद्ध विमानस्थलले व्यवसायिक उडान थालेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले ०७३ साउन १८ गतेदेखि निर्माणको काम थालेको थियो । अहिले सम्पन्न भएर परीक्षण तथा व्यवसायिक उडानको तयारीमा आइपुग्नु पोखरा तथा समग्र गण्डकी प्रदेशको लागि गौरवको विषय हो । नयाँ विमानस्थलले पोखरा तथा आसपासको पर्यटन प्रवद्र्धनका अलवा अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने छ ।

Advertisement

विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइटका कारण परीक्षण उडान प्रभावित हुने भएपछि ल्यान्डफिल साइट ढाकेर चराजन्य गतिविधि कम गरिएको छ । तत्काललाई मंसिर ५ गतेदेखि ल्यान्डफिल साइटमा फोहोर नफाल्न आयोजनाले पोखरा महानगरलाई अनुरोध गरेको छ । त्यसैले पोखरा महानगरले अर्को वैकल्पिक व्यवस्था गरेर ल्यान्डफिल साइटलाई स्थानान्तरण गर्न ढिलाई गर्नु हुदैन ।

गत जेठ महिनादेखि सञ्चालनमा आएको तथा असार महिनादेखि नियमित र व्यवसायिक उडान भरेको गौतमबुद्ध विमानस्थलले धेरै एयरलाइन्स कम्पनीलाई आकर्षित गर्न नसकेपछि नेपालको उड्डयन नियामकले काठमाडौं विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने कम्पनीलाई केही उडान भैरहवामा सार्न दबाब दिइरहेको विवरण सार्वजनिक भएको छ ।

त्यस विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सलाई एक वर्षसम्म शुल्क मिनाह गर्ने योजना समेत ल्याउनु परेको छ । त्यसैले नयाँ पोखरा विमानस्थलले धेरै भन्दा धेरै एयरलाइन्सलाई आकर्षित गर्नको लागि अहिलेदेखिनै योजनाबद्ध ढंगले काम गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया