
पोखरा ।
मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कास्की २ मा प्रत्यक्षतर्फ नेकपा एमालेकी विद्या भट्टराई विजयी बनिन् । उनले १६ हजार ९ सय ९९ मत ल्याएर विजयी भइन् ।
तर समानुपातिकतर्फ एमालेलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ । स्वतन्त्र पार्टी अर्थात् घन्टीले समानुपातिकतर्फ १३ हजार ९ सय ६५ मत प्राप्त गर्यो, जहाँ एमालेले १३ हजार ५ सय १३ मत पाएको छ ।
यसो त ३ महिनाअघि निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीले प्रत्यक्षतर्फ पनि राम्रै मत पायो । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेल एमालेकी विद्या भट्टराईसँग त पराजित भए तर सत्ता गठबन्धनका साझा उम्मेदवार श्रीनाथ बरालभन्दा बढी मत पाए । गठबन्धनका उम्मेदवारले ९ हजार ६ सय ५९ मत पाउँदा घन्टीले १२ हजार ४ सय ९५ मत पाएको छ ।
- —२ निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ पहिलो, १० क्षेत्रमा तेस्रो
- —प्रत्यक्षमा २ निर्वाचन क्षेत्रमा दोस्रो
- १४ निर्वाचन क्षेत्रमा प्रत्यक्षमा तेस्रो
यस्तै, नवलपुर १ मा प्रत्यक्षमा तेस्रो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा कांग्रेसभन्दा अघि छ । यहाँ कांग्रेसका उम्मेदवार शशांक कोइराला २७ हजार ६७ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्रका उम्मेदवार राजन गौतमले २४ हजार ३ सय ५ मत पाएका थिए । समानुपातिकमा घन्टीमा २५ हजार ७ सय ७४ मत आउँदा कांग्रेसको रुखले २३ हजार ४१ मत पाएको छ ।
कास्की २ र नवलपुर १ मा मात्र होइन, यो निर्वाचनमा गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा घन्टीको उपस्थिति बलियो देखियो । मनाङ र मुस्ताङबाहेक प्रदेशका ९ जिल्लामा नयाँ पार्टीको बलियो उपस्थिति देखिएको छ । प्रतिनिधि सभातर्फ १८ क्षेत्र रहेको गण्डकी प्रदेशमा २ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोस्रो स्थानमा रहे ।
१४ स्थानमा तेस्रो र १ क्षेत्रमा चौथो स्थान बनाए । स्याङ्जा २ मा भने मतगणना सुरु हुन सकेको छैन । समानुपातिकतर्फ २ क्षेत्रमा सबैभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ । १० क्षेत्रमा तेस्रो, ३ ठाउँमा चौथो र १ ठाउँमा पाँचौ भएको छ ।
प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको क्षेत्र कास्की २ र गोरखा २ हो । गोरखा हेभिवेट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेका थिए । जुन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो उपस्थिति देखियो । जुन क्षेत्रमा एमालेका उम्मेदवारले भन्दा धेरै मत स्वतन्त्र पार्टीका उम्मेदवारले पाएका छन् ।
प्रचण्ड २६ हजार १ सय ९ मतसहित विजयी हुँदा स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३९ मत ल्याए । सोही क्षेत्रको समानुपातिकमा धेरै मत पाउने सूचीमा स्वतन्त्र पार्टी तेस्रो स्थानमा रह्यो । जसले ८ हजार ९ सय ९९ मत प्राप्त गरेको छ ।
हेभिवेट उम्मेदवार नेपाली कांग्रेसका शंशाक कोइरालाले जितेको नवलपुर १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । अधिकांश क्षेत्रमा स्वतन्त्र पार्टीले प्राप्त गरेको मत विजयी उम्मेदवारसँग नजिक नजिक नै देखिन्छ ।
एमाले र माओवादी केन्द्रका बलिया उम्मेदवारबीच प्रतिस्पर्धा भएको लमजुङमा स्वतन्त्र पार्टीको उपस्थिति बलियो देखिएको छ । सो क्षेत्रमा विजयी भएका एमालेका पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ८५ मत पाउँदा स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले ९ हजार ३३ मत प्राप्त गरे । यो क्षेत्रमा स्वतन्त्रले समानुपातिकतर्फ ८ हजार २ सय १७ मत प्राप्त गरेको छ ।
केही समयअघि दर्ता भएको पार्टीको बलियो उपस्थितिलेपुराना दललाई सिन्डिकेट विरासत जोगाइराख्न चुनौती थपिएको छ । मतदाताले खोजेको परिवर्तन, एजेन्डा दिन नसक्दा मतदाताले नयाँ विकल्प रोजेको पृथ्वीनारायण क्याम्पस राजनीतिक शास्त्रका प्राध्यापक उमानाथ बरालले बताए । ‘खासगरी चुनावमा सधै नयाँ नयाँ परिवर्तन खोजी हुन्छ ।
मतदाताले खासगरी एजेन्डामा, मुद्दामा, नेतृत्वमा परिवर्तन खोजेका हुन्छन्, आम मतदाताले,’ बरालले भने, ‘सामान्यता हामीले हेर्दा खेरि मतदातामा के देखिन्छ भने जुन वर्तमान सत्तामा रहेका, शक्तिमा रहेका दलले लामो समय सेवा प्रवाह नगर्दा जनतामा निराशा आउँछ । जसले मतदाताको मनस्थिति परिवर्तन हुन पुग्यो ।’
मतदानमा मिडिया र सामाजिक सञ्जालले बढी प्रभाव पारेको प्राध्यापक बरालले तर्क गरे । ‘खासगरी पुरानो पुस्ताले चाँही हिजो नेताले गरेको हो, नेता जेल बसेको हो भनेर सधै भइरहेका नेतालाई मत दिराख्नुपर्छ भन्ने छैन । उनीहरु त्यसमा सचेत रहन्छन्,’ उनले भने, ‘नयाँ कुरा खोजी गर्छन् । खोजी गर्ने क्रममा अहिले पछिल्लो समय मिडिया, अनलाइन मिडियाले बढी प्रभाव पारेको देखिन्छ । त्यही अनुसार मत दिएको पाइन्छ ।’
गत स्थानीय तह चुनावमा आएका स्वतन्त्र तथा युवाको निरन्तरता अहिले देखिएको राजनीतिक शास्त्रमा प्राध्यापक पद्मशरण रेग्मीको भनाइ छ । ठूला दलले गरेका कमी, कमजोरी वा चित्त नबुझेका पक्षमा असन्तुष्टि पोख्न बैकल्पिक शक्तिको रुपमा स्वतन्त्र पार्टी आएको रेग्मी बताउँछन् ।
‘स्थानीय निर्वाचन जस्तो यो निर्वाचन भएन, यो सरकार बनाउने हो । त्यहाँ त दलको उपस्थिति नै अनिवार्य हुन्छ, भन्दा स्वतन्त्र भए नि, दलको आकार नभएसी त त्यसको अस्तित्व हुदैनथ्यो । त्यस हुनाले जुन स्वतन्त्रहरुको जमघट छ । त्यो जमघटले पार्टीको रुप लियो,’ रवि लामिछानेको पार्टीको परीक्षण हुन बाँकी रहेको प्राध्यापक रेग्मीले औंल्याए ।
‘ठूला दलले गरेका कमी, कमजोरी वा चित्त नबुझेका बेला बैकल्पिक शक्तिको रुपमा स्वतन्त्र पार्टी आएको छ । अब यसले आफूलाई कसरी सैद्धान्तिकरण गर्छ, आगामी दिनमा कसरी जान्छ त्यो चाहिँ परीक्षण हुन बाकी छ,’ उनले भने ।
अब पनि पुराना दल नसच्चिए ती इतिहासमा हराउने हुने रेग्मीले सुनाए । ‘पुराना दललाई राम्रैसँग घन्टी बज्यो नि त । यिनीहरुलाई नसच्चिए खैरियत छैन । बिलय हुन तयार हुने हो कि सच्चिएर आउने हो,’ उनले भने ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्
तपाईको प्रतिक्रिया