सम्पादकीयः जनप्रतिनिधिसँग अपेक्षा

समाधान संवाददाता २०७९ मंसिर ११ गते ११:५८

निर्वाचनको अहिलेसम्मको नतिजाले नै अन्तिम परिणामको संकेत गरिसकेको छ । अहिलेको परिणाम हेरेर निष्कर्ष निकाल्नुपर्छः जनताले व्यवस्था होइन, अवस्था फेर्न चाहेका छन् । निर्वाचनमा ठूला भनिएका दलका शीर्ष नेतालाई जनताले सुध्रिन चेतावनीसमेत दिएका छन् ।

लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा भाग लिएकै भरमा सधैँ सत्ताको नेतृत्व सुम्पन जनता तयार हुँदा रहेनछन् । हिमालदेखि तराईसम्म, राजधानीदेखि हुम्ला, जुम्लासम्मको परिणामले यही देखाएको छ । प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १ सय ६५ क्षेत्रममा कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् ।

सत्ता गठबन्धनका कारण नेपाली कांग्रेस अघिल्लो निर्वाचनको तुलनामा शक्ति आर्र्जन गरेको देखिएको छ भने एमाले र माओवादी केन्द्रले ठूलो मूल्य चुकाएका छन् । समानुपातिकमा देशैभरको मतले एमालेको संगठन र मतदाताको रुझान एकातिर देखाएको छ भने ३ महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको लोभलाग्दो मतले पुराना दलहरुमा हलचल ल्याइदिएको छ ।

Advertisement

शनिबार साँझसम्म नेपाली कांग्रेस ५९ स्थानमा विजयी भएको छ भने ४ स्थानमा अघि छ । एमालेले ३९ ठाउँमा जित हाँसिल गरेको छ भने अझै ३ स्थानमा अग्रता छ । माओवादी केन्द्रका उम्मेदवार १६ ठाउँमा निर्वाचित भएका छन् भने २ ठाउँमा अघि छन् । सिके राउत नेतृत्वको जनमत पार्टी प्रतिनिधिसभा, प्रदेशसभासहित समानुपातिकमा समेत नयाँ रुपमा उदाएको छ ।

मधेस आन्दोलनको विरासत बोकेका उपेन्द्र यादवलाई ठूलो मतान्तरले हराउँदै राउत विजयी भएका छन् । सँगसँगै मधेसमा उनको पार्टीले समानुपातिका लोभलाग्दो मत पाएको छ । अहिले जेलमै रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि कैलालीमा इतिहास रचेको छ ।

Advertisement

गण्डकी प्रदेशमा कांग्रेसले १६, एमाले १२, माओवादी केन्द्र ५ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी बनेका छन् । प्रतिनिधिसभातर्फ अघिल्लो पटकभन्दा निकै फरक नतिजा आएको छ । १८ सिटमध्ये १ सिटमात्र जितेको कांग्रेस अहिले ९ स्थानसहित अघि छ, एमालेले ५ सिट जितेको छ भने माओवादी २ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।

अहिलेको निर्वाचनमा दल र तिनका नेतृत्वप्रति मतदाताले देखाएको वितृष्णा नयाँ दलले पाएको मतमा प्रकट भएको छ । गएको स्थानीय चुनावमा मतदाताले देखाएको असन्तुष्टि दलहरुले बुझेनन् वा बुझ्न चाहेनन् । त्यसको ठूलो मूल्य अहिले उनीहरु चुकाउँदै छन् ।

प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवारको छनोटमा दलका नेताको तजबिजी र मनोमानी मतदाताले मन पराएनन् । उत्कृष्ट कानुन निर्माण र जनताका एजेन्डामा दह्रो खबरदारी गर्नुपर्ने सांसदहरु सत्ताको खिचातानीमै रमाएको जनताले पटक्कै रुचाएका छैनन् ।

अब स्थिर, जनपक्षीय, पारदर्शी सरकार र समृद्धिको यात्रा जनताको अपेक्षा हो । यो अपेक्षा पूरा गर्न ध्यान नदिए आगामी निर्वाचन अहिलेका दल र पाका नेताका लागि अझै महंगो पर्न सक्छ ।

तपाईको प्रतिक्रिया