महानगरले बाच्छे बुडुवामा फोहोर नफाल्ने

सञ्जय रानाभाट २०७९ मंसिर १६ गते ११:५४

सञ्जय रानाभाट, पोखरा ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकको छ । नागरिक उड्डयन प्राधिकरणले पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्षबाट विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेसँगै उडान हुनु पूर्व क्यालिबे्रेसन फ्लाइट भएको हो ।

कम्पनीले १ हप्तासम्म गरिएको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन बुझाएको छैन । कम्पनीका अनुसार यो प्रतिवेदन तीन सातामा प्राधिकरणलाई बुझाइनेछ । पुस १७ मै उडान भर्न अझै थुप्रै खुड्किला पार गर्नुपर्ने अवस्था छ ।

यसमध्येको पहिलो खुड्किलो पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटान हो । १६ मिटर काटेर क्यालिबे्रसन फ्लाइट गरे पनि अझै २४ मिटर काट्न बाँकी छ । पुस १७ अगाडि नै ४० मिटर डाँडा काटिसक्नुपर्ने भए पनि यसको ठेक्का सम्झौता वैशाखसम्म छ ।

Advertisement

कुहिने फोहोर गण्डकी ऊर्जालाई दिने प्रयास, नकुहिने फोहोर व्यवस्थापन गर्न सक्ने कम्पनीको खोजी

विमानस्थल सञ्चालनको अर्को प्रमुख समस्या पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्यान्डफिल्ड साइट हो । रिठ्ठेपानी डाँडा कटान गरेर निस्किएको माटोले नै ल्यान्डफिल साइट पुरिने हुँदा अहिलेसम्म ल्यान्डफिल्ड साइट पुर्ने काम सुरु भएको छैन ।

Advertisement

महानगरले मंसिर १८ गते आइतबारदेखि पोखरा १४ मा रहेको ल्यान्डफिल्ड साइटमा फोहोर नफाल्ने पत्र विमानस्थल प्रशासनलाई पठाइसकेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताए । उनका अनुसार महानगरले मंसिर १८ गतेदेखि बजारको फोहोरलाई अन्तै व्यवस्थापन गर्ने छ ।

प्रमुख प्रशासकीय अधिकृत भारतीले महानगरले अहिलेसम्म फोहोर फाल्ने अर्काे कुनै ठाउँको टुंगो नलगाएको बताए । महानगरले विकल्पको रुपमा १÷२ ठाउँ रोजे पनि टुंगोमा नपुगेको उनको भनाइ छ । पोखरा १४ मा जस्तो महानगरले फोहोर नफाल्ने उनले सुनाए ।

‘कुहिने फोहोर व्यवस्थापन गर्न पोखरा ३२ मा रहेको गण्डकी ऊर्जासँग सम्झौता गर्ने तयारीमा छौं । कुहिने फोहोरलाई हामीहरु सजिलै व्यवस्थापन गर्छौं । बाँकी फोहोर व्यवस्थापनमा हामी छिटै टुंगोमा पुग्छौं,’ भारतीले भने ।

विमानस्थलबाट उडान भर्न अब साढे १ महिना बाँकी रहँदा ल्यान्डफिल्ड साइटको विकल्पको टुंगो नलाग्दा झनै अन्योल बढेको छ । डाँडा कटानबाट निस्केको माटोले पोखरा १४ को ल्यान्डफिल्ड साइट पुर्ने काम सुरु भएको छैन । माटोले पुर्ने काम सुरु नहुँदा आसपासमा चराचुरुंगीहरुको आवतजावत उस्तै छ । अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा चराहरूको बाक्लो आवतजावत भइरहेकै छ ।

विमानस्थलबाट २ किलोमिटरको दुरीमा रहेको ल्यान्डफिल साइट नहट्दा जहाजमा पन्छी ठोक्किने खतरा छ । चराचुरुंगीले आउजाउ गरिहने र उनीहरुको बासस्थान सार्न समय लाग्ने विज्ञहरू बताउँछन् । चराले फूल पार्नेदेखि बच्चा हुर्काउने चक्र सक्न समय लाग्छ ।

उनीहरुकै भनाइमा यहाँबाट चराको बसाइँ सार्न ल्यान्डफिल साइट छिटो सार्नुपर्ने हुन्छ । यसरी सार्न समय लाग्छ, एकैचोटि गर्न सकिँदैन । चराचुरुंगीलाई अन्यत्र गएर घुलमिल हुन समय लाग्छ । क्यालिब्रेसन फ्लाइट भइरहँदा पनि चराचुरुंगीहरुको उडान बढी देखिएको थियो ।

‘हामीले ल्यान्डफिल साइटभन्दा पनि फोहोर मैलाको कसरी व्यवस्थापन गर्न सक्छौं भन्नेतिर ध्यान दिएका छौं । जसले रिसाइकल, ग्याँस निर्माण र पुनःप्रयोग गर्न सकोस् । यसले थोरै मात्र फोहोर निस्कन्छ । नकुहिने फोहोर व्यवस्थापन गर्न सक्ने कम्पनीको खोजीमा छौं,’ प्रशासकीय प्रमुख भारतीले भने ।

यसअघि मयेर धनराज आचार्य सहितको टोली भारत पुगेर त्यहाँको फोहोर व्यवस्थापन बारे अनुगमन गरेको थियो । मेयर आचार्य नेतृत्व टोलीले आधुनिक फोहोर व्यवस्थापन गर्न सक्ने ग्यास र मलसमेत उत्पादन हुने गरी प्लान्ट ल्याउने तयारी थालेको प्रशासकीय प्रमुख भारती बताउँछन् ।

तर, तत्काल कुनै ठाउँमा फोहोर फाल्ने र त्यहाँ के के संरचना तयार गर्ने भन्नेतिर महानगर अझै अनिर्णीत छ । तयारीमा पनि जुटेको देखिन्न । त्यसअघि मेयर मानबहादुर जिसी नेतृत्वको ५२ औं कार्यपालिका बैठकले पोखरा २० मा रहेको पस्मराङमा ल्यान्डफिल साइट सार्ने निर्णय गरेको थियो । स्थानीयको विरोध पनि त्यो निर्णय कार्यान्वयन भएन ।

यसपछि मेयर आचार्य नेतृत्वले कार्यपालिका बैठकबाटै पोखरा ३३ मा ल्यान्डफिल साइट स्थानान्तरण गर्ने गरे पनि त्यहाँ पनि स्थानीयहरुले विरोध छ । अहिले महानगरले अर्काे ठाउँ पनि हेरेको छ । त्यसबारे सार्वजनिक नभए पनि सुइँको पाएकाहरुले विरोध थालिसकेका छन् ।

कुहिने वस्तुबाट ग्यास निकालेर प्लास्टिक जन्य वस्तुको रिसाइकलिङ गर्ने प्लान्टसहितको मेसिन सञ्चालन गर्न अझै ६ महिना लाग्ने प्रमुख प्रशासकीय अधिकृत भारती बताउँछन् । उनले यसका लागि पनि अरु कुनै कम्पनीसँग सम्झौतामा जाने सुनाए । यसका लागि महानगरले खाका तयार गरेको स्रोत बताउँछ ।

विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टिबाट मात्रै उडान र अवतरण गर्नेछ । यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको हो ।

चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा विमानस्थल बनेको हो । गत चैत १२ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनबाट नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ । चीन सरकारका विदेश मन्त्री वाङ यीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर हस्तान्तरण गरेका थिए । भर्चुअल माध्यमबाटै चीनका विदेश मन्त्री यीले चाबी हस्तान्तरण गरे पनि पोखरामा तामझामका साथ कार्यक्रम भएको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया