एमालेबाट मुख्यमन्त्रीका दाबेदार खगराज को हुन् ?

सञ्जय रानाभाट २०७९ मंसिर ९ गते १२:३०

सञ्जय रानाभाट


पोखरा ।
नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको कास्की क्षेत्र नम्बर १ (क) बाट गण्डकी प्रदेशसभामा विजयी भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले अधिकारी प्रदेशसभामा निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ६ सय २३ मत मत ल्याउँदा उनको प्रतिस्पर्धी कोइरालाले ११ हजार ६ सय २७ मत ल्याए । मतगणनाको सुरुवातदेखि अग्रता लिएका अधिकारीले अन्तिममा विजयी भएका हुन् ।


अधिकारी केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री भइसकेका छन् । विगठित सांसदको तत्कालीन समयमा अधिकारीले १३ दिन गृहमन्त्री बन्ने अवसर पाए । त्यो भन्दा अगाडि अधिकारी ०७१ सालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेका छन् । स्वास्थ्य मन्त्री हुँदा स्वास्थ्य बिमाको सुरुवात गरेर अधिकारी आम नागरिकको पक्षमा उल्लेखनीय काम गरेको चर्चा छ ।

Advertisement


प्रतिनिधिसभामा दुई पल्ट निर्वाचित भएर मन्त्री भइसकेको अधिकारी ०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव जितेका थिए । उनले कांग्रेसका यज्ञबहादुर थापालाई हराएका थिए । यस पटक उनी एमालेकै संगठनका बलमा चुनाव लडे । जीत हात पनि पारे । गृहमन्त्री भइसकेका अधिकारी यस पटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लडेका हुन् ।


अधिकारी एमालेका अध्यक्ष ओलीका विश्वास पात्र हुन् । यस पटक ओलीले अधिकारीलाई मुख्यमन्त्री बनाउने उद्देश्य सहित प्रदेशको टिकट दिएको चर्चा छ । यद्यपि एमाले एक्लैको बहुमत बनाउन सक्ने अवस्था छैन । गण्डकीमा दुई वा दुई भन्दा बढी दलसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था नतिजाले देखाउँछ । साना दललाई मिलाएर अधिकारी नेतृत्वमा सरकार बन्ने एमाले वृत्तमा चर्चा सुरु भइसकेको छ । ०५१ र ७४ सालमा प्रतिनिधि सभा संसदमा निर्वाचित भइसकेका अधिकारी २०५१ सालमा कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटलाई नै पराजित गरेका थिए । ०५१ सालबाट सांसद यात्रा सुरु गरेको अधिकारी तत्कालीन संसदीय दलका नेता मनमोहन अधिकारीले सचेतक नियुक्त भएका थिए ।

Advertisement


तर, उनी ०४८, ५६ र ०६४ को चुनावमा पराजित भए । पहिलो संविधान सभाको निर्वाचन ०६४ सालमा अधिकारी चुनावमा पराजित भएपछि ०७० मा टिकट नै पाएनन् । ०७४ मा कास्कीबाट चुनाव जिते लगत्तै उनी एमाले प्रमुख सचेतक बने । वाम गठबन्धन हुँदा अधिकारी हटेर माओवादीका देव गुरुङ प्रमुख सचेतक भएका थिए । नेकपा हुँदा उनी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह इन्चार्ज थिए ।


नेकपा फुटेपछि अधिकारी एमाले महाधिवेशनबाट संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । एमालेका अध्यक्ष ओलीसँग पञ्चायतका बेलासँगै जेल बसेका अधिकारी २०२९ सालदेखि राजनीतिमा होमिएका हुन् । यति बेला स्थानीय आनन्द ज्योति माविको स्ववियु सभापति थिए । ०२९ सालबाटै अधिकारी सक्रिय राजनितिमा होमिए ।


विद्यार्थी राजनितिबाट २०३७ सालमा केन्द्रीय स्ववियु सदस्य भएका उनी २०४०÷४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति बने । अधिकारी अनेरास्ववियुको केन्द्रीय समिटीको उपाध्यक्ष, एमाले कास्कीको सचिव हुँदै जिल्ला कमिटीको अध्यक्ष भए । अधिकारीले केन्द्रीय विभागमा अनुशासन निरीक्षण, वैकल्पिक पोलिटब्युरो सदस्य हुँदै गण्डकी संयोजक भइसकेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया