अवैध संरचना हटाउँदै पोखरा महानगर

समाधान संवाददाता २०७९ मंसिर १५ गते १०:३७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर अन्तर्गत पर्ने फिर्केखोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाउन लागेका संरचना हटाइएको छ । ४ नम्बर वडा कार्यालयको नेतृत्वमा नगर प्रहरीसहितको टोलीले पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत फिर्के पुलको उत्तरतर्फ फिर्केखोला अतिक्रमण गरेर बनाउन लागेका अस्थायी संरचना बुधबार हटाइएको वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।

‘खोलाको छेउमा फडानी गरेर कम्पान्डजस्तो बनाउनुभएको रहेछ । ५ वटा कोठा बराबरको अतिक्रमण भएको थियो, ५ वटा कोठा बनाएर प्लटिङ गरेर छोड्नुभएको थियो । संरचना बनाउँदै हुनुहुन्थ्यो । वडा कार्यालयले गएर हटाएका छौं,’ उनले भने ।

हटाउन सूचना जारी गरे पनि नहटाएपछि वडा कार्यालय आफैं गएर संरचना हटाएको वडाध्यक्ष पराजुलीले बताए । ‘हामीले हटाउन भनेर सूचना जारी गर्‍यौं, उहाँहरु मान्नु भएन,’ उनले भने, ‘बुधबार नगर प्रहरीसहितको टोली गएर हटाएका हौं ।’

Advertisement

बन्न लागेका संरचनालाई बनाउन रोकिएको वडाध्यक्ष पराजुलीले बताए । ‘अतिक्रमण गरेर संरचना बनाउँन दिएका छैनौं । मिच्ने क्रम जारी छ तर हामी हटाउने अभियानमा लागिरहेका छौं,’ वडाध्यक्ष पराजुलीले भने ।

अतिक्रमण गरेर बनेका संरचना पनि सूचना दिएर हटाउन लगाउने वडाध्यक्ष पराजुलीले सुनाए । ‘अतिक्रमण गरेर धेरै संरचना बनेका छन्, बनेका संरचना सूचना, समय दिएर हटाउन लगाउँछौं,’ उनले भने ।

Advertisement

महानगरपालिकाले सार्वजनिक ठाउँमा अतिक्रमण गरेर बनेका संरचना क्रमशः हटाउँदै जाने महानगरपालिका प्रवक्ता मोतीलाल तिमिल्सिनाले जानकारी दिए । ‘सार्वजनिक ठाउँमा अतिक्रमण भएर बनेका संरचना हट्ने कुरा त रह्यो नै । कतिपय मापदण्डका कुरा छन् । ती मापदण्ड कुरालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । अन्य ठाउँको पनि क्रमशः हटाउँछौं,’ उनले भने ।

महानगरले मापदण्ड विपरीत बन्दै गरेका संरचना निर्माण रोकिरहेको प्रवक्ता तिमिल्सिनाले बताए । ‘मापदण्ड विपरीत केही संरचना बन्दै गरेका थिए । जसलाई महानगरले सूचना जारी गर्दै निर्माण रोकेको छ,’ उनले भने ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचनाका विषयमा के गर्ने भन्नेबारे छलफल भइरहेको प्रवक्ता तिमिल्सिनाले बताए । उनले भने, ‘अतिक्रमण गरेर बनिसकेका संरचनाको हकमा कसरी जाने भन्नेबारे छलफल हुँदै छ ।’

यसअघि पोखरा महानगरपालिकाले वडा नम्बर ३३ मा रहेका अनधिकृत रूपमा निर्माण गरिएका छाप्रा भत्काएको थियो । विभिन्न जिल्लाबाट आएका मानिसले अवैध रूपमा निर्माण गरेर बसेका छाप्रा हटाइएको हो ।

मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरी २६ वटा छाप्रा थियो ।

छाप्रा भत्काउदै मेयर आचार्यले भनेका थिए, ‘सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरूप ती छाप्रा भत्काइएको हो । अन्यत्र पनि यस्ता अनधिकृत रूपमा निर्माण गरिएका संरचना क्रमशः भत्काउँदै लगिने छ ।’

यसअघि फेवातालको सिमसार क्षेत्रमै पुगेर महानगर मेयर धनराज आचार्यले मापदण्ड मिचेर संरचना नबनाउन निर्देशन दिएका थिए । फेवातालको सिरानमा डाँडा खारेर पुरिएको सिमसार क्षेत्रको अवलोकन गर्दै मेयर आचार्यले फेवातालको मापदण्डभित्र पर्ने गरी संरचना नबनाउन भनेका थिए ।

पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको ५५ औं कार्यपालिकाको २०७८ चैत १६ गते बसेको बैठकले फेवातालको मापदण्ड ३० मिटर बनाउने निर्णय गरेको थियो । तर, सर्वाेच्च अदालतले गत असार १३ गते फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै ६५ मिटरभित्र संरचना नबनाउन मेयर आचार्यको निर्देशन थियो । ‘अटेर गरेर संरचना बनाए भत्काउँछौं । सीमसार क्षेत्र यसरी पुरिनु अत्यन्त दुखद छ । यसरी भोलिको पुस्ताले ताल नै देख्न पाउँदैन । अब यस्तो हुन दिइने छैन,’ मेयरले भनेका थिए ।

तपाईको प्रतिक्रिया