प्रत्यक्ष चुनाव जितेकी प्रदेशकी एक्ली दलित महिला सांसद

प्रमिला कुँवर २०७९ मंसिर १२ गते १०:३९

पोखरा ।
मंसिर ४ गतेको आम निर्वाचनमा प्रत्यक्षतर्फ पुराना पार्टीहरुले महिलाहरुलाई उम्मेदवार बचाउन कन्जुस्याइँ गरे । एमालेले प्रदेश सभा सदस्यका लागि ३ र प्रतिनिधि सभाका लागि ३ जनालाई उम्मेदवार बनाएको थियो । त्यसमध्ये स्याङ्जाकी सीता सुन्दास एक थिइन् । उनले स्याङ्जा १ (१) बाट चुनाव जितेकी छन् । उनी प्रत्यक्ष निर्वाचन जित्ने प्रदेशकै एकमात्रै महिला उम्मेदवार भएकी छन् ।

Advertisement

सुन्दासको यो पहिलो संसद यात्रा हो । मंसिर ४ मा भएको निर्वाचनमा सुन्दासले पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अमृता थापालाई पराजित गरेकी हुन् । सुन्दासले १४ हजार ६ सय ९० मत पाएकी छन् । सुन्दासले थापाभन्दा १ हजार ४ सय २४ मत बढी पाइन् । थापाको मत १३ हजार ३ सय ६६ छ ।

अरु महिला उम्मेदवारले पुरुषसँग प्रतिस्प्र्धा गर्नुपरेको थियो । सुन्दासले भने प्रतिस्पर्धी पनि महिला नै पाइन् तर माओवादीकी थापासँगको प्रतिस्पर्धा उनाका लागि सहज भने थिएन । थापा २०७४ सालमा सांसद भइसकेकी हुन् ।

नेपाली कांग्रेस, माओवादी लगायत ५ दलको साथ पाएकी अमृतसँग एमाले उम्मेदवार सुन्दासको प्रतिस्पर्धा थियो । त्यहाँ गठबन्धनको साथले थापाले जित्ने धेरैको अनुमान थियो ।

धेरैको अनुमानलाई असत्य साबित गर्दै सुन्दास प्रदेशसभामा चुनिएकी छन् । उनी स्याङ्जाको पुतलीबजार नगरपालिका ७ ठूलाडिही गहतेमा २०२४ साउन ५ गते जन्मिएकी हुन् । उनका बुवा गुमानसिंह र आमा चित्रकुमारी सुन्दास हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन् ।

Advertisement

जीवनको अधिकांश समय पार्टीमै व्यतित गरेकी सुन्दासको राजनीतिक यात्रा २०३८÷०३९ सालतिर तत्कालीन मालेबाट सुरु भएको हो । विद्यार्थी समयमा अनेरास्ववियुको (एकताको पाँचौ) मा सम्पर्क प्रारम्भिक इलाका हुँदै जिल्ला कमिटी सदस्य भएकी उनी गण्डकी प्रदेशकै एक्ली दलित महिला सांसद बन्न सफल भएकी छन् ।

नेपालको प्रजातान्त्रिक तथा संघीय लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा सुन्दासले विद्यार्थी जीवनदेखि नै निरन्तर भूमिका निर्वाह गर्दै आएकी छन् । उनले राजनीतिक आन्दोलनसँगै समाजमा सँधै पछाडि पर्दै आएको दलित समुदायको पक्षमा समेत संघर्ष गर्दै आएकी छन् ।

जिल्ला शान्ति समितिको प्रमुख भएर सुन्दासले काम गरेकी थिइन् । साथै, ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपश्चात सुन्दासले स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख बनेर भूमिका निर्वाह गरिसकेकी छन् ।

गण्डकीमा प्रतिनिधि सभा र प्रदेश सभा गरी जम्मा ३ जनामात्र महिला निर्वाचित भएका छन् । नवलपुर प्रदेशसभा २ (१)मा नेकपा एमालेकी पद्मा जिसी निर्वाचित भएकी छन् । कास्की २ मा एमालेकै विद्या भट्टराई चुनिएकी छन् । प्रतिनिधिसभा र प्रदेशमा निर्वाचित महिला सबै एमालेका हुन् ।

गण्डकीमा कांग्रेसले प्रदेश र प्रतिनिधि सभा कतै पनि महिलालाई प्रत्यक्ष निर्वाचनको उम्मेदवार बनाएको थिएन । माओवादीले भने एकजना अमृता थापालाई बनाएको थियो, जसलाई एमालेकी सुन्दासले पराजित गरिन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया