मुस्ताङका म्यादीलाई बिदाइ

समाधान संवाददाता २०७९ मंसिर ९ गते १७:४९

जोमसोम ।
मुस्ताङमा कार्यरत म्यादी प्रहरीलाई बिदाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्रनाथ पौडेलले म्यादी प्रहरी तालिम तथा म्यादी प्रहरी सेवासम्बन्धी प्रमाण पत्र प्रदान गरी म्यादी प्रहरीलाई बिदाइ गरेका हुन् ।

मुस्ताङमा २ सय ८५ म्यादी प्रहरी नियुक्त गरिएकोमा विविध कारणले ६ जना अनुपस्थित थिए । तीमध्ये १ सय ९५ पुरुष र ८४ जना महिला थिए । उनीहरुलाई असोज ३० गते म्यादी प्रहरीको जिम्मेवारी दिइएको थियो । म्यादी प्रहरीका लागि त्यसअघि विभिन्न छनौट परीक्षा, स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती, लिखित र अन्तर्वाता परीक्षा लिइएको थियो ।

उत्तीर्ण व्यक्तिहरूलाई १० दिने तालिममा सहभागी गराइएको थियो । मुस्ताङमा म्यादी प्रहरीमा भर्ना हुन स्थानीय म्यादी प्रहरी ५० जना र २ सय ३५ जना म्यादी प्रहरी जिल्ला बाहिरबाट मुस्ताङ आएका थिए । म्यादीमा छनौट भएकालाई ४० दिनका लागि शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी दिईएको थियो ।

Advertisement

समारोहमा प्रहरी नायब उपरीक्षक पौडेलले नेपाल प्रहरीसँगै मिलेर म्यादी प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरेको बताए । ‘प्रहरी र म्यादी प्रहरी आपसमा मिलेर प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न सफल भयौं,’ डिएसपी पौडेलले भने, ‘निर्वाचनको दौरानमा सबैले उच्च अनुशासन र राम्रो आचरण प्रस्तुत गर्नुभयो, सबैको सामूहिक प्रयासले निर्वाचन मिसन सफल भयो ।’

डिएसपी पौडेलले म्यादी प्रहरीमा रहँदा गरेका कार्य सम्पादन, अनुभव र दक्षतालाई आत्मसाथ गर्दै समाज रुपान्तरण र उज्जल भविष्य खोज्न आग्रह गरे । प्रहरी संगठन भित्रका धेरै ज्ञान हासिल गर्न म्यादी प्रहरी सक्षम भएको र यहाँबाट सिकेका अनुभवलाई व्यवहारिक रुपमा अपनाउन डिएसपी पौडेलले म्यादीलाई सुझाए । ‘समाजका विकृति, विसंगति र अपराध न्यूनिकरण गर्न म्यादीले स्थानीय स्तरका प्रहरीलाई सघाउन सक्छन्,’ डएसपी पौडेलले भने ।

Advertisement

मुस्ताङको माइनस डिग्री तापक्रममा चिसो सहँदै म्यादी प्रहरीले ४० दिने कार्यभार पूरा गरेका छन् । कतिपय म्यादीले निर्वाचनका बेला पाएको कार्यभार अस्थायी रोजगारमात्र नभई राष्ट्रप्रति योगदान गर्ने अवसर भएको बताएका थिए । बिदाइपछि मुस्ताङमा खटिएका म्यादी प्रहरी घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया