गण्डकीमा गठबन्धनको प्रभाव: कांग्रेस मालामाल, माओवादी र एमालेलाई धक्का

सञ्जय रानाभाट २०७९ मंसिर ११ गते १०:२५

सञ्जय रानाभाट, पोखरा ।
प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सकिएर परिणाम करिब आइसकेको छ । एकाध ठाउँबाहेक धेरै निर्वाचन क्षेत्रको मत परिणाम आएको छ । गण्डकी प्रदेशमा प्रतिनिधि सभातर्फ १८ निर्वाचन क्षेत्र छन् । त्यसमध्ये प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ ।

स्याङ्जा २ मा अस्वभाविक रुपमा बुथमा कब्जा गरी मत खसालिएको भेटिएपछि मतगणना हुन सकेको छैन । निर्वाचन आयोग पुनः मतदान गर्ने वा सोही खसेको मत गन्ने टुंगोमा पुगेको छैन ।

यता, एमाले नेतृ साथै स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार पद्मा अर्यालसहित साना दलले पुन मतदानको माग गरिरहेका छन् । उनीहरुले मृतक र विदेशिएकाको नामबाट फर्जी मत हालिएकाले जिकिरसहित पुन मतदानको माग गरेका हुन् ।

Advertisement

गणना भइसकेका निर्वाचन क्षेत्रको मत हेर्दा गण्डकीमा कांग्रेस प्रत्यक्षतर्फ पहिलो बन्ने पक्का भएको हो । यद्यपि समानुपातिक मतमा कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले प्रतिनिधिसभातर्फ ९ र गण्डकी सभामा १६ सिट जितिसकेको छ । स्याङ्जा २ को मत गणना वा पुन मतदान हुने टुंगो छैन् ।

०७४ सालको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ र गण्डकी प्रदेशसभातर्फ ६ सिट जितेको थियो । कांग्रेसले प्रत्यक्ष ६ र समानुपातिबाट ९ गरी १५ सिट जितेको थियो । कांग्रेसले अहिले निकै बलियो उपस्थिति बनाएको छ । प्रत्यक्ष मै १६ जितिसकेको हो । यस पटक कांग्रेसले प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभातर्फ २२ ठाउँमा उम्मेदवार उठाएको थियो ।

Advertisement

०७४ सालमा बहुमत नजिक पुगेको नेकपा एमाले यसपटक खम्चिएको छ । निर्वाचन परिणाम अनुसार प्रतिनिधिसभातर्फ एमालेले ५ र प्रदेशसभातर्फ १२ सिट सुरक्षित गरेको छ । एमालेले प्रतिनिधिसभातर्फ सबै १८ सिट र प्रदेशसभातर्फ ३४ ठाउँमा उम्मेदवारी दिएको थियो ।

समानुपातिकतर्फ भने एमाले संघ र प्रदेशसभा दुवैतिर पहिलो नम्बरमा देखिएको छ । यद्यपि समानुपातिकको मतगणना अझै जारी छ । ०७४ सालमा एमाले–माओवादीको वाम गठबन्धनले नवलपुर १ बाहेक प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ २६ निर्वाचन क्षेत्रमा जिते हात पारेको थियो ।

जसमा एमालेले प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० सिट गरी २७ सिट सुरक्षित गरेको थियो । गठबन्धनको घटक माओवादी केन्द्रले त्यति बेला प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ३ सिट जितेको थियो ।

प्रदेशसभाको प्रत्यक्षतर्फ ९ र समानुपातिकमा ३ गरी माओवादीले १२ सिट जितेको थियो । यस पटक ०७४ सालभन्दा फरक गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा रहेको माओवादीले विगतभन्दा खराब नतिजा ल्याएको छ । प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ १२ सिटमा उम्मेदवारी दिएको माओवादी संघमा २ र प्रदेशसभामा ५ सिटमा खुम्चिएको छ ।

प्रतिनिधि सभातर्फ गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ बाट विजयी भएका छन् । अघिल्लो पटक प्रदेश सभामा प्रत्यक्षतर्फ दुई सदस्य जितेको जनमोर्चाले यसपटक उम्मेदवार नै उठाएन ।

गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी भने प्रदेशमा निल भएको छ । प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ नवलपुर १ (२) मा उम्मेदवारी दिएको एसले दुवै सिटमा गुमाएको छ । गठबन्धन गरेर चुनावमा जाँदा नेपाली कांग्रेसलाई फलिफाप भयो भने एमाले माओवादीले प्रत्यक्षकै सिट उल्लेख्य रुपमा गुमाएका हुन् ।

समानुपातिकतर्फ भने शनिबार बेलुका ८ बजेसम्म नेकपा एमाले पहिलो स्थानमा छ । एमाले गण्डकी प्रदेश सभाको समानुपातिकतर्फ पहिलो दल बनेको छ । एमालेले ३ लाख २४ हजार ५ सय ३० मत पाएको छ । नेपाली कांग्रेसले ३ लाख ८ हजार २१, माओवादी केन्द्रले १ लाख १३ हजार १ सय २२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५६ हजार २९ मत पाएका छन् ।

लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिएको हाम्रो नेपाली पार्टीले पनि समानुपातिकमा मत पाएको छ । नेपाली पार्टीले १७ हजार ९ सय ३४ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले १४ हजार ५ सय ७३ मत पाएको छ । प्रत्यक्षमा निल रहेको एकीकृत समाजवादीले पनि १४ हजार ४ सय ७५ मत ल्याएको छ । प्रदेशमा राष्ट्रिय दल बन्न समानुपातिकबाट पाउन १.३ प्रतिशत थे्रेस होल्ड कटाउनुपर्ने र १ सिट प्रत्यक्ष जित्नुपर्ने हुन्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया