सामाजिक सुरक्षा कोषमा अनौपचारिक समेटिने

समाधान संवाददाता २०७९ मंसिर १२ गते १२:४६

पोखरा ।
सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले अनौपचारिक क्षेत्रका श्रमिकसमेत समेट्ने भएको छ । पाँचौ सामाजिक सुरक्षा दिवसको अवसर पारेर कोषले आइतबारदेखि अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न लागेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीकअध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

Advertisement

सामाजिक सुरक्षा दिवसको सन्दन्र्भमा जिफन्टले आयोजना गरेको कार्यक्रममा उनले सरकारले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजना लागु गरे यताको ४ वर्षको अवधिमा औपचारिक क्षेत्रका करिब ३ लाख ३५ हजार ९ सय ४ श्रमिक सूचीकृत भएको बताए ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्न सक्ने व्यवस्था गरेको उल्लेख गरे ।

‘सामाजिक सुरक्षा दिवसको अवसरमा आइतबारबाट अनौपचारिक क्षेत्रमा समेत कार्यक्रम कार्यान्वयन हुनेछ,’ उनले भने, ‘पोखराको श्रम तथा रोजगार कार्यालयमा सामाजिक सुरक्षा कोषको कार्यालय खोलेर सबै कार्यक्रमको सहजीकरण गरिनेछ ।’

उनले कार्यक्रमम सूचीकृत हुनेले औषधोपचार, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायता योजनाका लगायतका सुविधा पाउने जानकारी दिए ।

Advertisement

जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन कमिटी अध्यक्ष मीना गुरुङले जिफन्टले आगामी ४ वर्षमा सूचीकरण अभियान चलाएर २० लाख श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्ने उल्लेख गरिन् ।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा सामाजिक सुरक्षा योजना कार्यान्वयन हुने बताइन् । प्रतिनिधि सभा सदस्य दामोदर पौडेल ‘बैरागी’ले सहकार्य, योगदान र सहभागितामा सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयन हुने तर्क गरे । उनले योजनाको कार्यान्वयनमा श्रमिकको सुरक्षा र भविष्य सुनिश्चित हुने उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु भीमबहादुर कार्की र गणेशमान गुरुङ, जिफन्ट गण्डकी प्रदेश कमिटी उपाध्यक्ष लीलाबहादुर कार्की, सचिव राजेन्द्र पौडेल, श्रमिक नेताहरु विष्णुबहादुर केसी, तीर्थराज मगर, रामचन्द्र सुवेदी, शोभाकान्त पौडेल लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले सरोकारवाला सबैलाई दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया