कास्की कारागारका महिलालाई तालिम

समाधान संवाददाता २०७९ मंसिर १५ गते १३:२०

पोखरा ।
विभिन्न कसुरमा जेल सजाय र पुर्पक्षमा बन्दी जीवन व्यतीत गरिरहेका कास्की कारागाका २१ महिलाले उत्साहसाथ कुकिङ बेकिङ तालिम सिकिरहेका छन् । जीवनमा जान अन्जानमा भए/गरेका गल्तीमा प्रायश्चित गर्दै कैद भुक्तानपछि जीवनलाई सुन्दर बनाउने उद्देश्यसहित उनीहरू तालिममा व्यस्त छन् ।

आर्थिक लेनदेनको विवादमा पुर्पक्षका लागि ३ महिनादेखि थुनामा रहेकी नवलपरासीकी ४२ वर्षीया सञ्जु केसी (नाम परिवर्तन)ले तालिम निकै फलदायी भएको बताइन् । उनले भनिन्, ‘मैले बन्दी जीवन बिताइरहँदा आयआर्जनका लागि सीप सिक्ने अवसर पाएकी छु, मेरो मुद्दाको टुङ्गो लागेर र यहाँबाट निस्केपछि यो काम पनि मैले गर्न सक्छु ।’

बिएड अध्ययनरत उनी बाँकी जीवनलाई अब सृजनात्मक र व्यावसायिकतातिर लाने सोच रहेको सुनाउँछिन् । १ वर्षका लागि कैद फैसला भुक्तानमा रहेकी कास्की घाचोककी ४३ वर्षीय शर्मिला शर्मा (नाम परिवर्तन) ले पनि तालिम निकै उपयोगी भएको उल्लेख गरिन् ।

Advertisement

‘अझै केही समय छ, यहाँभित्र हुने तालिम सिकेर अब आत्मनिर्भर हुने बाटो खोज्नेछु’, अरूभन्दा प्रभावकारी कुकिङ बेकिङको तालिम लागेको उनको भनाइ छ । पोखरा पर्यटकीय क्षेत्र भएको र आफूले पनि यसमा दक्षता हासिल गर्न सके सहज जीवन बाँच्न सक्ने आशा पलाएको उनले जनाइन् ।

पोखरा व्यावसायिक महिला क्लब पोखरा १ बगरको आयोजनामा इन्टरनेसनल होटल ट्रेनिङ सेन्टरले यहाँ तालिम प्रदान गरेको हो । प्रशिक्षक झंक ढकालले कारागारका महिला निकै उत्साहसाथ तालिममा सहभागी भएको बताए ।

Advertisement

‘अरू तालिममा भन्दा उहाँहरूको रुचि यसमा अलि बढी छ । स्वादिलो खाना बनाउन र विभिन्न परिकार बनाउन सिक्न साथै बनाएको परिकारको स्वाद लिन पनि पाइने भएकाले उहाँहरूको रुचि बढी देखिन्छ ।’ ४५ दिनमा कुकिङ बेकिङका ४५ भन्दा बढी परिकार बनाउन सिकाइनेछ ।

जिल्ला कारागारका सूचना अधिकारी झंकनाथ पौडेलले एकै प्रकारको दैनिकीमा रहँदा उनीहरूलाई नैराश्यता आउन सक्ने भएकाले विभिन्न रचनात्मक एवम् सृजनात्मक कार्यका लागि तालिमहरू प्रदान गर्दै आएको बताए । पौडेलले भने, ‘कतिपय लामो र कतिपय छोटो समयका लागि बन्दी जीवन व्यतीत गरिरहनुभएको छ । तालिमले उहाँहरूलाइ रिफ्रेस साथै यहाँपछि आयआर्जनमा जोडिनसहयोग पुग्ने विश्वास छ ।’

कारागारका कैदीबन्दीलाई विभिन्न संघ, संस्थाको सहकार्यमा विभिन्न सीपमूलक तालिम दिइन्छ । कारागारको क्षमता ४ सय २० जनाको भए पनि भौतिक संरचना अभावमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । पौडेलका अनुसार ८ सय ३१ जनाले बन्दीजीवन बिताइरहेका छन् । जसमा महिला ३९, पुरुष ७ सय ९२ र ३ आश्रित नाबालक छन् ।

तपाईको प्रतिक्रिया