गण्डकीमा अझै सुरु भएन सरकार गठनकाे गृहकार्य

सञ्जय रानाभाट २०७९ मंसिर १३ गते १०:५५

सञ्जय रानाभाट, पोखरा ।
गण्डकी प्रदेशमा स्याङ्जा २ बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । प्रतिनिधि सभातर्फ १८ र प्रदेश सभातर्फ ३६ क्षेत्र निर्वाचन क्षेत्र रहेको गण्डकीमा नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भइसक्यो । कांग्रेस एक्लैले प्रतिनिधि सभा तर्फ ९ र प्रदेश सभातर्फ १६ सिट जितेको छ । गण्डकी प्रदेश सभामा सरकार बनाउने गरी कुनै पनि दलले स्पष्ट बहुमत पाएका छैनन् ।

स्याङ्जा क्षेत्र नम्बर २ मा पुन मतदान हुने वा मतगणना सुरु हुने निश्चित नहुँदा गण्डकीमा सरकार गठनको गृहकार्य अन्योलमा छ । सरकार गठनका लागि यहाँका दलले केन्द्रबाट ‘ग्रीन सिंग्नल’ नपाउँदा उनीहरु आफ्नै नेतृत्वमा सरकार गठनका लागि पनि अग्रसर हुन सकेका छैनन् । तर, सरकार बनाउने चर्चा र अड्कलबाजी चलिसकेका छन् ।

— केन्द्रकै सरकार टुंगो नलाग्दा प्रदेश पनि स्वाभाविक रुपमा अनिर्णीत भएको होः सुरेन्द्रराज पाण्डे, कांग्रेस
—प्रदेशको समृद्धि र स्थिरताका लागि सबै दलसँग मिलेर जान हामी तयार छौंः खगराज अधिकारी, एमाले
—सत्ता समीकरण कस्तो बनाउने भन्ने निर्णय केन्द्रको हुन्छ, हामी मान्नेमात्रै होः हरिबहादुर चुमान, माओवादी

Advertisement

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १६ सिट जित्दा नेकपा एमालेले १२, माओवादी केन्द्रले ५ र १ सिट स्वतन्त्र सांसद दीपक मनाङेले जितेका छन् । २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट आउने भए पनि समानुपातिकतर्फको मतगणना सकिएको छैन ।

अहिले नै सरकार गठनको प्रक्रिया र छलफल सुरु नभए पनि पार्टीका सांसदहरु आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गर्छन् । प्रदेशको राजनीतिक निर्णय केन्द्रबाटै हुने भए पनि अहिले यहाँका नेतामा पनि कसको नेतृत्वमा सरकार बन्छ भन्नेमा ढुक्क छैनन् । यद्यपि आफ्नै नेतृत्वमा सरकार बन्छ भन्नेमै उनीहरु केन्द्रित रहेको देखिन्छ ।

Advertisement

कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार रहेका सुरेन्द्र पाण्डेले गण्डकीमा सरकार गठनको वार्ता सुरु नभएको बताए । उनले स्याङ्जा २ मा अझै मतगणना हुन नसकेकाले सरकार गठनको वार्ता अहिलेसम्म सुरु नभएको बताएका हुन् । ‘पहिलो कुरा त हाम्रो प्रदेशमा अझै अन्तिम परिणाम आएको छैन । स्याङ्जा २ को मतपरिणाम आएपछि कुन दलले कति पाउँछन् सोही अनुरुप हामीहरु सरकार गठनमा जुट्छौं,’ उनले भने ।

माओवादी केन्द्रका नेता हरिबहादुर चुमान केन्द्रले निर्णय नलिँदासम्म आफूहरुले बोल्नु सान्दर्भिक नहुने बताउँछन् । ‘पहिला माथिबाट निर्णय आउनुपर्‍यो, माथिकै निर्णय नआउँदै हामी बोलेर हुँदैन, सत्ता समीकरण कस्तो बनाउने भन्ने निर्णय केन्द्रको हुन्छ, हामी मान्नेमात्रै हो,’ चुमानले भने ।

प्रत्यक्षतर्फ १२ सिट ल्याएको नेकपा एमालेले भने आफ्नो नेतृत्वमा सरकार कसरत थालेको छ । एमालेले मिले कांग्रेस र नभए माओवादी र साना दल मिलाएर सरकार बनाउन वार्ता थालेको एमालेका एक नेताले बताए । ‘नेपाली कांग्रेस र माओवादीसँग हाम्रो वार्ता भइसकेको छ । उहाँहरुले केन्द्रको निर्णय कुर्नुपर्छ भन्नुभएको छ । यस कारण हामी निर्णयमा पुग्न सकेको छैनौं,’ ती नेताले भने ।

स्रोतका अनुसार कांग्रेसले एमालेसँग भन्दा पनि माओवादीसँग मिलेर सरकार बनाउन इच्छा देखाइरहेको छ । यता, मुख्यमन्त्रीका दाबेदार सुरेन्द्र पाण्डेले पनि केन्द्रकै समीकरण र निर्णय कुरिरहेको सुनाए । ‘यही सत्ता गठबन्धनलाई निरन्तरता दिने हो भने हामीसँग स्पष्ट बहुमत पुगेको छ । माओवादी केन्द्र पनि सकारात्मक देखिएको छ । तर अब केन्द्रकै सरकार टुंगो नलाग्दा प्रदेश पनि स्वाभाविक रुपमा अनिर्णीत भएको हो,’ उनले भने ।

एमालेबाट प्रमुख मुख्यमन्त्रीका दाबेदार खगराज अधिकारीले पनि आफूहरुले स्थिर सरकार बनाउने विषयमा छलफल थालेको बताए । उनले सरकार गठन र सञ्चालनका लागि आफूहरु सबै दलसँग सकारात्मक रहेको सुनाए । ‘एमालेकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने छैन । प्रदेशको समृद्धि र स्थिरताका लागि सबै दलसँग मिलेर जान हामी तयार छौं,’ अधिकारीले भने ।

गण्डकीमा सरकार गठनमा माओवादी निर्णायक देखिएको छ । प्रदेशमा तेस्रो रहेको माओवादीको ५ सिट प्रत्यक्षमा जितेको छ । समानुपातिकबाट माओवादीले ३ देखि ४ सिट पाउने दाबी गरेको छ । कांग्रेस र एमाले भने समानुपातिकमा ९/९ सिट पाउने दाबी गर्छन् । यद्यपि समानुपातिकमा एमाले अगाडि छ ।

दुवै दलले प्रत्यक्ष र समानुपातिकमा सोचे जति सिट पाए पनि सरकार गठन गर्न माओवादीकै साथ आवश्यक देखिन्छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्यको साथ आवश्यक रहन्छ । अहिलेसम्म ५ दलीय गठबन्धन कायमै रहेका बेला गण्डकी प्रदेशमा पनि गठबन्धन स्पष्ट बहुमत पुग्ने देखिन्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया