अन्तर्घातमा संलग्नलाई कारबाही गर्न कास्की कांग्रेसले सिफारिस गर्ने

समाधान संवाददाता २०७९ मंसिर १५ गते १८:४८

पोखरा

नेपाली कांग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको बिहीबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।


बैठकमा पधादिकारी एवं सदस्यहरुले पार्टीभित्र अन्तर्घात बढेकोप्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए । बैठकले अन्तर्घातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

Advertisement


अन्तर्घात गर्नेको खोजी गरी कारबाही गर्न चर्को दबाब बीच केही प्रमाणहरु प्राप्त भएको कास्की कांग्रेसको भनाइ छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने, ‘प्राप्त प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिने छ ।’
बैंककले निर्वाचनमा मतदान गर्ने मतदाता, निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरेको छ ।


कांग्रेसले ५ दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा कास्की २ (२) निर्वाचित बिन्दुकुमार थापा र कास्की ३ (२) बाट निर्वाचित प्रकाश बरालसहित निर्वाचित सम्पूर्णमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

Advertisement


बैठकले पार्टीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध गरिएको नाराबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ । जब कि केही कार्यकर्ताले नै केसीलाई अन्तर्घातको आरोप लगाएक थिए । कांग्रेस कास्कीको बैठकले अन्तर्घातीका प्रमाण प्राप्त भएको र कारबाही सिफारिस गर्ने भने पनि केसीको नाम आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।


बैठकले पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका सबै उम्मेदवारहरु र पालिकाका प्रत्येक वडा कार्यसमितिसग निर्वाचन अवधि भर भए गरेका गतिविधि र घटनाक्रमहरुलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेश गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठक नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको थियोे ।

तपाईको प्रतिक्रिया