आजदेखि व्यापार मेला

समाधान संवाददाता २०७९ मंसिर १६ गते १२:१०

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि सुरु हुँदैछ । राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताएका छन् ।

मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा स्टल गरी करिब २ सय ५० स्टल हुनेछन् । विशेष उत्पादनका लागि केही स्टल रिजर्भ राखिएको छ ।
मेलाका आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामानको बिक्री वितरण रहेको प्रजापतिले जानकारी दिए ।

मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको अध्यक्ष प्रजापतिले जारी गरेको विज्ञप्तिमा छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा गण्डकी सरकार, पोखरा महानगरपालिका एवं नेपाल पर्यटन बोर्ड, पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्स मुख्य प्रायोजक छ ।

Advertisement

मेला प्रवेश गर्न टिकट शुल्क १ सय र विद्यार्थीका लागि ६० रुपैयाँ लाग्नेछ । अवलोकनकर्ताले क्युआर कोडमार्फत् पनि टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा छुटको व्यवस्था मिलाइएको छ ।

मेलाको प्रवेश टिकटमा दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । मेलाबाट अनुमानित १ करोड आम्दानी, ८५ लाख खर्च र करिब १५ लाख बचत हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीको क्षमता अभिवृद्धिका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया