‘सिद्धान्तबिनाका शक्ति उदाउनु चुनौतीपूर्ण’

समाधान संवाददाता २०७९ मंसिर १४ गते १२:३२

पोखरा ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि गठन भएको नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी कास्कीले वडादेखि निर्वाचन क्षेत्रसम्म निर्वाचनको समीक्षा गर्ने भएको छ ।

Advertisement

कमिटीको मंगलबार बसेको सचिवालयको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी, सबै पालिका कमिटी र ७२ वडा कमिटीको बैठक बसेर निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको जिल्ला कमिटी कास्की कार्यवहाक अध्यक्ष तथा निर्वाचन परिचालन कमिटी संयोजक तेजनारायण अधिकारीले जानकारी दिए ।

बैठकको निर्णय अनुसार यही मंसिर १८ गतेसम्म सबै वडा कमिटी तथा १९ गतेसम्म पालिका कमिटीको बैठक बसेर समीक्षा गरी माथिल्लो कमिटीमा प्रतिवेदन पठाउने छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक मंसिर २१ सम्ममा बसेर जिल्ला निर्वाचन परिचालन कमिटीलाई प्रतिवेदन पेश गर्ने निर्देशन गरेको कमिटीका संयोजक अधिकारीले बताए ।

जिल्ला कमिटी कास्की सचिव बैनबहादुर अधिकारी क्षत्रीले मंसिर २४ गते जिल्ला निर्वाचन परिचालन कमिटीको बैठक बसेर निर्वाचनको समीक्षा गर्नुका साथै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित सबैलाई बधाई ज्ञापन गर्ने बताए ।

सोही बैठकले आम निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि गठन गरेको ७ हजार १ सय ६५ सदस्यीय निर्वाचन परिचालन मुल कमिटीलाई औपचारिक रुपमा विघटन गर्ने कार्यक्रम छ ।

Advertisement

कार्यक्रममा पार्टीका पूर्व स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले आम निर्वाचनमा प्रतिक्रियावादीहरु गठबन्धन गरेर एमालेको जरो टुप्पो सिध्याउने गरी लागेको भएता पनि असफल भएको दाबी गरे ।

‘अहिलेको निर्वाचनमा घोषित रुपमा लागेकामात्र नभएर गठबन्धन भन्दा बाहिरका दुश्मनलाई हाम्ले चिन्न सकेनौं,’ उनले भने, ‘विचार र सिद्धान्तमा शून्यता तथा संगठनात्मक अराजकताको कारणले सत प्रतिशत नतिजा निकाल्न सकिएन ।’ उनले सानातिना कमी कमजोरीका बाबजुद चुनावमा एमाले सकारात्मक नतिजा निकाल्न सफल भएको बताए ।

पार्टीका पोलिटब्युरो सदस्य सीता गिरी ओलीले चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत ल्याएको उल्लेख गरिन् । उनले पार्टीका नेता तथा कार्यकर्ताको विचार र व्यवहारमा तालमेल आवश्यक भएको बताइन् ।

पार्टीका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापाले नयाँ नयाँ शक्ति राजनीतिमा उदाउनु पार्टीको लागि चुनौती भएको बताए । उनले निर्मम तथा वस्तुगत समीक्षाको क्रममा अन्तर्घात भएको सप्रमाण ल्याए कारवाही गर्ने जानकारी दिए ।

पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य पदमप्रसाद पौडेल (परशुराम) पौडेल र गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले स्थानीय तहको निर्वाचनको तुलनामा कास्कीले आम निर्वाचनमा बढी सफलता पाएको बताए ।

कास्कीका प्रतिनिधि सभामा क्षेत्र नम्बर १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल ‘बैरागी’ विजयी भएका छन् । प्रदेश सभामा क्षेत्र नम्वर १ (१) बाट खगराज अधिकारी, १(२) बाट वेदबहादुर गुरुङ ‘श्याम’, क्षेत्र नम्बर २(१) बाट भीमबहादुर कार्की र क्षेत्र नम्बर ३(१) बाट गणेशमान गुरुङ एमालेबाट विजयी बनेका छन् ।

तपाईको प्रतिक्रिया