कास्कीमा हजारौं मत बदर

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ मत बदर संख्या ३१ हजार ५ सय ८१ छ

रिखिराम जिसी २०७९ मंसिर १६ गते १२:०७

पोखरा ।
निर्वाचन आयोगले मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मतको संख्या १ प्रतिशतमा झार्ने दाबी गर्दै आएको थियो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकार सम्मलेन गर्दै भनेका थिए, ‘हाम्रो प्रयास शतप्रतिशत सदर हो ।

९९ प्रतिशत सदर नै हुन्छ । बढीमा १ प्रतिशत बदर हुन सक्ने हाम्रो अनुमान छ,’ यसमा मतदाता जागरुक भएको, वडासम्मै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको, मतपत्र ठूलो र स्पष्ट भएकाले बदर मत घट्नेछ ।’

निर्वाचन आयोगको लक्ष्य अनुसार बदर मतको संख्या घट्नुपर्ने देशका अधिकांश क्षेत्रमा बढेको देखिएको छ । कास्कीमा पनि त्यसको प्रभाव देखियो । कास्कीमा यस पटकको निर्वाचनमा अघिल्लो निर्वाचनभन्दा बढी मत बदर भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ मत बदर संख्या ३१ हजार ५ सय ८१ छ । जुन खसेको कुल मतको करिब साढे ४ प्रतिशत हो । २०७४ सालमा भएका प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा भएको बदर मतभन्दा दोब्बर हो । सो निर्वाचनमा कास्कीमा २.४३ प्रतिशत मत बदर भएको थियो ।

कास्कीमा बदर मतको स्थिति

  • निर्वाचन खसेको मत बदर मत
  • २०४८ १ लाख २९ हजार १ सय ८७ ३ हजार ५ सय ८७
  • २०५१ १ लाख ३१ हजार ५ सय ८२ २ हजार ५ सय ४०
  • २०५६ १ लाख ४८ हजार २ सय ३५ २ हजार ९ सय ६८
  • २०६४ १ लाख ७७ हजार ३ सय ८७ ५ हजार ३ सय ९६
  • २०७० १ लाख ५२ हजार २ सय ४२ ५ हजार १ सय ७६
  • २०७४ १ लाख ८० हजार ८ सय ४६ ५ हजार २ सय १५
  • २०७९ १ लाख ७८ हजार ८ सय ६ ८ हजार ४ सय ६२

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ कास्कीका ३ क्षेत्रमा ८ हजार ४ सय ६२ मत बदर भएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ ६ हजार ७ सय ३८ मत बदर भएको तथ्यांकले देखाएको छ । कास्कीका प्रदेश सभाका ६ वटै क्षेत्रमा प्रत्यक्षतर्फ ६ हजार २० र समानुपातिकतर्फ १० हजार ३ सय ६१ मत बदर भएको छ ।

आयोगले २०६४ देखि मतदाता शिक्षाको घरदैलो कार्यक्रम सुरु गरेको हो । हरेक निर्वाचन जसो नै मतदाता शिक्षाका लागि राज्यको लाखौं लगानी भएको हुन्छ । यसपालि पनि स्थानीय तहमार्फत मतदाता शिक्षा कार्यक्रम गरिएको थियो । तर, त्यो प्रभावकारी हुन सकेको छैन ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढेको आयोगका पूर्वसचिव शारदाप्रसाद त्रिताल बताउँछन् । ‘मतदाता शिक्षा अभावले बढी मत बदर भइरहेको छ । आयोगले मतदाता शिक्षा त सञ्चालन गर्छ । तर, त्यो सञ्चालन गर्ने व्यक्ति/समूहले राम्रोसँग काम गरिदिँदैनन्,’ पूर्वसचिव त्रितालले भने ।

आधुनिक प्रविधिको प्रयोग गर्न हिच्किचाहटका कारण धेरै मत बदर भएको पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन् । विद्युतीय मतदान उपकरणको प्रयोगमा हिचकिचाहटदेखि मतपत्रको डिजाइन, रङ र मतदाता शिक्षाको अभावलगायत कारणले धेरै मत बदर भइरहेको उनको भनाइ छ ।

‘छाप लगाउने प्रक्रिया, मतपत्रको रङ, मसीको रङ, स्वस्तिक छापको रबरका कारण मत बदर हुन्छ,’ उनले भने, ‘कहिलेकाहीँ मतदान अधिकृत आत्तिएर वा भुलेर मतपत्रमा हस्ताक्षर गर्न बिर्सने गर्दा पनि मतपत्र बदर हुने गरेको छ ।’

हरेक निर्वाचनमा ठूलो संख्यामा मत बदर भइरहे पनि राजनीतिक दलले गम्भीरतापूर्वक लिएको पाइँदैन । भोट माग्न, प्रचारप्रसार गर्न गाउँ गाउँ पुगे पनि राजनीतिक दलले मतदातालाई मत कसरी हाल्ने भन्नेबारे जानकारी गराएको पाइँदैन ।

निर्वाचनमा सधैजसो नै हुने बदर मतले यसपालि पनि निरन्तरता पायो । बदर मतको विषयमा निर्वाचन आयोगले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । आयोगले यस विषयमा समीक्षा गरिनसकेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले बताए । ‘सबै तथ्यांक आइसकेको छैन, देशभरिको निकाल्नुपर्छ आयोगले ।

यसलाई थप समीक्षा गरेर आयोगले निष्कर्ष निकाल्छ,’ प्रमुख पराजुलीले भने ।
राजनीतिक दलले मतदाता शिक्षामा चासो नदिएको कार्यालय प्रमुख पराजुलीले बताए । ‘राजनीतिक दलको तर्फबाट भोट माग्दा भोट दिनचाहिँ भनियो तर कसरी भोट हाल्नेचाहिँ भनिएन,’ उनले भने, ‘राजनीतिक दलबाट अलिकति कम सचेतना भएको अनुभव मलाई भयो ।’

मतपत्र धेरै हुँदा झुक्किएर मतपत्र बदर भएको हुनसक्ने कार्यालय प्रमुख पराजुलीले उल्लेख गरे । ‘अघिल्लो निर्वाचनमा ३ वटा मतपत्र थियो, अहिले ४ वटा मतपत्र हुँदा मत हाल्दा झुक्किएको पनि हुन सक्छ, मतपत्र धेरै भएका कारणले झुक्किएको भन्ने पनि अनुमान लाग्छ,’ उनले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया