सम्पादकीयः मतदाताको सम्मान गर

समाधान संवाददाता २०७९ मंसिर ८ गते १२:१३

आम निर्वाचनको प्रारम्भिक नतिजाले फरक संकेत गरिरहेको छ । सायद अन्तिम परिणामको संकेतसमेत गरेको छ । चुनावी परिणामको रुझानले प्रष्ट पारेको छ कि पुराना दल र यसका नेतृत्व फेरिनु जरुरी छ । उनीहरु नफेरिए जनताले विकल्प खोज्ने संकेत गरिसकेका छन् । ठूला भनिएका दलका शीर्ष नेतालाई जनताले सपार्न चाहेका छन् ।

राजनीतिक व्यवस्था परिवर्तनका लागि पटक पटक संघर्ष गरेका दलहरु संसदीय खिचातानी, परिवारवाद र सत्ता लिप्सामै लाग्नु विडम्बना हो । यही विडम्बनालाई मतदाताले गतिलो खबरदारी गरेको देखिन्छ । लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा भाग लिएकै भरमा सधैँ सत्ताको नेतृत्व सुम्पन जनता तयार नहुने देखिएको छ ।

पाँच दलीय गठबन्धन र प्रमुख विपक्षी दलका प्रमुख नेताहरू मतगणनामा अग्रस्थानमै छन् । तर, तिनको नेतृत्वप्रति मतदाताले व्यक्त गरेको वितृष्णा नयाँ दलले पाएको मतमा देखिएको छ । आफ्नो पद कायम राख्न उनीहरुले गरेका सम्झौतामाथि मतदाताले प्रश्न उठाएका छन् ।

Advertisement

गएको स्थानीय तहको चुनावमै यथास्थितिप्रति जनताको चरम असन्तुष्टि देखिएको थियो । तर ठूला दलका नेताले त्यो सन्देशलाई नजरअन्दाज गरे । उनीहरु सुध्रिने बाटोमै गएनन् । सम्भवतः त्यही अवज्ञा अहिले उनीहरुलाई महँगो परेको छ । प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवारको छनोटमा दलका नेताहरूले अपनाएको तजबिजी शैली जनताले रुचाएनन् ।

ठूला पार्टीलाई समानुपातिकमा पनि कम मत दिए । पहिलो पटक चुनावमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख मत पाएर राष्ट्रिय पार्टी हुने पक्का भइसकेको छ । मधेसमा सिके राउत र नागरिक उन्मुक्ति पार्टी स्थापित भएका छन् । मधेस आन्दोलनको नेतृत्व गरेको जसपाका अध्यक्ष उपेन्द्र यादवले लज्जास्पद पराजय भोगेका छन् ।

Advertisement

लोसपाका प्रमुख नेताहरुले पनि चुनाव हार्ने संकेत देखिएको छ । केही क्षेत्रमा दलहरुका बागीअघि देखिएका छन् भने कतै कतै दुई गठबन्धनभन्दा स्वतन्त्र उम्मेदवार र रास्वपाका उम्मेदवारअघि देखिएका छन् ।

नेपाली कांग्रेस एमालेभन्दा पछि पर्नुको मूल कारण उम्मेदवारप्रतिको वितृष्णा नै हो । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम समानुपातिक सूचीमा राखेको कांग्रेसकै कार्यकर्ताले रुचाएका छैनन् । कांग्रेसले नागरिक अपेक्षालाई सम्बोधन गर्न सकेको देखिएन ।

कांग्रेस, एमालेले बदनाम र दल बदलुलाई उठाएका ठाउँमा जनताले सबक सिकाएका छन् । आगामी प्रतिनिधि सभामा मात्र होइन प्रदेश सभामा पनि नेपाली कांग्रेस र एमाले नै पहिलो वा दोस्रो दल हुने देखिन्छ । तर, चुनावपूर्वको कुनै गठबन्धनको पनि स्पष्ट बहुमत नपुग्न सक्छ । यस्तो अवस्था सरकार बनाउनकै लागि तल्लो स्तरका चलखेल हुन सक्छन् । जनताको खबरदारी जरुरी छ ।

तपाईको प्रतिक्रिया