आइटिएफ टेनिसमा १० देशका खेलाडी

समाधान संवाददाता २०७९ मंसिर ११ गते ११:१६

पोखरा ।
पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर ५ टेनिस प्रतियोगिता हुँदै छ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेको सो प्रतियोगितामा भाग लिन १० राष्ट्रका सयभन्दा बढी टेनिस खेलाडी पोखरा आइपुगेका छन् ।

शुक्रबार आयोजक संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी सकिएको जनाकारी गराएको छ । सर्किट–१ र २ गरी दुई सातासम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका खेलाडी सहभागी हुनेछन् ।

पोखरा रंगशाला टेनिस कोर्टमा हुने प्रतियोगितामा चाइनिज ताइपेइबाट ५ जना, दक्षिण कोरियाबाट १० जना, रसियाबाट १ जना, भारतबाट ३१ जना, स्पेनबाट १ जना, जर्मनीबाट १ जना खेलाडी सहभागी हुँदै छन् ।

Advertisement

जापानबाट ३, श्रीलंकाबाट २, अस्ट्रेलियाबाट २ जना र नेपालबाट ८ जना गरी जम्मा ६४ जना खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने संघ कास्की अध्यक्ष लोक गुरुङले जानकारी दिए । गल्र्सतर्फ नेपालबाट ९ जना, भारतबाट ३७ जना, रसियाबाट १ जना, श्रीलंकाबाट १ जना, संयुक्त राज्य अमेरिकाबाट २ जना, दक्षिण कोरियाबाट ६ जना, ताइपेबाट ३ जना, हङकङबाट १, अस्ट्रेलियाबाट ३ जना, फिलिपिन्सबाट १ जना गरी ६४ खेलाडी सहभागी हुँदै छन् ।

संघ कास्की कोषाध्यक्ष अनुजकुमार बास्तोलाले पोखरामा यो प्रतियोगिता पाँचौ पटक आयोजना हुन लागेको जानकारी दिए । उनले प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गरे । प्रतियोगितामा आम्दानी २० लाख र खर्च १५ लाख लाग्ने बास्तोलाको भनाइ छ । पोखरा महानगरपालिकाले प्रवद्र्धकका रुपमा ५ लाख सहयोग गरेको छ ।

Advertisement

प्रतियोगितामा सिंगल्सतर्फ विजेताले ३० प्वाइन्ट, रनर अपले १८ प्वाइन्ट, सेकेन्ड रनर अपले ९ प्वाइन्ट, क्वाटर फाइनलिस्टले ५ प्वाइन्ट र फस्ट राउन्ड जित्नेले २ प्वाइन्ट पाउनेछन् भने डबल्स प्रतियोगितातर्फ सिंगल्स प्रतियोगितामा पाउने प्वाइन्टको २५ प्रतिशतमात्र अर्थात विजेताले ७ प्वाइन्ट, रनरअपले ४.५ प्वाइन्ट, सेकेन्ड रनरअपले २.२५ प्वाइन्ट, क्वाटर फाइनलिस्टले १.२५ प्वाइन्ट पाउने छन् । पत्रकार सम्मेलनमा संघ कास्की सदस्य भीष्मराज पौडेलले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया