पश्चिमाञ्चल माविलाई भलिबल उपाधि

समाधान संवाददाता २०७९ मंसिर ११ गते ११:२८

पोखरा ।
पोखरा ४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका १८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कारसहित उपाधि हात पार्‍यो ।

पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सरकारी र निजी गरी १६ स्कुल सहभागी थिए । शनिबारको फाइलन खेलमा पश्चिमाञ्चलले शान्त माविलाई २५–२३, २५–१४ र २५–२२ को सेटमा पराजित गरेको हो । उपाधि विजेता पश्चिमाञ्चलले २० र उपविजेता शान्तले १५ हजार रुपैयाँ पुरस्कार पाए ।

आयोजक पोखरा बहुमुखी क्याम्पसका खेलकुद प्रतियोगिता संयोजक भरतराज अधिकारीका अनुुसार विद्यार्थीलाई खेल क्षेत्रमा सक्रिय बनाउन जिल्लास्तरीय छात्रा भलिवल प्रतियोगिता आयोजना गरिएको हो । ‘गण्डकी प्रदेशमा भलिवल खेलको क्रेज निकै नै बढी छ । महिला भलिबलका पोखरामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुँदै आएका छन्,’ उनले भने, ‘यस्ता प्रतियोगिताले शैक्षिक क्षेत्रभित्र लुकेका खेलाडीको पहिचान बाहिर आउँछन् ।’

Advertisement

क्याम्पस प्रमुख शिशुकला पराजुलीले पहिलोपटक क्याम्पसले जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको र आगामी दिनमा पनि यस्तै खेलकुदका गतिविधि गर्दै जाने बताईन् । ‘खेलाडीभित्र लुकेको क्षमतालाई बाहिर ल्याउने माध्यमको रुपमा यस्ता प्रतियोगिता हुने गरेका छन,’ उनले भनिन्, ‘शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुदमा पनि पहिचान बढाउन विद्यार्थीले यस्तै प्रतियोगिताबाट अवसर पाउँछन । विद्यार्थी भित्र लुकेको क्षमता बाहिर ल्याउनका लागि क्याम्पसले प्रतियोगिता आयोजना गरेको हो ।’

Advertisement

तपाईको प्रतिक्रिया