सडक महोत्सवका लागि २४ उपसमिति

पोखरा ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षमा गर्दै आएको सडक महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विशेष साधारण सभामार्फत सुझाव संकलनसहित विभिन्न उपसमिति गठन गरेको छ ।
२४ औं संस्करणसम्म आईपुग्दा महोत्सवलाई कसरी थप प्रभावकारी र फरक बनाउनसकिन्छ भन्ने विषयमा विशेष साधारण सभा केन्द्रित भएको रेवानका अध्यक्ष नरेश भट्टराइले बताए । उनले भने, ‘सडक महोत्सव पोखराको पर्यटन क्षेत्रको एउटा ब्रान्ड बनेको महोत्सव हो, २४ औं सडक महोत्सवको तयारी गरिरहँदा यसलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर पहिलो चरणमा रेवानका सदस्यहरुबाट सुझाव संकलन गरेर उपसमितिहरु बनाएका छौं ।’
उनले पहिलो चरणमा रेवानका सदस्यहरुबाट सुझाव लिएको र दोस्रो तेस्रो चरणमा पर्यटन विद् लगायत पर्यटन सम्बद्ध संघ, संस्था, जनप्रतिनिधि, आमा समूह, युवा क्लब, टोल विकास संस्थासँग छलफल गरेर सुझाव लिइने सुनाए ।
बदलिँदो समय अनुसार महोत्सवमा नवीनतम सोच र त्यही अनुसारका गतिविधि समावेश गर्नका लागि विभिन्न २४ उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँडसमेत गरेको रेवानका प्रथम उपाध्यक्ष विश्वराज पौडेलले बताए ।
सो अवसरमा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले महोत्सव कुनै एक संस्थाको मात्र नभई पोखराको पर्यटन क्षेत्रको प्रवद्र्धन र व्यवसायिक हितका लागि भएकाले सबैले अपनत्व लिएर महोत्सवमा सम्पन्न गर्न सहयोग गर्नुपर्ने धारणा राखे ।
उनले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सडक महोत्सव परेकाले पर्यटकमैत्री वातावरणमा महोत्सव सम्पन्न गर्न र सोही अनुसारमा गृह कार्य जुटन पनि रेवानका सदस्यलाई आग्रह गरे ।
रेवानले हरेक वर्ष पुस १३ बाट १७ गतेसम्म ५ दिन सडकमै खाँउ सडमै रमाउँ भन्ने नाराका साथ खाना संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यसहित यो महोत्सव गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया