पोखरेली युवा साँस्कृतिकमा राधा पौडेलको अनुभव र अनुभूति

समाधान संवाददाता २०७९ मंसिर १५ गते १०:५२

पोखरा ।
पोखरेली युवा साँस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूति अन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत गर्‍यो । साहित्यकार पौडेलले भनिन् ‘आफू शारीरिक बनाबटमा होचो कदको फुच्ची देखिने चितवनबाट फरेस्टीको फर्म भर्न आएका बालाई दाइहरुले यो फुच्ची मान्छे, केटी मान्छे फरेस्टी पढेपछि जंगलजंगल डुल्नुपर्छ गुण्डागर्दी हुन्छ सक्दिन भनेर नर्सिङको फर्म भरिदएछन् । तर आजसम्ममा कुनै एक सेकेन्ड पनि पछुतो छैन नर्सिङ पढ्नु परेकोमा ।’

उनले थपिन् ‘म नर्सिङ नपढेको भए आज तपाईंहरु माझ हुन्थिनँ । कतै एलडियो सेल्डियो भएर १० देखि ५ को जागिर खाइरहेको हुने थिएँ । नर्सिङ पढेकै कारण म हुम्ला, जुम्लामा जान पाएँ र खलंगामा हमला भन्ने किताब जन्म्यो । खलंगामा हमलाले मदन पुरस्कार पाएकै भएर तपाइहरुले आज मेरो अनुभव र अनुभूति सुन्दै हुनुहुन्छ ।’

मध्यम परिवारमा जन्मेकी राधा पौडेल आफ्नो मनले यो गर भने पछि गरिहाल्ने जिद्दी स्वभावले गर्दा एक फेर आत्महत्या गर्न धरी हिँडेकी थिइन् । अहिले पनि आज मरिन्छ कि भोलि ठेगान नभएको जिन्दगीमा झन् माओवादी जनयुद्घकालमा नजिकैबाट मृत्यु देख्दा आज कि भोलि ठेगना छैन भन्दै आफूले देखेको समाज र भागेको जीवन डायरीमा लेख्न शुरु गरेकाले खलंगामा हमला किताब जन्मेको अनुभव उनले सुनाइन् ।

Advertisement

पोखरा नर्सिङ क्याम्पस सातौं ब्याचमा पढ्दा पोखराको बसाइको पनि अनुभव उनले साटिन् । उनले अहिले देश बिदेशमा मर्यादित महिनाबारीको अभियान चलाइरहेको जानकारी दिइन् ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सरुभक्तले भने, ‘एकआध मान्छे बाहेक कोही पनि जन्मिँदै केही लिएर आएको हुँदैन । त्यस्तै राधा पौडेलले पनि केही लिएर आएकी होइनन् उनले जे गरिन जन्मेपछि नै गरिन् ।’

Advertisement

साहित्य विभागका संयोजक शरण आँशुले पौडेलको संक्षिप्त परिचयसमेत स्वागत गरेका थिए । यसअघि रागिनी उपाध्याय, खगेन्द्र संग्रौला, नारायण ढकाल, राजेन्द्र भण्डारी, सम्राट उपाध्याय, स्नेह सायमी लगायतका स्रष्टाहरुले अनुभुव र अनुभूतिमा आफ्नो हृदय राखिसकेका छन् ।

परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन निर्वतमान अध्यक्ष मोती भुजेलले र सञ्चालन सदस्य हसिना बस्नेतले गरेकी थिइन् । ‘साहित्य, कला र संगीतको उत्थानः हाम्रो प्रण’ भन्ने मुल नाराका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा सांस्कृतिक परिवार गण्डकी प्रदेशको मात्रै नभई देशकै साहित्य, कला र सङ्गीतको विकासमा ४५ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा परिचित छ ।

तपाईको प्रतिक्रिया