गठबन्धनले गण्डकीमा कांग्रेसलाई फलिफाप

सञ्जय रानाभाट २०७९ मंसिर ८ गते १०:२४

पोखरा ।
पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसलाई गण्डकीमा फलिफाप भएको छ । गण्डकीका १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३६ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ९ सिट प्रतिनिधि सभा र १० सिट प्रदेश सभा सदस्य जितिसकेको छ । जबकि, २०७४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १ र प्रदेश सभामा ६ सिटमात्रै जितेको थियो ।

अहिले भने माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलसँगको गठबन्धनले नेपाली कांग्रेसको अघिल्लो नतिजालाई उल्ट्याइदिएको छ । बुधबार साँझसम्म प्रतिनिधि सभातर्फ ९ क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा कांग्रेसले ६, माओवादीले २ र राष्ट्रिय जनमोर्चाले १ निर्वाचन क्षेत्रमा जित हात पारेका छन् ।

२०७४ मा प्रतिनिधि सभामा १ र प्रदेश सभामा ६ सिट जितेको कांग्रेसले अहिले भने आधा नतिजा आउँदा दोब्बर जित हाँसिल गरेको छ

Advertisement

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ बाट निर्वाचित भएका छन् । यो समाचार तयार पार्दासम्म गोरखा २ को अन्तिम मत परिणाम नआइसके पनि गन्न बाँकी मत भन्दा प्रचण्डले लिएको अग्रता बढी छ । १२ हजार मत गन्न बाँकी रहँदा प्रचण्डले उनका निकटम प्रतिद्वन्द्वीलाई १२ हजार ६११ मतले पछि पारेका छन् ।

मुस्ताङबाट प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन् । उनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गरे । गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत ल्याए ।

Advertisement

मुस्ताङसँगै नेकपा एमालेको बलियो क्षेत्र मानिएको मनाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि कांग्रेसले बाजी मारेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । टेकबहादुरले २ हजार ५७५ मत ल्याउँदा पोल्देनले २ हजार २४७ मत ल्याए ।

तनहुँ प्रतिनिधि सभा २ मा पनि एमाले किल्ला भत्काउँदै कांग्रेसका शंकर भण्डारी विजयी भएका छन् । भण्डारीले २०५१ यता एमालेको किल्ला मानिएको उक्त क्षेत्रमा जित हात पारेका हुन् । उनले एमालेका किरण गुरुङलाई पराजित गरेका हुन् । भण्डारीले ३० हजार ६ सय ४ मत ल्याउँदा गुरुङले २५ हजार १ सय ३० मत ल्याए ।

म्याग्दीमा पनि कांग्रेस उम्मेदवार खमवीर गर्बुजाले गन्न बाँकी मतभन्दा अग्रता बढी लिएका छन् । यो समाचार तयार पार्दासम्म २ हजार ७ सय ५ मत गन्न बाँकी हुँदा गर्बुजाले त्यहाँ ३ हजार ७ सय ३४ मतको अग्रता लिएका हुन् । यस्तै गोरखा १ मा पनि नेपाली कांग्रेसको जित निश्चित भइसकेको छ । बजगाईंले गोरखा २ मा एमालेका रामशरण बस्नेतलाई १६ हजार ५ सय ९२ मतले पछि पारेका छन्, जहाँ ६७ सय मत गन्न बाँकी छ ।

यस्तै, बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्य पाठकलाई पराजित गरेका हुन् । केसीले २१ हजार ४ सय ५१ मत ल्याउँदा पाठकले १८ हजार ८ सय २५ मत ल्याए ।

प्रतिनिधि सभा झैं प्रदेश सभा निर्वाचनमा पनि हालसम्म नेपाली कांग्रेसले नै अग्रता बनाएको छ । नेपाली कांग्रेसले हालसम्म गण्डकीका १० वटा क्षेत्रमा जित निकालेको छ । यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ६ सिटमात्र जितेको कांग्रेसले अहिलेको निर्वाचनको आधा मत परिणाम आउँदा १० सिट जितिसकेको छ ।

कांग्रेसले बागलुङका ४ प्रदेश सभा निर्वाचन क्षेत्रमा क्लीन स्विप गरेको छ । बागलुङसँगै कांग्रेसले मुस्ताङका २ प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि क्लीन स्विप गर्दा गोरखामा पनि २ सिट प्रदेश सभामा जितेको छ । यस्तै तनहुँ २ (२) र मनाङ १ मा पनि कांग्रेसले जितेको छ ।

नेकपा एमालेले प्रदेश सभामा ६ सिट जितेको छ । एमालेले कास्की २ (१), तनहुँ २ (१), नवलपुर २ (१), नवलपुर २ (२), कास्की ३ (१) र कास्की १ (२) मा जित निकालेको छ । गोरखा १ (१), म्याग्दी १ (२), तनहुँ १ (२) मा माओवादीले जितेको छ । नेपाल समाजवादी पार्टीले गोरखामा २ (१) मा जितेको छ । स्वतन्त्रबाट उठेका दीपक मनाङे मनाङ २ बाट यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया