पास भएनन् शिक्षक

समाधान संवाददाता २०७९ मंसिर १४ गते १०:५५

काठमाडौं ।
निमावि तहमा गणित शिक्षक ३ सय ७१ माग गरेकामा तीन सय १४ मात्र उत्तीर्ण
शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि गरेको विज्ञापनमा मागिएको कोटासमेत पूरा नहुने समस्या देखिएको छ ।

सोमबार प्रकाशित निम्न माध्यमिक तहको गणित विषयको परीक्षामा समेत माग गरेका कोटाभन्दा कम शिक्षक उत्तीर्ण भएका छन् । निमावि तहमा गणित शिक्षक तीन सय ७१ जना माग गरेकामा तीन सय १४ मात्र उत्तीर्ण भएका हुन् ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठाका अनुसार समावेशी समूहमा उत्तीर्ण हुनका लागि आवश्यक न्यूनतम अंकसमेत नआएका कारण कोटा खाली भएका छन् । सबै प्रदेशमा माग भएअनुसारका कोटा पूरा नभएका हुन् ।

Advertisement

प्रदेश १ मा परीक्षामा पाँच सय ७० जना सहभागी भएकामा ७० जना मात्र पास भएका छन् । त्यसैगरी, मधेस प्रदेशमा परीक्षामा एक सय ६९ जना सहभागी भएकामा ३१, बागमती प्रदेशमा ६ सय ३३ जना सहभागी भएकामा ७२, गण्डकीमा ६ सय ४५ जना सहभागी भएकामा ७६ उत्तीर्ण भएका छन् ।

लुम्बिनीमा चार सय ८९ जना सहभागी भएकामा ४०, कर्णालीमा एक सय ४९ जना सहभागी भएकामा १२ र सुदूरपश्चिममा दुई सय २० जना सहभागी भएकामा १२ जना उत्तीर्ण भएका छन् । अन्य विषयमा समेत मागभन्दा कम उत्तीर्ण भएको उनले बताए ।

Advertisement

पटक–पटक मागजति उत्तीर्ण नहुनु गम्भीर विषय रहेको आयोगका पदाधिकारीको भनाइ छ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति गुणस्तर नहुनु, विषयवस्तुको ज्ञानको कमी र तयारीविना परीक्षामा सहभागी हुनाले पनि मागेको संख्याजति उत्तीर्ण नहुने गरेको आशंका भएको मरहठाको छ ।

तपाईको प्रतिक्रिया