मुस्ताङमा साढे ६ हजार टन स्याउ उत्पादन

सुन्दरकुमार थकाली २०७९ मंसिर ९ गते ११:२६

जोमसोम ।
मुस्ताङमा यस वर्ष ६६ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष यहाँ ५ हजार ५ सय ६४ मेट्रिक टन स्याउ फलेको थियो । यस वर्ष १ हजार ३३ मेट्रिक टन अर्थात १८ दशमलव ५६ प्रतिशतले स्याउ उत्पादन वृद्धि भएको कृषि ज्ञान मुस्ताङले जनाएको छ ।

कृषि ज्ञान केन्द्र मुस्ताङले जिल्लाका विभिन्न किसानको बगैचामा पुगेर सर्वेक्षण गरिएको तथ्यांकमा यस वर्ष स्याउको उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङले क्रप कटिङ विधि र जिल्लाका स्थानीय स्याउ किसानसँग सोधपुछ गरी स्याउ उत्पादनको तथ्यांक तयार गरेको कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।

‘हामीले स्याउ किसानको बगैचामा पुगेर क्रप कटिङ गर्‍यौं, उनीहरुसंग सोधपुछ पनि गर्‍यौं,’ कार्यालय प्रमुख बस्ताकोटीले भने, ‘कुनै पनि निश्चित स्थानको निश्चित क्षेत्रफलमा फरक फरक तरिकाले स्याउ उत्पादनको मापन गरेका थियौं । यसबाट स्याउको औसत उत्पादन निकाल्ने गरेका छौं ।’

Advertisement

चालु वर्ष २०७९/०८० मा ५ सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटमा उक्त परिमाणमा स्याउ उत्पादन भएको हो । मुस्ताङका ५ वटै स्थानीय तहमा गरी १ हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ ।

जिल्लामा उत्पादन हुने ५ सय ८० हेक्टर जमिनको उत्पादनशील स्याउ बगैचाको क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रति हेक्टर जमिनमा ११ दशमलव ३७ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख बस्ताकोटीले बताए ।

Advertisement

कुल उत्पादनमध्ये यस वर्ष ४ सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउ छ। मुस्ताङको १ हजार ४ सय ७५ हेक्टर स्याउ उत्पादन क्षेत्रमध्ये ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको छ ।

जसमध्ये २२ हेक्टर क्षेत्रफलमा लगाइएको उच्च घनत्व प्रविधिमा आधारित स्याउका बोटले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्रले उल्लेख गरेको छ । उच्च घनत्व प्रविधिमा आधारित प्रति हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटमा करिब २० टनसम्म स्याउ उत्पादन हुने गरेको छ ।

केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले नयाँ स्याउ बगैचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, जिल्लाका किसानले स्याउ बगैचा व्यवस्थापनमा ध्यान दिन थालेको र यस वर्ष स्याउका लागि अनुकूल मौसम भएकाले यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको हो ।

मुस्ताङका ५ स्थानीय तहमध्ये सबैभन्दा बढी स्याउ उत्पादन घरपझोङ गाउँपालिकामा हुन्छ । त्यसपछि वारागुङ मुक्तिक्षेत्रमा स्याउ उत्पादन हुने गरेको छ । मुस्ताङमा सबैभन्दा बढी क्षेत्रफलमा स्याउ खेती विस्तार भएको स्थानीय तह वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको हो भने सबैभन्दा कम क्षेत्रफलमा स्याउ विस्तार भएको पालिका लोमान्थाङ छ ।

पछिल्लो केही वर्षयता मुस्ताङका किसान धमाधम परम्परागत जातका स्याउभन्दा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेतीतर्फ आर्कर्षित हुन थालेका छन् । संघीय तथा प्रदेश सरकार अनुदानमा मुस्ताङका किसानलाई सहुलियत दरमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ बिरुवा उपलब्ध गराइपछि स्याउ उत्पादनको क्षेत्रफल वृद्धि हुन थालेको छ ।

मुस्ताङमा स्याउ जोन कार्यक्रममा १२५ सहकारी, समूह र निजी फर्म आवद्ध छन् । कृषि ज्ञान केन्द्र मुस्ताङले स्याउ बिशेष कार्यक्रमका साथै स्याउ ब्लक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मुस्ताङमा उत्पादित स्याउमध्ये ७० प्रतिशत जिल्ला बाहिर निर्यात हुने गरेको छ भने बाँकी जिल्लामै खपत हुने गर्छ । बर्सेनि मुस्ताङका बगैचामा उत्पादित स्याउ खरिद गर्न जिल्ला बाहिरका व्यापारीहरु स्याउ नपाक्दै साउन, भदौ महिनामा मुस्ताङ आउने गर्छन् । स्याउ धनी र व्यापारीबीच आपसी सहमतिमा ठेक्का सम्झौता हुने गरेको छ ।

सम्झौता गरेका व्यापारी असोज लागेपछि स्याउ टिप्न मुस्ताङ आउँछन् । मुस्ताङका किसानले जिल्लाका खुद्रा व्यापारीलाई पनि स्याउ बिक्री गर्ने गरेका छन् । मुस्ताङमा घुम्न आएका पर्यटकले यहाँबाट कोसेलीका रुपमा लैजान स्याउ खरिद गर्ने गरेको कल्पना नेपालीले बताइन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया