कर्मचारीलाई तालिम

पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राजपत्र अनंकित प्रथम/द्वितीय श्रेणी एवं सहायकस्तर चौथो/पाँचौं तहका कर्मचारीका लागि तालिम आयोजना गरेको छ । ३० कार्यदिने सेवाकालीन तालिम गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले सोमबार सुरुआत गरे ।
२ समूहमा सञ्चालन गरिने यो तालिममा ५५ कर्मचारीको सहभागिता छ । प्रमुख सचिव पन्थले प्रदेश सरकारले कर्मचारीको वृत्ति विकास र क्षमता अभिवृद्धिका लागि प्रतिष्ठनमार्फत काम गरिरहेको उल्लेख गरे ।
प्रतिष्ठानको व्यवहारमा परिवर्तन र कार्यसम्पादनमा सुधारको सिद्धान्तलाई आत्मसाथ गरी आआफ्नो क्षेत्रमा काम गर्न कर्मचारीलाई उनले निर्देशन दिए । प्रदेश स्तरमानै सेवाकालीन तालिमको अवसर प्राप्त गर्नुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने पन्थको भनाइ छ ।
प्रदेश सरकारका सचिव मनमाया भट्टराई पँगेनीले कर्मचारीको कार्यसम्पादनमा सुधार गर्न तालिमले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिन् । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डले प्रतिष्ठान स्थापनाको करिब ३ वर्षको अवधिमा १३ हजारभन्दा बढी जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकासका अवसर प्रदान गरेको सुनाए ।
सेवाकालीन तालिमलाई केवल वृत्ति विकासको माध्यमको रुपमा मात्र नलिई आफ्नो कार्यक्षमता अभिवृद्धिको अवसरका रुपमा लिनुपर्ने उनको भनाइ छ । सो अवसरमा महिला हिंसा विरुद्धको १६ दिने अभियान प्रारम्भ गरिएको थियो ।
प्रतिष्ठानले यस आर्थिक वर्षमा अधिकृतस्तरका ५८ कर्मचारीको सेवाकालीन तालिम सम्पन्न गरिसकेको छ भने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा गरी २ सय २८ जना सहायक स्तरका कर्मचारी समेत उक्त तालिमबाट दीक्षित भइसकेका छन् ।
तपाईको प्रतिक्रिया